बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रुसले युक्रेनका दुई पूर्वी इलाकालाई हडप्ने योजना बनाइरहेको अमेरिकाको दाबी

मङ्गलबार, २० वैशाख २०७९, १३ : ३९
मङ्गलबार, २० वैशाख २०७९

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको सरकारलाई किभबाट सत्ताच्यूत गर्ने कोसिस असफल भएपछि रुसले पूर्वी युक्रेनका दुई इलाकालाई छिट्टै हडप्ने योजनामाथि काम गरिरहेको अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीले सोमबार बताए ।

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड को–अपरेशन इन युरोपमा अमेरिकाका राजदूत माइकल कारपेन्टरले भने, ‘पछिल्लो रिपोर्टका अनुसार रुस डोनेट्स्क पिपल्स रिपब्लिक र लुगान्स्क पिपल्स रिपब्लिकलाई आफूमा सम्मिलित गराउने कोसिस गर्ने हाम्रो मान्यता छ । रिपोर्टले रुसको योजना १५ मे आसपास जनमत संग्रह गर्नु हो ।’

माइकल कारपेन्टरका अनुसार रुस यस्तै योजना युक्रेनको तेस्रो क्षेत्र खेरसोनका लागि पनि बनाइरहेको छ भन्ने अमेरिकाको विश्वास छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुसले हालैका दिनहरूमा खेरसोनमा आफ्नो पकड बलियो बनाएको छ र त्यहाँका मानिसहरूलाई रुबल मुद्रा अपनाउन बाध्य पारेको छ ।

माइकल कारपेन्टरले भने, ‘हामीलाई विश्वास छ कि यी रिपोर्टहरू अत्यन्तै भरपर्दा छन् । भोलिको समयमा के हुँदै छ, दुर्भाग्यवश, यसको आँकलनमा हामी गलतभन्दा बढी सही साबित भइरहेका छौँ ।’

सन् २०१४ मा, रूसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई विलय गर्ने घोषणा गर्यो । तर वरपरका रुसी भाषा बोल्ने क्षेत्रमा त्यसो गरेन । यस हमलामा रुसले सोही जनताको मुद्दा उठाइरहेको छ ।

माइकल कारपेन्टरले भने, ‘यस्ता जनमत संग्रह र फर्जी भोटलाई वैध मानिने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप