सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइरालाले भने- खबर राम्रो छैन

सोमबार, १९ वैशाख २०७९, १५ : २९
सोमबार, १९ वैशाख २०७९

नेपाली काँग्रेसको नेता डा.शेखर कोइरालाले विराटनगरको अवस्था राम्रो नभएको बताएका छन् । सोमबार विराटनगरका माओवादी नेताहरुसँगको छलफलमा सो धारणा राखेका हुन् । नेता कोइरालाले माओवादी नेताहरुलाई आफ्नै निवासमा बोलाएर अब मिलेर जानुपर्ने धारणा राखेका छन् । विराटनगरको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेश यादवले निकै भोट काट्ने आँकलनसहित कोइरालाको सक्रियता बढेको हो ।

यस्तै माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेद्वारी दिएकी छिन् । उनको र यादवको चुनाव चिन्ह ‘लालटिन’ कायम भएको छ । यही क्रममा कोइरालाले माओवादी विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादव र माओवादी विराटनगर अध्यक्ष नविन पौडेलसँग छलफल गरेका हुन् ।

यसअघिको निर्वाचनमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धन गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह पाएपछि धेरैले तेस्रो दलको रुपमा अर्थ्याउन थालिएको छ । ‘भेटका अवसरमा खबर कस्तो छ भनेर उहाँले सोध्नुभयो, हामीले राम्रो छ भन्यौं,’ कोइरालसँगको भेटबारे जानकारी दिँदै माओवादी नेता भोगेन्द्र यादवले भने, ‘उहाँले केको राम्रो हुनु नराम्रो छ भन्नुभयो ।’

छलफलका क्रममा कोइरालाले गठबन्धनको आवश्यकता रहेको बताएको यादवले जानकारी दिए । ‘विराटनगरमा गठबन्धन गर्नुपर्छ भन्ने आशय उहाँले व्यक्त गर्नुभयो, केन्द्रमा भएको सहमति अनुसार प्रमुखमा भोट दिनुपर्यो पनि भन्नुभयो,’ यादवले भने, ‘हामीले हाम्रो पार्टीको मेयर पनि छैन, उपमेयर पनि छैन, वडा पनि तपाइँहरुकै कारण मिल्न सकेन, हामी हाम्रो भोट स्वतन्त्र ढंगले हाल्छौं भन्यौं ।’

माओवादीका विराटनगर अध्यक्ष नविन पौडेलले आफूहरुलाई अहिलेसम्म काँग्रेस विराटनगरले छलफलमा नबोलाएको र गठबन्धनको विषयमा छलफल पनि नभएको बताए । ‘आज शेखर कोइरालाले बोलाउनुभएको थियो, त्यसबाहेक कुनै प्रकारको छलफलमा उहाँहरु बस्न मान्नुभएको छैन,’ पौडेलले भने, ‘अब भने काँग्रेसको दिमागमा माओवादी मिलाउनुपर्छ भन्ने परेको जस्तो देखियो, यो सकारात्मक छ ।’

भेटका अवसरमा कोइरालाले विराटनगरको ६ नम्बर वडामा माओवादीलाई सघाएर जाने आसय व्यक्त गरेका छन् । जवाफमा माओवादी नेता पौडेलले ६ नम्बरमा माओवादीलाई कसैको सहयोग नचाहिने, बरु अन्य वडामा मिलाउने प्रयास गरेमात्रै गठबन्धनले सहज जित निकाल्न सक्ने बताएका थिए । भेटका अवसरमा काँग्रेसले काँग्रेसलाई नै विराटनगरमा हराउन लागेको र पहिले पार्टी मिलाएर आफूहरुसँग छलफल गर्न कोइरालालाई सुझाव दिएको पौडेलले बताए । 

यता कोइरालाको तर्फबाट स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेटघाटका क्रममा त्यस्तो कुनैपनि अभिव्यक्ति डा.कोइरालाले नदिएको जिकिर गरे ।  ‘गठबन्धनका विषयमा कुराकानी गर्न नेकपा माओवादी केन्द्रका नेताहरु भोगेन्द्र यादव र नविन पौडेल विराटनगरस्थित कोइराला निवास आउनुभएको हो’, उनले भने, ‘भेटघाटका क्रममा गठबन्धनका बारेमा सामान्य कुराकानी भएको हो। यसबाहेक कुनै कुरा नभएको प्रष्ट पार्दछु।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप