आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट जिल्ला–जिल्लामा मतदाता लैजान दलहरूको आ–आफ्नै तयारी

सोमबार, १९ वैशाख २०७९, १८ : ०७
सोमबार, १९ वैशाख २०७९

स्थानीय तह निर्वाचन नजिकएसँगै दलहरूले काठमाडौँ उपत्यकामा विभिन्न पेसा व्यवसाय गरेर बसेका मतदाताहरूको तथ्याङ्क सङ्कलन गर्न थालेका छन्। निर्वाचन आउन जम्मा ११ दिन मात्रै बाँकी भएकाले आ–आफ्नो दलका सम्पर्क समितिले मतदाताको खोजी गरेर काठमाडौँ उपत्यका बाहिर लैजाने तयारी थालेका हुन् ।

हरेक निर्वाचनमा दलहरूले काठमाडौँसहित देशका विभिन्न भागमा बसेका आ–आफ्ना पार्टीका मतदाता खोजेर जिल्ला पुर्याउने गरेका छन्। वैशाख ३० गते निर्वाचन नजिकिन थालेपछि सबै पार्टीका जिल्ला सम्पर्क समितिलाई सक्रिय बनाएर खोजी गर्न थालेका हुन् । अधिकांश दलका सम्पर्क समितिले फोन, सम्पर्क र फेसबुक ग्रुप बनाएर आ–आफ्ना पार्टीका मतदाता खोजी जारी राखेका हुन्। 

सम्पर्क समितिले मतदाता आ–आफ्नो स्थानीय तहमा पठाउने विषयमा यसअघिका निर्वाचनमा जस्तै गृहकार्य थालेको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। ‘हामीले सबै जिल्लाको सम्पर्क समिति बनाएका छौँ । त्यहाँ पार्टीका जिम्मेवार कमरेडहरु हुनुहुन्छ। उहाँहरूले पार्टीका मतदाताको खोजी गरेर सम्पर्कमा राख्नु भएको छ,’ रिजनलले भने, ‘पार्टीका मतदातालाई वैशाख २८ गतेभित्र आ–आफ्नो स्थानीय तहमा पुर्याइसक्न भनेका छौ।’ काठमाडौँका मतदातालाई जिल्लामा पुर्याउने सम्पर्क समितिले गाडी र खानेको व्यवस्था आफै गर्ने रिजनलले बताए। मतदान गर्न निर्वाचन आयोगले एक दिन बिदा समेत दिएकाले अरू बिदा मिलाएर मतदाता आ–आफ्नो स्थानीय तहमा पुग्ने रिजालको दाबी छ ।

यस्तै नेपाली काँग्रेसले पनि पार्टीका मतदाता जिल्लामा लैजान गृहकार्य थालेको छ। उपत्यकाबाट हरेक चुनावमा ठुलो सङ्ख्यामा मतदाता गाउँ जाने भएकाले यो स्थानीय निर्वाचनमा पनि मतदाता जिल्ला लगिने काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए। ‘काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका मतदाता धेरै छन्। कुनै जिल्लाका धेरै छन् कुनै जिल्लामा कम छन्। जिल्लाको जनसङ्ख्याका आधारमा धेरै थोरै मतदाता काठमाडौँमा छन्’ विश्वकर्माले भने,‘ती सबै मतदाता सम्पर्क समितिले तथ्याङ्क सङ्कलन जारी राखेको छ। ती सबैलाई निर्वाचन हुनु अघि नै सम्बन्धित जिल्लामा पुर्याउँछौ।’ काठमाडौँमा जिल्लाका औषतमा २ हजारदेखि ५ हजारसम्म मतदाता बसोबास रहेको विश्वकर्माको दाबी छ।

माओवादी केन्द्रले पनि काठमाडौँमा बसोबास गर्ने मतदाता उपत्यका बाहिर लिन धमाधम काम गरिरहेको छ। पार्टीका सम्पूर्ण सम्पर्क समितिले मतदाता आ–आफ्नो जिल्लामा लैजान गृहकार्य जारी राखेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए। ‘काठमाडौँमा बसोबास गर्ने मतदाता कति छन्, उनीहरु कुन कुन पेसा व्यवसाय गरेर बसेका छन् भन्नेबारे सबै जिल्ला सम्पर्क समितिले धमाधम काम गरी रहेका छन्’ ढकालले भने, ‘सबै जिल्लाले आफ्नो अनुकूलतामा मतदाता सम्बन्धित स्थानीय तहमा लैजाने तयारी गरेका छौ।’

काठमाडौँबाट मतदाता लिन सम्बन्धित जिल्ला सम्पर्क समितिले पैसा उठाएर लग्ने व्यवस्था गरिएको ढकालले बताए। यस्तै नेकपा एकीकृत समाजवादीले काठमाडौँबाट जिल्लामा मतदाता लैजान पटक पटक भेला समेत गरिसकेको पार्टीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले बताए। ‘पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा कति रहेछन् भनेर दुई पटक भेला गरिसकेका छौ’ चौधरीले भने, ‘ती सबै मतदातालाई आ–आफ्नो जिल्लामा लैजाने व्यवस्था गरेका छौ। मतदाता लैजान खर्च सम्बन्धित सम्पर्क समितिले व्यहोर्ने भएको छ।’

निर्वाचन आयोगले मतदान गर्ने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ। सबै मतदाताले मतदान गर्ने अधिकार प्रत्याभूति गर्न एक दिन सार्वजनिक बिदा दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले मतदान गर्न एक दिन मात्रै बिदा दिएकाले अधिकांश मतदाताले समय अपुग हुने भन्दै गुनासो समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप