शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

श्रीलंकामा मजदुरको आह्वानमा आम हड्ताल चर्किंदै, राजापाक्ष परिवारको बहिर्गमनको माग

आइतबार, १८ वैशाख २०७९, २१ : ५६
आइतबार, १८ वैशाख २०७९

बिहीबार श्रीलंकामा आयोजित आम हड्ताल सफल पार्न लाखौं श्रमिक सडकमा उत्रिएका थिए । हड्ताल आह्वान गर्ने ट्रेड युनियनहरुको मुख्य माग थियो– ‘राष्ट्रपति गोतावाया राजापाक्ष र उनको शक्तिशाली परिवारले सम्पूर्ण सरकारी पद त्याग्नुपर्छ ।’ 

अहिले श्रीलंका उसको इतिहासकै सबैभन्दा गम्भिर आर्थिक संकटसँग जुधिरहेको छ । धेरै श्रीलंकनले यसका लागि राजापाक्ष परिवारको नातावाद र असक्षमतालाई दोषी मानेका छन् ।  विगत २० वर्षदेखि श्रीलंकाली राजनीतिमा हाबी रहेका राजापाक्ष परिवारका भाई गोताबाया राष्ट्रपति छन् भने उनका दाई तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री छन् ।

देशभरका झण्डै १००० ट्रेड युनियनको आह्वानमा भएको हडतालमा बैंक, व्यवसाय र सार्वजनिक यातायात बन्द थिए ।  हड्ताल कार्यन्वयन गर्न नीजि तथा सरकारी दुवै क्षेत्रमा काम गर्ने मजदुर खटिएका देखिएका थिए । 
राजधानी कोलम्बोमा ट्रेड युनियनका कैयौं सदस्यले राष्ट्रपति भवनअगाडि टेन्ट गाडेर धर्ना दिइरहेका प्रदर्शनकारीसँग गएर ऐक्यवद्धता पनि जनाएका थिए ।

विगत तीन सातादेखि राष्ट्रपति भवन अगाडि केही प्रदर्शनकारी टेन्ट गाडेर धर्ना दिइरहेका छन् । उनीहरुले पनि राष्ट्रपति र प्रधानमन्त्रीको बहिर्गमनको माग राखिरहेका छन् ।  पछिल्लो आमहड्ताल निक्कै नै प्रभावकारी देखिँदा २.२ करोड जनसंख्या भएको मुलुकका अधिकाशं क्षेत्र ठप्प बनेको थियो । मानिसहरु खाना, औषधी र इन्धनको उच्च मूल्यबाट कति आजित छन् भन्ने कुरा यही हड्तालको सफलताले पनि संकेत गरेको छ ।

‘गत वर्ष ९९ मा आउने चामल किन्न अहिले २१५ लाग्छ,’ एक सरकारी कर्मचारीले नाम नबताउने सर्तमा भनिन् ।  श्रीलंकासँग अहिले अत्यावश्यक खाद्यान्न, औषधी र इन्धन आयात गर्न चाहिने विदेशी मुद्रा पनि प्रयाप्त छैन ।  ‘हामीले गोतावाया राजापाक्षलाई मत दियौं तर तिनले हाम्रो देशलाई ध्वस्त बनाए,’ २७ वर्षका मेकानिक्स रुचिरा अशानलेब भने । 

सन् १९८० को हडतालसँग तुलना
बिहीबारको हडताल ४२ वर्षअघि तलब वृद्धिको माग गर्दै भएको हड्तापछिको पहिलो हो ।  सन् १९८० मा टे«ड युनियनले मासिक ज्याला ३०० ले बढाउनुपर्ने, खाद्य अनुदान पुनरस्थापित गर्नुपर्ने र ‘अलोकतान्त्रिक र ट्रेड युनियन विरोधी कदम’ फिर्ता लिनुपर्ने माग उठाउँदै हडताल आह्वान गरेका थिए । तर तत्कालीन राष्ट्रपति जे.आर.जयवर्दनेले हड्तालविरुद्ध उग्र प्रतिक्रिया दिए । श्रीलंकाको अर्थतन्त्रलाई उदारीकरण गर्ने प्रयास गरिरहेका जयवर्दनेले देशव्यापी संकटकाल घोषणा गरेर हडतालमाथि प्रतिबन्ध लगाइदिए । सडकमा सेना परिचालन भयो ।

राष्ट्रपति जयवर्दनेको निर्णयपछि प्रदर्शन हिंसात्मक बनेको थियो, जसलाई पछि नियन्त्रणमा लिइएको थियो । केही विज्ञले श्रीलंकामा अहिले सरकारविरुद्ध सन् १९८० कै जस्तो आक्रोश देखिएको बताएका छन् । 

श्रीलंकाका ट्रेड युनियनहरुले सरकार र राष्ट्रपतिले राजिनामा नदिए मे ६ बाट लामो हड्ताल गर्ने चेतावनी दिएका छन् ।  ‘जयवर्दने सन् १९८० को हड्ताल दबाउन सफल भएका थिए । तर आजका ट्रेड युनियनहरु विगतका तिनका गल्ती सच्याएर आएका छन् । सन् १९८० देखि राजनीतिक पार्टीको संरक्षणमा धेरै ट्रेड युनियन खुले तर गत केही वर्षमा श्रमिकहरु आफै नै अघि सरेर ट्रेड युनियनको नेतृत्व लिन थालेका छन् । पछिल्लो हडतालले यो नयाँ प्रवृत्तिलाई थप सबल बनाएको छ,’ ३२ वर्षका बौद्ध भिक्षु तथा संयुक्त स्वास्थ्यकर्मी युनियनका सचिव टम्पिटिय सुगातानन्दले भने । 

अर्का श्रीलंकाली वकिल तथा अभियन्ता बालाचन्दन गोथामनले पनि आफूले सन् १९८० यता विभिन्न राजनीतिक विचारसँग आबद्ध ट्रेड युनियनहरु मिलेर यति ठूलो प्रदर्शन गरेको पहिलोपटक देखेको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप