ललितपुरका ६ स्थानीय तहमध्ये कतै तालमेल, कतै एकल उम्मेदवारी
ललितपुर महानगरसहित अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको छ । एमालेले भने सत्तारुढ गठबन्धनविरुद्ध एकल उम्मेदवारी दिएको छ । एमालेका शीर्ष नेताहरु सत्तारुढ गठबन्धनबाट आफूहरुलाई केही फरक नपर्ने दाबी गरिरहेका छन् ।
एमालेका शीर्ष नेताहरुले भनेझैं ललितपुरका ६ स्थानीय तहमा एमाले निर्धक्क हुन सक्ने अवस्था भने छैन । ललितपुरका सबै पालिकामा सत्तारुढ गठबन्धन एकजुट हुन नसके पनि काँग्रेस र माओवादीबीच जिल्लाका अधिकांश पालिकामा तालमेल भएको छ ।
ललितपुर महानगर : महर्जन र ब्यञ्जनकार दोस्रो पटक प्रतिस्पर्धामा
ललितपुर महानगरको मेयरमा गठबन्धनबाट काँग्रेस नेता चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण ब्यञ्जनकार चुनावी मैदानमा उत्रिएका छन् । महर्जन र ब्यञ्जनकारवीच दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
मेयर पदका लागि अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । यद्यपि महर्जन र ब्यञ्जनकारबीच नै मुख्य प्रतिस्पर्धा हुने दलीय समीकरण तथा अघिल्लो निर्वाचनको परिणामले देखाएको छ ।
उपमेयरमा गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन् । एमालेबाट भने उपमेयरमा अञ्जली शाक्यले उम्मेदवारी दिएकी छन् । गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेका महर्जन र उपमेयरका उम्मेदवार बज्राचार्य काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका साझा उम्मेदवार हुन् । उपमेयरका उम्मेदवार बज्राचार्यले महानगरमा सत्तारुढ गठबन्धन एक भएर चुनावमा होमिएको भन्दै आफूहरुको अवस्था बलियो देखिएको बताएका छन् ।
२०७४ को निर्वाचनमा काँग्रेसबाट चिरिबाबु महर्जनले २४ हजार ६४२ मत र उपमेयरमा गीता सत्यालले १९ हजार ८१९ ल्याएर जित हासिल गरेका थिए । एमालेबाट मेयरमा हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए । महर्जनसँग ब्यञ्जनकार जम्मा ३२६ मतले पराजित भएका थिए ।
यस्तै, माओवादीबाट दिनेश महर्जनले १० हजार ६६१ र उपमेयरमा हसिना शाक्यले १२ हजार ९७९ मत ल्याएकी थिइन् । मेयरमा स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए । शोभा शाक्यले स्वतन्त्र उम्मेदवारी दिएर उपमेयरमा १४ हजार २४० मत ल्याएकी थिइन् । राप्रपाबाट उपप्रमुखमा बाबुकाजी प्रधानले १० हजार ५४० मत ल्याएका थिए ।
अघिल्लो निर्वाचनमा ललितपुर महानगरमा राप्रपा र एमालेबीच तालमेल भएको थियो भने आसन्न निर्वाचनमा यी दुई दलबीच ललितपुरमा तालमेल हुन सकेन । एमाले विभाजन भई अहिले अघिल्लो निर्वाचनको तुलनामा केही कमजोर भएको छ ।
काँग्रेसबाट मेयरमा उम्मेदवारी दिएका महर्जनलाई माओवादी र एकीकृत समाजवादीले समर्थन गरेका छन् । अघिल्लो निर्वाचनमा काँग्रेसले तालमेलबिना नै जितेको अवस्थामा अहिले सत्तारुढ गठबन्धनको साथ पाएकाले पनि मेयरमा महर्जनलाई सहज हुने आकलन गरिएको छ । त्यसैले ललितपुर महानगरमा एमालेले गठबन्धनसँग निकै दबाब महसुस गरेको देखिन्छ ।
गोदावरीमा काँग्रेस किल्ला भत्काउन एमालेलाई चुनौती
ललितपुरकै गोदावरी नगरपालिकामा काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । काँग्रेसले मेयरमा गजेन्द्र महर्जनलाई उठाएको छ भने उपेयरमा मुना अधिकारीले उम्मेदवारी दिएकी छन् । दुई नगरमा तीन दलीय गठबन्धन हुने भएपछि उपेयरमा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भए पनि कार्यान्वयन भने भएन । त्यसैले एकीकृत समाजवादीका श्याम सिलवालले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
वडामा तीन दललाई समेट्ने सहमति गरिएको छ । तर अन्त्यमा काँग्रेसले उपमेयरमा अधिकारीको नाम फिर्ता नलिएपछि समस्या भएको छ । प्राविधिक रुपमा काँग्रेसले उपमेयरमा उम्मेदवारी फिर्ता नलिए पनि एकीकृत समाजवादीलाई सघाउने स्थिति बनाइने एक नेताले बताए । तर, गठबन्धनभित्र छलफल चलिरहेकाले कुनै सहमति भने भइनसकेको ती नेताको भनाइ छ । एमालेले मेयरमा गम्भीरबहादुर लामा र उपमेयरमा रमी प्रधानाङ्गलाई उम्मेदवार बनाएको छ ।
यसअघिको निर्वाचनमा काँग्रेसबाट मेयरमा गजेन्द्र महर्जनले १३ हजार ८२० मत र उपमयेरमा मुना अधिकारीले १२ हजार ७७९ मत ल्याएर जितेका थिए । एमालेबाट मेयरमा श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र उपमेयरमा तारा सञ्जेलले १२ हजार ३९६ मत ल्याएर दोस्रो भएका थिए । सो निर्वाचनमा काँग्रेस र एमालेका उम्मेदवारको मत अन्तर २ हजार ७३३ थियो । माओवादीबाट गोविन्द महर्जनले ५ हजार ६७० मत ल्याएका थिए भने उपमेयरमा सीतादेवी घिमिरेले ६ हजार ४१३ मत ल्याएकी थिइन् ।
अघिल्लो निर्वाचनको तुलनामा अहिले एमाले विभाजन भएर कमजोर भएको छ भने काँग्रेसलाई माओवादी केन्द्रको साथ थपिएको छ । यस्तो अवस्थामा काँग्रेसको किल्ला भत्काउन एमालेलाई निकै चुनौती बढेको छ ।
महालक्ष्मीमा एमालेलाई गठबन्धन नै भारी
ललितपुरकै अर्को नगरपालिका महालक्ष्मीमा काँग्रेस र माओवादीबीच तालमेल भएको छ । जसका आधारमा मेयरमा माओवादी नेता शिव कट्टेलले र उपमेयरमा काँग्रेसकी लक्ष्मी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट मेयरमा नकुल थापाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएको हो । यहाँ एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा विना केसीले उम्मेदवारी दिएकी छन् ।
यसअघि यो नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । एमालेका मेयर रामेश्वर श्रेष्ठले ७ हजार ७६४ मत र उपमेयरमा निर्मला थापाले ८ हजार ६३६ मत ल्याएर जितेका थिए । काँग्रेसबाट महेश खड्काले ६ हजार ८०५ मत र उपमेयरमा लक्ष्मी श्रेष्ठले ६ हजार ३०२ मत ल्याएर दोस्रो भएका थिए । माओवादीका शिवप्रसाद कट्टेलले ४ हजार ३०० मत ल्याएका थिए भने लक्ष्मी महर्जनले ४ हजार १८८ मत ल्याएर तेस्रो भएका थिए ।
त्यतिबेला दोस्रो र तेस्रो मत ल्याएका दल मिलेर अहिले संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेस उम्मेदवारलाई करिब ९ सय मतले पराजित गरेको एमालेलाई अहिले काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको अवस्था थप चुनौतीपूर्ण बनेको छ ।
बागमती, कान्ज्योसोम र महांकालमा पनि तालमेल
बागमती गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल भएको छ । गठबन्धनबाट अध्यक्षमा काँग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादीका निसान खाम मगरले उम्मेदवारी दिएका छन् । एमालेबाट अध्यक्षमा नवराज सञ्जेल र उपाध्यक्षमा नमुना दोङले उम्मेदवारी दिएका छन् । यसअघि अध्यक्ष÷उपाध्यक्ष दुवै काँग्रेसले जितेकाले अहिले त्यसमा माओवादीको मत समेत थपिने भएको छ । जसले गर्दा यो पालिकामा एमालेको तुलनामा काँग्रेस–माओवादी गठबन्धन बलियो देखिएको छ ।
यसअघि निर्वाचनमा काँग्रेसबाट वीरबहादुर लोप्चनले ३ हजार ३८८ मत र उपाध्यक्षमा रन्जना घिमिरेले ३ हजार ४२६ मत ल्याएर विजयी भएका थिए । एमालेबाट अध्यक्ष उम्मेदवार भएका दुर्गाप्रसाद घिमिरेले २ हजार २५२ र उपाध्यक्षकी उम्मेदवार डोलकुमारी सिङतानले २ हजार ३४० मत ल्याएर दोस्रो भएका थिए ।
माओवादीबाट अध्यक्षका उम्मेदवार राजु आले मगरले १ हजार ६४२ मत ल्याएका थिए भने उपाध्यक्षमा कमला थापा मगरले १ हजार ४५५ मत ल्याएकी थिइन् ।
यस्तै कोन्ज्योसोम गाउँपालिकामा पनि काँग्रेस र माओवादीबीच तालमेल भएको छ । जसका आधारमा अध्यक्षमा माओवादीका गोपिलाल सिन्तान र उपाध्यक्षमा काँग्रेसका राजनप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । एमालेबाट अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा रमिता तामाङले उम्मेदवारी दिएका छन् ।
यसअघिको निर्वाचनमा यो पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको थियो । अध्यक्षमा सिन्तानले १ हजार ७९८ मत र उपाध्यक्षमा मिङमा लामाले १ हजार ९३३ मत ल्याएर जित हासिल गरेका थिए । काँग्रेसबाट अध्यक्षमा राजनप्रसाद घिमिरेले १ हजार ७३२ मत र उपाध्यक्षमा लक्ष्मी लोप्चनले १ हजार ४४४ मत ल्याएका थिए ।
यस्तै एमालेबाट अध्यक्षमा कृष्णमान लामाले १ हजार ४७८ मत र उपाध्यक्षमा सुस्मिता घिमिरेले १ हजार ४५७ मत ल्याएका थिए । यसअघि निर्वाचनमा पहिलो र दोस्रो भएका दलले अहिले संयुक्त उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमै तेस्रो भएको एमाले अहिले पहिलो र दोस्रो स्थानमा रहेका दलबीचको तालमेलले दबाब महसुस गरिरहेको छ ।
यस्तै महांंकाल गाउँपालिका अध्यक्षमा काँग्रेसका गणेशबहादुर केसी र उपाध्यक्षमा माओवादीकी डोल्मा लामाले उम्मेदवारी दिएका छन् । एमालेबाट अध्यक्षमा कमला लामा र उपाध्यक्षमा पुरुषोत्तम हुँमागाईले उम्मेदवारी दिएका छन् । लामा यसअघि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
यो पालिकामा एकीकृत समाजवादीबाट अध्यक्षमा राजन बञ्जारा र उपाध्यक्षमा रुजिना दुलालले उम्मेदवारी दिएकी छन् । यो पालिकामा पनि काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । यसअघि निर्वाचनमा एमालेबाट अध्यक्षमा रामचन्द्र दाहालले २ हजार ८० मत र उपाध्यक्षमा कमला लामा तामाङले २ हजार २९३ मत ल्याएर विजयी भएका थिए । तर एमालेको त्यो मतमा अहिले एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले केही हिस्सा खोस्ने देखिन्छ ।
अर्कोतिर काँग्रेसबाट अध्यक्षमा भीमसेन घिमिरेले १ हजार ७२२ मत ल्याएका थिए भने उपाध्यक्षका उम्मेदवार सुशीला अधिकारीले १ हजार ३९९ मत ल्याएका थिए । माओवादी केन्द्रबाट बुद्धबहादुर नेगीले ९२८ मत ल्याएका थिए भने उपाध्यक्षमा विमलादेवी आचार्यले ६६८ मत ल्याएकी थिइन् ।
अघिल्लो निर्वाचनमा दोस्रो र तेस्रो भएका दलबीचको तालमेल एकातिर छ भने एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले समेत एमालेको केही मत काट्ने निश्चित भएकाले यो पालिकामा पनि एमाले दबाबमा छ ।