बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमाले बैठकमा रघुवीर महासेठविरुद्ध नारावाजी

आइतबार, १८ वैशाख २०७९, २२ : ३३
आइतबार, १८ वैशाख २०७९

स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेभित्र व्यापक विवाद चुलिएको छ । आइतबार मिथिला नगरपालिका, लालगढस्थित एक होटेलमा आयोजित एमाले चुनाव परिचालन मुल कमिटीको बैठकमा एक्कासी एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पुगेपछि विवादले उग्र रुप लिएको थियो ।

पूर्वमन्त्री समेत रहेका केन्द्रीय सचिव महासेठ पुगेपछि मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो पक्षका असन्तुष्ट कार्यकर्ताले चर्को विरोध गर्दै उनीविरुद्ध नारावाजी गरेका थिए । बैठकमा सहभागी एमालेका एक नेताका अनुसार महासेठलाई कालोमोसो दल्ने तयारीसमेत भइरहेको अवस्थामा प्रहरी पुगेर हस्तक्षेप गरेको थियो ।

विवाद बढ्दै गएर हात हालाहालको अवस्थासम्म पुगेपछि बैठक स्थगित गरिएको छ । स्थानीय तहको निर्वाचनमा अन्तिमसमयमा आएर निवर्तमान मेयर हरिनारायण महतोलाई टिकट नदिई अर्कैलाई दिएपछि एमालेभित्र असन्तुष्टि बढेको हो ।

बैठकस्थलमा इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरीको टोली पुगेर अवस्थालाई सामान्यीकरण गरेको बताइएको छ । निर्वाचन परिचालन समितिको बैठकमा पुरानै मितिमा माइन्यूट गर्न खोजेपछि विवाद भएको एमालेका मिथिला नगर कमिटी सदस्य कामेश्वर महतोले बताए । उनले चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५०१ सदस्य चुनाव परिचालन मुल समिति गठन गरेको जानकारी दिए ।

एमाले नगर कमिटी र प्रदेशसभा क्षेत्रीय कमिटीले मेयर पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो । तर उनलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन नेपाली काँग्रेसबाट हालै एमालेमा आएका राजाराम महतोलाई उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको हो ।

महतोलाई रघुवीर महासेठकै दबाबमा उम्मेदवार बनाइएको भन्दै स्थानीय एमालेका कार्यकर्ताहरु उनीविरुद्ध उग्र भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप