मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : घोषणापत्रमा जनतालाई छैन विश्वास, महानगरहरुमा कस्तो छ चुनावी माहोल ?

विश्वराजको अन्तिम अस्त्र : परमादेश माग गर्दै रिट निवेदन दर्ता
सोमबार, १९ वैशाख २०७९, २१ : १९
सोमबार, १९ वैशाख २०७९

आज २०७९ वैशाख १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा एआईजीमै थन्किएका विश्वराजको अन्तिम अस्त्र : परमादेश माग गर्दै रिट निवेदन दर्ता, स्थानीय निर्वाचन : १७० पद खाली रहने, महानगरहरुमा कस्तो छ चुनावी माहोल ?, चुनावी घोषणापत्र र आश्वासनमा जनतालाई छैन विश्वास, जाजरकोटमा काँग्रेस–माओवादी मिल्दा एकीकृत समाजवादी ‘आउट’, प्रशिक्षणबाट बाहिरिएका खेलाडी भन्छन्– आधारभूत माग राख्दा क्याम्प छाड्न भनियो लगायत छन् ।

१. एआईजीमै थन्किएका विश्वराजको अन्तिम अस्त्र : परमादेश माग गर्दै रिट निवेदन दर्ता

सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै एआईजीमै थन्किएका विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले आफूलाई महानिरीक्षक नियुक्त गर्न परमादेशको मागसहित रिट निवेदन दर्ता गराएका हुन् । यता, नवनियुक्त महानिरीक्षक सिंहले सोमबार दर्ज्यानी चिह्न पाएर पदबहाली गरिसकेका छन् । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले पनि सोमबारै दर्ज्यानी चिह्न पाएर पद बहाली गरे ।

२. स्थानीय निर्वाचन : १७० पद खाली रहने
आसन्न स्थानीय तहको निर्वाचनबाट पााच वर्षका लागि जनप्रतिनिधि चुनिँदै छन् । तर विभिन्न स्थानीय तहका १७० सिट भने यो निर्वाचनबाट पूर्ति नहुने भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न स्थानीय तहमा गरी १७० पदमा उम्मेदवार मनोनयन पत्र नै दर्ता भएको छैन ।

३. महानगरहरुमा कस्तो छ चुनावी माहोल ?
स्थानीय तहको निर्वाचनले देशभर राजनीतिक गतिविधि चलायमान बनाएको छ । दलहरु, उम्मेदवारहरुले सक्रियता बढाएका छन् । यस क्रममा सर्वाधिक चासो भने महानगरहरुमा बढेको छ । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच महानगरहरुमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सोही अनुरुप चुनाव प्रचार अभियान, घरदैलो लगायतका गतिविधि पनि दलहरुले बढाएका छन् ।

४. चुनावी घोषणापत्र र आश्वासनमा जनतालाई छैन विश्वास
राजनीतिक दलहरु स्थानीय तह निर्वाचनमा केन्द्रित छन् । विभिन्न दलले चुनावी घोषणापत्र बनाएका छन् भने उम्मेदवारहरुले पनि विभिन्न प्रतिवद्धताका साथ मत माग्न थालेका छन् । तर, मतदातामा भने त्यस्ता घोषणापत्र र प्रतिबद्धताले खासै विश्वास जगाउन सकेको छैन ।

५. जाजरकोटमा काँग्रेस–माओवादी मिल्दा एकीकृत समाजवादी ‘आउट’
सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि विभिन्न स्थानीय तहमा भागबण्डाका विषयमा सहमति नजुट्दा दलहरु दुई पक्षीय तालमेलमा जुटेका छन् । सोही अनुसार जाजरकोटमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल हुँदा नेकपा एकीकृत समाजवादी भने ‘आउट’ भएको छ ।

६. प्रशिक्षणबाट बाहिरिएका खेलाडी भन्छन्– आधारभूत माग राख्दा क्याम्प छाड्न भनियो
बन्द प्रशिक्षणबाट बाहिरिएका नेपाली फुटबल खेलाडीले आधारभूत माग राख्दा आफूहरुलाई क्याम्प छाड्न निर्देशन दिइएको भन्दै समग्र घटनाक्रमको छानबिन गर्न माग गरेका छन् । उनीहरुले एन्फालाई यसबारे लिखित जानकारी गराउँदै छानबिनको माग गरेका हुन् ।

७. दुई दलीय तानाशाहीविरुद्ध नेमकिपाको उम्मेदवारी
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो पार्टीले दुई दलीय तानाशाहीविरुद्ध उम्मेदवारी दिएको जनाएका छन् । उनले पैसा कमाउने हो भने राजनीतिमा नलाग्न पनि सुझाव दिएका छन् ।

८. लोडसेडिङ हुनु दुर्भाग्य : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले अहिले लोडसेडिङ हुनु दुर्भाग्य भएको बताउँदै पछिल्लो समय विद्युतमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास दिलाएका छन् । अहिले देखिएको विद्युत संकट टार्न सरकार प्रयासरत रहेको उनले बताए ।

९. र यो पनि,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।  मन्त्रालयले सो अवधिका लागि प्रारम्भिक ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ । 

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरूले काठमाडौँ उपत्यकामा विभिन्न पेसा व्यवसाय गरेर बसेका मतदाताहरूको तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । निर्वाचन आउन जम्मा ११ दिनमात्रै बाँकी भएकाले आ–आफ्नो दलका सम्पर्क समितिले मतदाताको खोजी गरेर काठमाडौँ उपत्यका बाहिर लैजाने तयारी थालेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप