सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा एकीकृत समाजवादी आक्रोशित : काँग्रेस–माओवादीले बेइमानी गरेको आरोप

सोमबार, १९ वैशाख २०७९, १८ : १३
सोमबार, १९ वैशाख २०७९

जाजरकोटमा गठबन्धनबाट बाहिर पारिएपछि नेकपा एकीकृत समाजवादी आक्रोशित बनेको छ । सो पार्टीले काँग्रेस–माओवादीले गठबन्धनभित्र बेइमानी गरेको आरोप लगाएको छ ।  प्रदेश र केन्द्रीय गठबन्धनको संयन्त्रले भेरी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । तर उम्मेदवारी दर्ता गर्ने दिन (वैशाख १२) मा तीन वटै दलहरुले उम्मेदवारी दर्ता गराए । गठबन्धनको निर्णय अनुसार समाजवादीका कमान बहादुर खड्का मेयर पदका साझा उम्मेदवार हुन् भने उपप्रमुखमा काँग्रेसलाई दिने थियो ।

‘तर  गठबन्धनको जिल्ला संयन्त्रले उम्मेदवारी फिर्ता गर्ने दिन (१६ वैशाख) सम्म फिर्ता गर्ने भन्यो ,’ खड्काले रातोपाटीसँग भने,‘ अन्तिम उनीहरुले बेइमानी गरे ।’ आइतबार साँझ सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा समाजवादीलाई उपस्थित गराइएन । काँग्रेस–माओवादीका नेताहरुको सहभागितामा बसेको बैठकले भेरी नगरपालिकामा दुई दलका साझा उम्मेदवारको रुपमा माओवादीका गगनबहादुर खड्का र उपप्रमुखमा काँग्रेसकी सीता जैशी अधिकारीलाई आधिकारीक उम्मेदवार बनाएको काँग्रेसका जिल्ला सभापछि वेदराज सिंहले जानकारी दिए ।

 यहाँ यसअघि काँग्रेसबाट मेयरका उम्मेदवार बनेका कृष्ण शर्माको उम्मेदवारी रद्द गरिएको छ । एकीकृत समाजवादीका जाजरकोटका अध्यक्ष समेत रहेका खड्काले भने,‘ अब हामीले एक्लै चुनाव लड्नुपर्ने बाहेक विकल्प छैन । ‘हामीले समाजवादीबाट भेरीको उपप्रमुखमा सरस्वती चन्दलाई उठाएका छौं । जाजरकोटमा एसलाई  एउटा प्रमुख र दुईवटा उपप्रमुखको भाग थियो । झण्डै एक महिनाको समय मलाई विभिन्न बैठकहरुमा अलमल्याउने खालको काँग्रेस–माओवादीले गरे,’ उनले भने । उनले थपे,‘ एउटा विज्ञप्ति निकालेर जानुपर्छ । तपाइँनै उम्मेदवार हुनुभयो भनेर पनि भने । तर आइतबार साँझ काँग्रेस माओवादीको बैठक बस्यो र उनीहरुले बैठकमा मलाई सहभागि गराएनन् । अब हामी पनि आजदेखि चुनावी अभियानमा जुटिसकेका छौं।’

 खड्काले भेरी नगरपालिकामा काँग्रेस–माओवादीलाई पराजित गरिछाड्ने दाबी समेत गरेका छन् । काँग्रेस सभापति सिंहका अनुसार आइतबार भेरी सहित नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको छ । नलगाड नगरपालिकामा माओवादी केन्द्रको मेयर र नेपाली काँग्रेसको उपमेयर र शिवालय गाउँपालिकामा नेपाली काँग्रेको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष बनाएको छ ।

 अब नलगाडको मेयरका लागि माओवादीका डम्बर रावत र उपमेयरका लागि काँग्रेसका सरिता सिंह आधिकारिक उम्मेदवार भएका छन् भने काँग्रेसबाट मेयरका उम्मेदवार छवि पन्तको उम्मेदवारी प्राविधिक रुपमा फिर्ता नभएतापनि राजनीतिक रुपमा फिर्ता गरि पार्टीको तर्फबाट रद्द गरिएको सिंहले बताए । यसभन्दा पहिले भएको सत्तागठबन्धनको निर्णयले बारेकोट गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष, जुनीचाँदे गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र नेपाली काँग्रेस उपाध्यक्ष, छेडागाड नगरपालिकामा नेपाली काँग्रेस मेयर र नेकपा माओवादी केन्द्र उपमेयरमा भागवण्डा मिलाइएको छ ।

कुशे गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएको छ । कुशेमा माओवादी समाजवादीको तर्फबाट अध्यक्षका साझा उम्मेदवार समाजवादीका  तप्त हमाल र माओवादीबाट विकास रोकायालाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । काँग्रेस–माओवादीले सानो दल भनेर समाजवादीलाई कतै व्यवस्थापन गर्न नचाहेको समाजवादीको ठहर छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप