सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले किन गरेन उम्मेदवारको नामावली प्रकाशन ?

आयोग भन्छ–विद्युत र इन्टरनेटले साथ दिएन
मङ्गलबार, २० वैशाख २०७९, ११ : ४८
मङ्गलबार, २० वैशाख २०७९

स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि आयोगले एकीकृत रुपमा नामावली प्रकाशन गर्न नसकेको हो । 

आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिसकेको छ । तर देशैभरबाट हेर्न मिल्ने गरी निर्वाचन आयोगको वेभसाइटमा भने अझै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छैन । यतिमात्रै नभइ उम्मेवारको संख्या, फिर्ता लिनेको विवरणलगायत समेत एकिनका साथ खुलाइएको छैन । 

आयोगले किन समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न सकेन भन्ने रातोपाटीको प्रश्नमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको बताए । शर्माका अनुसार जिल्ला जिल्लाबाट अन्तिम नामावली आउन समस्या परेको कारण समयमै उम्मेदवारहरुको नामावली प्रकाशन हुन नसकेको हो । 

प्रवक्ता पौडेलले भने, ‘हामी अहिले पनि उम्मेदवारहरुको नाम, राजनीतिक दल, पद, लिङ्ग आदि खुलाएर वेभसाइटमा प्रकाशन गर्ने तयारीमै छौँ । अहिले पनि हामीले ती विवरणहरु अपलोड गर्ने काम गरिरहेका छौंँ । तर कतिपय जिल्लामा विद्युतु्को अवरोध र कर्णाली प्रदेशका केही जिल्लामा इन्टरनेटमा समस्या देखिएको कारण तथ्यांक अपलोड हुन नसकेको हो ।’

प्रवक्ता पौडेलका अनुसार तराईका कतिपय जिल्लामा हावाहुरीका कारण विद्युत लाइनमा समस्या परेको छ । विद्युत अवरोधका कारण ती जिल्ला र स्थानीय तहबाट उम्मेदवारहरुको नामावली प्राप्त हुन सकेको छैन । त्यसैगरी कर्णाली प्रदेशका धेरै जिल्लाहरुमा इन्टरनेटमा समस्या देखिएको छ । जसका कारण मतदान निर्वाचन अधिकृतको कार्यालयले ती तथ्यांक आयोगको डाटा सेन्टरमा पठाउन सकिरहेका छैनन् । जसका कारण ती विवरणहरु अद्यावधिक हुन समस्या भएको हो ।

मंगलबार साँझसम्म अपलोड गर्ने तयारीमा आयोग

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सम्भव भएसम्म विद्युतीय माध्यमबाट डाटा सेन्टरमै डाटा पठाउन लगाएर मंगलबार साँझसम्ममा सबै स्थानीय तहका उम्मेदवाहरुको अन्तिम नामावली र राजनीतिक दल तथा पद पनि उल्लेख हुने गरी नामावली प्रकाशन गर्ने तयारी गरिएको छ ।

 यदि निर्वाचन अधिकृतको कार्यालयबाट विद्युतीय माध्यमबाट अन्तिम नामावली प्राप्त हुन नसकेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा फोन सम्पर्क गरेरसमेत अन्तिम नामावली लिई प्रकाशन गर्ने तयारी गरिएको छ । आयोगका अनुसार मंगलबार साँझ वा ढिलोमा बुधबारसम्म सबै स्थानीय तहका उम्मेदवारहरुको नाम, उम्मेदवारी दिएको पद, सम्बद्ध राजनीतिक दल र लिङ्ग  खुल्ने गरी आयोगकै वेभसाइटमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप