शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गाउँका मतदातालाई छोएन चुनावले

काम गरेर खाने वातावरणसमेत नबनाइदिएको गुनासो
आइतबार, १८ वैशाख २०७९, १३ : ०७
आइतबार, १८ वैशाख २०७९

सिरहा, सन्हैठाका सुरजलाल यादवलाई स्थानीय तहको निर्वाचनको चटारोले छोएको छैन । जसले जिते पनि जनताका लागि कसैले केही नगर्ने भएकाले आफूलाई चुनावप्रति खासै वास्ता नलागेको उनको भनाइ छ । नेताहरू आफ्नै स्वार्थका लागि चुनाव लडेको उनी बताउँछन् ।

उनी त प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै सयौँ मतदाताको गुनासो उस्तै छ । कमलपुर ईटाटारका सहदेव मुखिया पनि स्थानीय तहका जनप्रतिनिधिका कामबाट पाँच वर्षको अवधिमा सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘पाँच वर्षसम्म यिनीहरू मुखिया (पालिका अध्यक्ष) भएर काम गरे, तर जनतामा के परिवर्तन आयो त ? मुखिया (जनप्रतिनिधि) हरू मोटाए, जनताको अवस्थामा कुनै परिवर्तन आएन ।’

स्थानीय चुनावमा मतदान गर्न अब १२ दिनमात्र बाँकी छ तर जनतामा भने चुनावको रौनक खासै देखिँदैन । २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा जनता उत्साहित देखिएपनि अहिले त्यस्तो उत्साह देखिएको छैन । पालिकाका मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिको क्रियाकलापकै कारण जनतामा उत्साह नदेखिएको स्थानीयवासी बताउँछन् ।

सिरहाको औरहीमा किराना पसल चलाउँदै आएका प्रमेश्वर यादव भन्छन्, ‘गाउँमा गएर सोध्नुस्, पाँच वर्षसम्म स्थानीय तहका जनप्रतिनिधिले गरेको कामबाट एक जना पनि सन्तुष्ट देखिँदैनन्, उहाँहरूको क्रियाकलापबाट जनता दिक्क भइसकेका छन् ।’

‘गाउँगाउँमा सिंहदरवार’ भनिए पनि त्यो ‘सिंहदरवार’ले जनतालाई केही सुविधा दिन नसकेको उनको भनाइ छ । उनले भने, ‘अनावश्यक करका साथै महँगी यसरी वृद्धि भयो कि जनताको आय स्रोतले तरकारी खान पनि मुश्किल छ ।’
सन्हैठाका सुरजलाल यादव भन्छन्, ‘गाउँगाउँमा पञ्च (पालिकाका प्रतिनिधि) हरू चुनिएर आएपछि झन् महँगी बढ्नुका साथै विद्यालयको शुल्कसमेत बढेको छ । सरकारले विभिन्न बहानाबाट कर उठाएको छ, अस्पतालमा उपचार महँगो भएको छ । तरकारी किन्न जाँदा ५० रुपैयाँभन्दा सस्तोमा कुनै पनि तरकारी आउँदैन । अनि यी पञ्चहरूले हामीलाई के दिए त ?’

जनप्रतिनिधिकै छोराछोरी, भाइ–भतिज लगायत परिवारको सान बढेको तर जनता अझै पनि ‘रैती’ कै अवस्थामा रहेको उनको बुझाइ छ । उनले भने, ‘यस्तो अवस्थामा हामीले आफ्नो मतको प्रयोग गर्ने हो तर चुनावप्रति खासै उत्साह छैन ।’

स्थानीय हटियामा तरकारी बेच्दै आएका सहदेव मुखियाको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘काम नगरी खान पाइँदैन । तर यहाँ काम गर्ने वातावरण समेत मुखिया (पालिकाका जनप्रतिनिधि) हरूले बनाउन सकेनन् ।’ चुनावको पूर्वसन्ध्यामा उम्मेदवारहरुले विभिन्न आश्वासन दिने, जे–जस्तो काम पनि गरिदिन्छु भन्ने तर चुनावपछि जनताको अवस्था बुझ्न कोही पनि नआउने उनको अनुभव छ । उनले भने, ‘पाँच वर्षसम्म उनीहरूले जनतामाथि शासन गरेका हुन्, सेवा होइन । उनीहरू आफूलाई जनताको सेवक भन्छन्, तर उनीहरु सेवक होइनन्, शोषक हुन् ।’

जनतालाई रोजगार, व्यवस्थित बजार, शिक्षा तथा स्वास्थ्यमा सहुलियत चाहिएको उनको भनाइ छ । उनले भने, ‘चुनावअघि उनीहरू विभिन्न प्रलोभन देखाएर मत लिएर जान्छन, तर चुनाव जितेपछि उनीहरूको अनुहारसमेत देख्न गाह्रो छ ।’

गणेशपुर बजारमा तरकारी बेचेर दैनिकी चलाउने मुखिया भन्छन्, ‘यी बजारको हालत हेर्नुस्, अलिकति पनि व्यवस्थित छैन, सडकको छेउमा त्यतिकै बसेर व्यापार गर्नुपरेको छ, कुनै दुर्घटना भयो भने ज्यान समेत जान्छ ।’ स्थानीय तहमा हाटबजारको नाममा करोडौ रुपैयाँ कर उठ्ने गरे पनि बजारको व्यवस्थापनमा खर्च नै नगरिएको उनको गुनासो छ । सबै रकम नेताहरूको गोजीमा जाने गरेको उनको दाबी छ ।

विकास तथा रोजगारीको नारा हरेक चुनावमा सुन्ने गरे पनि यी दुवै नारा कहिल्यै सम्बोधन नभएको सप्तरी तिलाठीका रमनसिंह बताउँछन् । ‘गाउँघरमा आधाभन्दा बढी मान्छे छैनन्, अधिकांश युवा विदेशमा छन्, भएका युवा जागिरका लागि सहर बजारमा छन्, घरमा महिलाहरू मात्र भेटिन्छन्,’ उनले भने, ‘अहिले नेताको कुरा सुन्ने मान्छे पनि गाउँघरमा छैनन् ।’

यदि नेताहरूले गाउँमै रोजगारीको व्यवस्था गरेको भए युवाहरू पलायन हुने अवस्था नै आउँदैनथ्यो भन्ने उनको तर्क छ । कोही पनि रहरले नभई बाध्यताले विदेशिएको उनले बताए ।

‘पहाडतिर के छ थाहा छैन, तर मधेसका कुनै पनि गाउँमा पस्नुस्, रोजगारको कुनै पनि व्यवस्था पाउनु हुन्न,’ उनी अगाडि भन्छन, ‘कतै कतै पसल देख्नुहुन्छ, त्यसबाहेक अरु केही पाउनुहुन्न । राजमार्गतिर केही उद्योग छन्, त्यसबाहेक अरू केही छैन ।’

दलहरु तथा नेताहरुले मन्दिर निर्माण र ग्राभेल सडकलाई मात्र विकास ठान्ने गरेको तर्क गर्दै उनले जनताका लागि रोजगारीको व्यवस्था नभएसम्म विकासको अनुभूति नहुने प्रस्ट पारे ।

सिरहामा होटल सञ्चालन गरेर बसेका राजेश साह पनि चुनावप्रति त्यति उत्साहित छैनन् । उनकाअनुसार जुन पार्टीका जुन नेता आए पनि अवस्था जस्ताको त्यस्तै छ । ‘चुनावमा अलिकति चहलपहल बढ्छ, त्यसपछि गाउँ नै सुनसान हुन्छ,’ उनले भने, ‘चुनावको समयमा केही दिन सबैको व्यापार राम्रै चलेको छ । नेताहरूले होटलहरूमा कार्यकर्ताका लागि सित्तैमा खाने व्यवस्था गरिदिएका हुन्छन् । तर चुनाव सकिएपछि एक कप चियासमेत सोध्दैनन् ।’

चुनावबाट जनतालाई खासै फाइदा भएको आफूलाई नलागेको उनको टिप्पणी छ । उनले भने, ‘जनता गरिबका गरिब नै छन्, नेताहरू मात्र धनी भएको देख्छु म ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप