बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

१६ औं धर्मश्रीको काठमाडौं महानगरपालिकाले प्रायोजन गर्ने

सोमबार, १९ वैशाख २०७९, १८ : १४
सोमबार, १९ वैशाख २०७९

नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ ।  सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो ।

यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यही वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले जानकारी दिएका छ । १६ औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् । खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फ यो नै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिता हो । यसअघिको संस्करणमा विजेताको पुरस्कार राशि ५ लाख रहेको थियो ।

२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । शारीरिक सुगठनको पुरानो प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ विद्यालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स विद्यालाई थप गरिएको छ । प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’  २३ र फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक विद्यामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको बीचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिने छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप