काँग्रेसले भन्यो - गठबन्धनबीचको चुनावी तालमेल सफल भयो
नेपाली काँग्रेसले सत्ता गठबन्धनबीच समग्ररुपमा स्थानीय तहको चुनावी तालमेल सफल भएको बताएको छ । काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनबीचको चालमेल सफल भएको बताए ।
उनले भने, ‘धेरैलाई लागेको थियो । यो तालमेल सफल हुन सक्दैन । ठूलो विद्रोह हुन्छ भन्ने थियो । तर भएन । केही ठाउँमा मात्र साथीहरुले विद्रोह गर्नु भएको छ । ठूलो चित्रमा हेर्दा गठबन्धनबीचको तालमेल भएको छ । समग्रमा ठीक भएको छ ।’ बागी उम्मेदवारी दर्ता गराएकाहरु पनि अब अधिकारी उम्मेदवारको पक्षमा उभिने उनको विश्वास छ ।
‘गठबन्धनको केन्द्रीय सहमति विपरीत उम्मेदवारी दर्ता गराएका साथीहरु आधिकारिक उम्मेदवारको पक्षमा उभिनुहुन्छ । उम्मेदवारी फिर्ता लिन नमिले पनि वक्तव्यमार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्नु हुने छ ,’ उनले भने ।
काँग्रेस विधानअनुसार बागी उम्मेदवारी दिने पार्टीबाट स्वतः निष्कासित हुने उनले बताए । तर कतिपय ठाउँमा तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेवारी फिर्ता लिन नसकेका हकमा कारबाही नहुने व्यवस्था मिलाइने उनले बताए ।
‘पार्टीको निर्देशन मानेर कसैले वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिन्छ भने उलाई कारबाही हँदैन । काँग्रेसले बागी उम्मेदवारी फिर्ता लिए कारबाही नहुने प्रवन्ध मिलाउने व्यवस्था भइरहेको छ,’ प्रवक्ता महतले भने, ‘हामी काममा लागि रहेका छौं । पार्टीको अनुसाशन नमान्ने कति रहे भनेर सूची जारी गर्छौं ।’
काँग्रेसले महानगर, उपमहानगर र नगरपालिकामा गरी मेयरमा २ सय ६२ र उपमेयरमा १ सय ८४ जानले उम्मेदवारी दिएको महतले बताए । उनका अनुसार काँग्रेसबाट गाउँपालिका अध्यक्षमा ३७२ र उपाध्यक्षमा ३४० मा उम्मेदवारी परेको छ ।
यस्तै काँग्रेसले वडाध्यक्षमा ६ हजार ४३ मा उम्मेदवारी दिएको महतको भनाइ छ । उनका अनुसार महिला सदस्यमा ५ हजार ९ सय ३८, दलित महलिा सदस्यमा पाँच हजार ६ सय ५१ र अन्य दुई सदस्यमा ११ जहार ७ सय ८८ जनाले उम्मेदवारी दिएका छन् । काँग्रेसले समग्रमा ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको महतले बताए ।