सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

आइतबार, १८ वैशाख २०७९, २२ : ०६
आइतबार, १८ वैशाख २०७९

यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागकाअनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) मा चार, धौलागिरि (८,१६७ मिटर) का लागि दुई र ल्होत्से (८,५१६ मिटर) का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार÷चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप