आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

सोमबार, १९ वैशाख २०७९, २१ : ३१
सोमबार, १९ वैशाख २०७९

सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सोमबारको बैठकमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सुरक्षाबारे हालसम्म भएका कामको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

निर्वाचनको प्रचार प्रसारमा हुने सम्भावित घटनाबारे सुरक्षा समितिमा छलफल गरिएको छ । बैठकमा गृहमन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भएका काम प्रशंसायोग्य रहेको बताउँदै शान्तिपूर्ण निर्वाचन गराउन कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

‘सरकारको मुख्य ध्येय शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,’ गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म तपाईहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंसायोग्य छ । अब पनि त्यो भन्दा अझ राम्रो सुरक्षा प्रबन्धमा मिलाउनुहोला ।’

निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडपहरू पनि हुनसक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउँनासाथ सुरक्षा निकायले समन्वय गरेर अगाडि बढ्न गृहमन्त्रीले निर्देश गरेका छन् । बैठकमा सोमबारमात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो ।

गृहमन्त्री खाणको अध्यक्षतामा भएको सुरक्षा समिति बैठकमा गृहसचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुंगेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप