बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न महासंघको आग्रह

आइतबार, १८ वैशाख २०७९, १० : ४७
आइतबार, १८ वैशाख २०७९

औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक विना कुनै पूर्वसूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुगेका हुन् । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ । चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएका छन् ।

लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने स्थिति श्रृजना भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । अपर्झट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने र उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला लगायतका समस्या उत्पन्न हुन थालेको बताइएको हो ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटक पटक गरेको प्रतिवद्धताको महासंघले स्मरण समेत गराएको छ । यसले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने महासंघको भनाइ छ । एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौँ विद्युत आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता प्रकट गरेको छ ।

विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न महासंघले आग्रह गरेको छ । त्यस्तै उद्योगहरूमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन समेत महासंघले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप