आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रगतिको लागि महिलाले महिलाको खुट्टा होइन, हात तानौँ’

महिला उम्मेदवारको आवाज : एक भएमा कसैले पनि हराउन सक्दैन
सोमबार, १९ वैशाख २०७९, १८ : ३२
सोमबार, १९ वैशाख २०७९

महिलाको प्रगतिका लागि एकापसमा खुट्टा तान्ने प्रवृत्ति त्यागेर  साथ दिने बानी बसाल्नुपर्नेमा सरोकारवालाले जोेड दिएका छन् । महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ‘महिला जिताऔं अभियान’ ले गरेको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

काँग्रेसबाट टोखा नगरपालिका मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाको प्रगतिको लागि महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तान्नुपर्ने बताइन् । कार्यक्रममा थापाले भनिन्, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामीमाथि आरोप छ । सासू, बुहारी, नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन । यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभइ भिजन र एजेण्डा हेरेर मत दिन सक्ने विश्वासको वातावरण तयार गर्न सक्ने हुनुपर्ने उनको जिकिर छ ।

देशभरका महिला एकै ठाउँमा उभिएर एकै स्वरमा महिलाको आवाज वुलन्द गर्ने हो भने महिला र पुरुषबीचको समानता धेरै टाढा नभएको उनको भनाइ छ ।  त्यसपछिका दिनमा महिलालाई आरक्षणको आवश्यकता नपर्ने बताउँदै उनले टोखा नगरपालिकाको महिला अधिकारको हकमा अभियान नै चलाएर बेथितिको विषयमा सचेत गर्ने र महिला उद्यमशीलतालाई प्राथमितामा राखेको थापाले जनाइन् ।

त्यस्तै, उक्त कार्यक्रममा काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले महिलाहरुले जुनसुकै समय र स्थानमा आफूलाई सुरक्षित महसुस गर्नसक्ने वातावरण बनाउने धारणा राखिन् । ‘जागिरे महिलाहरुलाई बालबच्चा हेर्दिने ठाउँको अभावले जागिर छोड्नुपर्ने बाध्यता छ । त्यसको लागि बच्चाहरुको स्याहार केन्द्र खोल्ने छु, उनले भनिन् ।

नेपाली काँग्रेस पार्टीले महिलालाई विश्वास गरेर आफूलाई प्रमुखमा उम्मेदवार बनाएकाले यो विश्वासलाई डग्मगाउन नदिने प्रतिबद्वता ब्यक्त गरिन् । उनले भनिन्, ‘महिलाहरुको मुद्दामा यो पार्टी र त्यो पार्टी भनेर बस्ने छैन । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय, व्यापारिक केन्द्र बनाउने, स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्नेछु ।’ महिलाहरुको आवाज एक भएमा कसैले पनि हराउन नसक्ने उनको भनाइ थियो ।

त्यसैगरी, विवेकशील साझा पार्टी काठमाडौंबाट मेयरकी उम्मेदवार समिक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएको गुनासो पोखिन् । उनले ब्यङ्ग्य गर्दै भनिन्, ‘लामो समय कुनै सामानले काम गरेन भने त्यसलाई बनाइराख्ने होइन । बनाइराख्दा पैसा र समय दुवै खर्च हुन्छ । त्यसैले नयाँ परिवर्तन गर्नुपर्छ ।’

सत्तारुढ दलहरुको गठबन्धनले महिलाको ३३ प्रतिशत सहभागिताको कानुनी प्रावधानलाई किनारा लगाएको उनले आरोप लगाइन् । राजनीतिक दलहरुको सिण्डिकेट तोड्नका लागि विकल्पमा विवेकशील साझा अघि आएको उनको भनाइ छ । दिनरात सडकमा आन्दोलन गरेर सुरक्षित गरिएको आरक्षणलाई ५० प्रतिशत भन्दा माथि हुनुपर्ने प्रावधान राख्ने काम गर्ने प्रतिबद्वता बाँस्कोटाले ब्यक्त गरिन् ।

काठमाडौंमा धेरै ठुला सपना देखाउन आवश्यक नभएको भन्दै बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्युनीकरण, ढलको समस्या समाधान, सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु पार्टीको उद्देश्य रहेको बताइन् । उनले महिला जिताउ कार्यक्रम एक विद्रोह भएको धारणा राखिन् ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउन आवश्यक रहेको बताइन् । राजनीतिक पहुँचमा जति धेरै महिला, उति नै छिटो समानता हुने धारणा व्यक्त गर्दै उनले अगाडि भनिन्, ‘महिलाको समस्या र पीडा महिलाले नै बढी बुझ्छन् । तरकारीको बजार भाउ महिलालाई मात्रै थाहा हुन्छ । व्यवस्थित रुपमा घर चलाउन सक्ने महिलाले देशको नेतृत्व पनि उत्तिकै कुशलतापूर्वक गर्न सक्छन् ।’

नेतृत्व तहमा महिला भएमा महिलाका धेरै भन्दा धेरै समस्याका समाधान गर्न छिटो र छरितो हुन्छ, मगैयाँले थपिन् । महिलाको सुरक्षाको लागि नगरप्रहरी खटाउनु पर्ने, संस्कृति, उद्यम र खेलकुदमा महिलाको सहभागिता बढाउन सकेमा सामाजिक विकास हुन सक्ने खाका उनले प्रस्तुत गरिन् ।

काठमाडौं महानगरकी एमाले उपमेयर उम्मेदवार सुनिता डंगोलले अग्रजहरुको आर्शीवाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताइन् । नयाँलाई प्रोत्साहन गर्दै मत दिनुपर्ने र अनुभवीलाई पनि मत दिएर जिताउनु पर्ने उनको अभिमत थियो ।

त्यस्तै कार्यक्रममा विवेकशील साझाकी काठमाडौं उपमेयरकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र ललितपुर महानगर उपमेयर उम्मेद्ववार स्वर्णिम शाक्य लगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप