बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा मजदुरको बकपत्र

सोमबार, १९ वैशाख २०७९, ११ : ०८
सोमबार, १९ वैशाख २०७९


उभिएको छु तिम्रो कार्यालयको अगाडि
र, खोलेको छु तिम्रो लागि ढोका 
कुदाएको छु भीडमा पनि
सहज बनाएर तिमीलाई गाडीभित्र ।
बिताएको छु तिम्रो कुकुर डोर्याएर 
तिम्रै घरमा मैले अधिकांश समय 
तिम्रा बच्चाहरुलाई डोर्याएर 
मैले आफ्ना बच्चाहरुलाई 
बाटो कटाउन बिर्सेको छु ।
तिम्रो बसको चेचिस फेर्दै 
म थुप्रै पल्ट ग्यारेजमा सुतेको छु
तिम्रो सुपरमार्केटमा मैले आफैलाई 
उपभोक्ताबादी सामान जसरी 
फिजाएको छु
ग्राहकको रोजाइअनुसार सेवा दिन ।
उसो त,
विद्यालयमा प्रत्येक पिरियडका घन्टीहरुले 
मेरो जिन्दगीका घन्टीहरु घटाएका छन्
अस्पतालका प्रत्येक बेड र सैय्याहरु फेरेर 
मेरा अमूल्य पल गुज्रेका छन् 
ग्राम र पालिकाका प्रत्येक आँगनहरु सफा गरेर 
मेरो कपाल पाकेका छन् 
सडकहरुले, महलहरुले, कार्यालयहरुले 
कार, बसहरुले र ग्यारेजहरुले 
मेरो आयुलाई किस्ता किस्तामा 
धुजा धुजा पारेका छन् । 
खै नारा, जुलुस र वर्षको एक दिन 
आउने मजदुर दिवसले 
के फरक पार्यो र 
मेरो अस्तब्यस्त जिन्दगीलाई ?
म संसारको 
एक श्रमजीवी मजदुर
सबै मजदुरहरुको 
निजी जिन्दगी पनि हुन्छ 
र, त्यो स्वतन्त्रतालाई 
कसैले खोस्नु हुँदैन ।
खोस्नु हुँदैन ।।

दमक बजार, झापा, 
हालः अबुधाबी, युएई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप