शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : यस्तरी आउनु

सोमबार, १९ वैशाख २०७९, १७ : २१
सोमबार, १९ वैशाख २०७९

  -अविनाश भट्टराई          
तिमी यस्तरी आउनु
जसरी आउँछ 
ठिहिर्याउँदो हिउँदे झरीपछि 
न्यानो घाम
तिमी यस्तरी आउनु
जसरी आउँछन् 
स्कुल सकिएपछि, स्कुले नानीहरु
तिमी आउनु, यस्तरी आउनु
जसरी आउँछ, दिनभरि चारो खोजेर 
एउटा चरो, आफ्नै गुँड
तिमी आउनु, यस्तरी आउनु
जसरी आउँछ भर्खर 
ताते गर्न थालेको एउटा बालक
आमाको आलिङ्गनमा ।
हो, 
तिमी आउनु, यस्तै गरी आउनु
जसरी आउँछ 
वर्षौ भेट्न नपाएको 
एउटा प्रेमी, प्रेमिकाको साथ
तिमी यस्तरी नै आउनु
जसरी आउँछन् 
घन्टौंको ट्राफिक जाम खुलेपछि
मोटरहरु
तिमी आउनु, यस्तरी आउनु
जसरी आइपुग्छन् गन्तव्य छुन
म्याराथन धावकहरु
तिमी यस्तरी नै आउनु
जसरी आउँछ, एकाबिहानै सूर्य
पूर्वको डाँडा भेट्न
ए मेरो प्रिय परदेशी छोरो,
तिमी आउनु, 
यस्तै गरी आउनु ल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप