आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वतन्त्र उम्मेदवारको रोजाइमा ‘लालटिन’

गठबन्धनलाई बागीको मोर्चाबन्दीको डर
सोमबार, १९ वैशाख २०७९, १५ : २७
सोमबार, १९ वैशाख २०७९

देशका अधिकांश पालिकामा झैँ विराटनगर महानगरपालिकामा पनि स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य रूपमा प्रतिस्पर्धा हुँदैछ । तर, यी दुई पक्षलाई विभिन्न पालिकामा अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि कडा चुनौती दिएका छन् ।

विराटनगर महानगरपालिकामा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी परेको छ । मेयरदेखि लिएर वडा अध्यक्ष, सदस्यहरूमा पनि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्र उम्मेदवारहरूले विभिन्न चुनाव चिह्न पाएका छन् । यद्यपि, ती चुनाव चिह्नमध्ये धेरैले ‘लालटिन’ का लागि प्रयास गरेका थिए, जसमध्ये विभिन्न पदका सीमितले मात्र यो चुनाव चिह्न पाएका छन् ।

‘लालटिन चुनाव चिन्ह नै प्रायः स्वतन्त्र उम्मेदवारले रोजे, यो संयोगमात्रै हो,’ विराटनगर महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले भनिन्, ‘विभिन्न पदमा स्वतन्त्र उम्मेदवारले यो चुनाव चिह्न पाएका छन्, तर यसमा कुनै कसैसँग गठबन्धन छैन ।’

वडा नम्बर ११ मा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल तामाङ पनि यस्तै तर्क गर्छन् । ‘स्वतन्त्रलाई दिने चुनाव चिह्नमध्ये सबैभन्दा राम्रो चुनाव चिन्ह नै लालटिन रहेछ, हामीले त्यसै आधारमा लालटिन रोज्ने निर्णय गरेर चिह्न लिन गएका थियौँ, अन्य साथीले पनि त्यही चिह्न लिनुभएछ, यसमा हाम्रो कुनै सल्लाह पनि छैन र सरोकार पनि छैन,’ तामाङले भने ।

स्वतन्त्रबाट वडा नम्बर ९ को वडा सदस्य पदमा उम्मेदवारी दिएका जतिन ताम्राकारले पनि चुनाव चिह्न ‘लालटिन’ नै रोजेका छन् । ‘प्रमुख, उपप्रमुख लगायत धेरैले लालटिन चुनाव चिह्न लिएका कारण यसको प्रचारमा मलाई पनि सहयोग पुगेको छ,’ ताम्राकारले भने, ‘तर, यसमा कुनै गठबन्धन होइन, म आफ्नो तरिकाले भोट मागिरहेको छु ।’

विराटनगरमा सत्ता गठबन्धनको निर्णयप्रति चित्त नबुझेर जनता समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका उमेश यादवले विराटनगर महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले पनि चुनाव चिह्न ‘लालटिन’ नै पाएका छन् । यसअघिको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धा गरेका यादवको उम्मेदवारीले गठबन्धन दललाई टाउको दुखाइको विषय बनेको छ भने एमालेलाई राहत भएको छ ।

यता, गठबन्धनप्रति चित्त नबुझेकै कारण माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि उपप्रमुखको उम्मेदवारी दिएकी छन् । उनको चुनाव चिन्ह पनि ‘लालटिन’ नै परेको छ । विराटनगरमा चुनाव चिह्न ‘लालटिन’ अहिले चर्चामा छ ।

गठबन्धनलाई बागीको मोर्चाबन्दीको डर

स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएकामध्ये धेरैजसोले लालटिन चुनाव चिह्न पाउनु र चुनावी सहकार्यको चर्चा चल्नुले गठबन्धन दल काँग्रेस र जसपा झस्किएका छन् ।

वडाको भागबण्डामा सहमति नभएका कारण नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी पनि सन्तुष्ट छैनन् । ‘काँग्रेसले वडामा भागबण्डा गरेको भए लालटिन यो अवस्थामा आउँदैनथ्यो,’ जनता समाजवादी पार्टीका एक नेताले भने, ‘यहाँ काँग्रेसले वडा मिलाउने प्रयास नै गरेन, जसको कारण प्रतिकूल परिणाम आउन सक्छ ।’

नेपाली काँग्रेसका विराटनगर सभापति दीपक चापागाईले सबै चुनाव चिह्न आफ्ना लागि चुनौतीपूर्ण रहेको बताएका छन् । ‘प्रतिस्पर्धामा गइसकेपछि सबै चुनाव चिह्नप्रति हामी सजग छौँ,’ लालटिन चुनाव चिह्नले तपाईहरुलाई कत्तिको समस्या पारिरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले सहज ठानेका छैनौँ, असहज परिस्थिति बनेकै छ, सबै चुनाव चिह्नलाई नोटिसमा राखेका छौँ ।’

आ–आफ्नो दल त्यागेर स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका मेयर, उपमेयर, वडाध्यक्ष लगायतका उम्मेदवारले एउटै चुनाव चिह्न रोज्नेदेखि एक अर्कालाई सघाउने तहसम्म सहकार्य गरिरहेको चर्चा छ ।

महानगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । वडामा गठबन्धनका हरेक दल अलग्गै चुनावी अभियानमा छन् । यसले गठबन्धनको गाँठो क्रमशः कमजोर बनेको गठबन्धनकै नेताहरूको भनाइ छ । महानगरमा अहिले पनि संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन । काँग्रेसले आफ्नो प्रतिबद्धता पत्र घोषणा गरेर एक्लै चुनावी अभियानमा हिँडेको छ । उता उपप्रमुखका उम्मेदवार अमरेन्द्र पनि जसपाको मात्रै सहयोग लिएर घरदैलो अभियानमा छन् ।

‘स्वतन्त्र उम्मेदवारले कसको सहयोग लिने, कसको नलिने भन्ने हुँदैन,’ मेयरका उम्मेदवार रहेका उमेश यादव भन्छन्, ‘त्यसैले सबैको सहयोग लिने हो ।’ स्वतन्त्रहरुबीच आपसमा सघाउने सहमति भने नभएको उनको भनाइ छ ।

गठबन्धनको किचलो र बागी उम्मेदवारका कारण नेकपा एमालेबाट प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा कार्कीलाई सहज भएको कतिपयको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप