शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रहस्यमय तर कडा बाल 'हेपाटाइटिस' युरोप–अमेरिका हुँदै एसियामा !

आइतबार, १८ वैशाख २०७९, ०६ : २४
आइतबार, १८ वैशाख २०७९

अप्रिल २३ मा विश्व स्वास्थ्य सङ्गठनले बालबालिकामा रहस्यमय तर कडा 'हेपाटाइटिस' देखिएको जानकारी दिएको थियो। 'हेपाटाइटिस' भन्नाले सामान्यतया कलेजोको सुजन अर्थात् सुन्निनु भन्ने हो।'हेपाटाइटिस' हुनुका विभिन्न कारणहरूमा भाइरसलाई पनि मानिन्छ । खास गरी एकै समयमा धेरैलाई 'हेपाटाइटिस' को समस्या देखिए सङ्क्रमणको कारण भएको हुनसक्ने अनुमान गर्ने गरिन्छ । यसमा 'हेपाटाइटिस' 'ए' र 'इ' भाइरसलाई मुख्य मानिन्छ।'हेपाटाइटिस' 'ए' र 'इ' भाइरस खाना तथा पानीबाट सर्ने गर्दछ । तर हाल फैलँदै गइरहेको 'हेपाटाइटिस' को कारण भने रहस्यमय अर्थात् अज्ञात देखिएको छ । यो रहस्यमय 'हेपाटाइटिस' बाट विशेषत एक महिना देखि १६ वर्ष मुनिका बालबालिकाहरू प्रभावित भएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सबभन्दा चिन्ताको विषय भनेको यो समस्या देखिएका झन्डै १० प्रतिशत बालबालिकामा कलेजो प्रत्यारोपणको आवश्यक परेको थियो।

रहस्यमय 'हेपाटाइटिस' को कारणले धेरै बालबालिकामा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्याहरू देखिएका छन् । प्रयोगशाला परीक्षणमा कलेजोको इन्जाइमहरू, बिलिरुबिनको मात्रा सामान्य भन्दा अत्यधिक बढेको तथा कलेजोको काम गर्ने क्षमतामा अचानक तथा द्रुतगतिमा ह्रास आउने देखिएको छ। यस्ता समस्याहरू विशेषत ५ वर्ष मुनिका बालबालिकामा बढी देखिएको बेलायती स्वास्थ्य संस्था युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ । तर अधिकांश बिरामीहरूमा ज्वरो भने देखिएको छैन।

रोग फैलिए पहिले सङ्क्रमणको पहिचान आवश्यक हुन्छ। र अनि मात्र उपचार, बच्ने तथा नियन्त्रणका उपायहरू खोज्न वा अपनाउन सहज हुने गर्दछ । तर हाल फैलँदै गइरहेको 'हेपाटाइटिस' आफैमा रहस्यमय भएकोले उपचार,बच्ने उपाय तथा नियन्त्रणमा चुनौती देखिएको छ। युरोप, अमेरिका हुँदै हाल यो समस्या एसियाको जापानमा पनि देखापरेको छ । भारतमा देखिए त्यो नेपालको लागि पनि चुनौती हुन् सक्दछ। बेलायतमा नयाँ वर्षको सुरुवातसँगै वैज्ञानिकहरू यो रहस्यमय 'हेपाटाइटिस' को कारक पत्ता लगाउन प्रयत्नहरू गरिरहेका थिए/छन् । दुर्भाग्यवश, हालसम्म यसको भरपर्दो नतिजा हात पार्न भने सकेका छैनन्। तर, बिरामी बालबालिकामा परीक्षण गर्ने क्रममा सामान्य रुघा खोकी गराउने 'एडेनोभाइरस' भेटिएको जनाएका छन्।यो भाइरस श्वास प्रश्वासको मध्यमबाट सर्ने गर्दछ।'एडेनोभाइरस' को विभिन्न टाइपहरूमा 'टाइप ४१' भेटिएको छ। यो आफैमा चाखलाग्दो तर आश्चर्यचकित गराउने नतिजा हो। किनभने हालसम्म 'एडेनोभाइरस' को 'टाइप ४१' ले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकामा 'हेपाटाइटिस' गराउने सक्ने भनिएता पनि  पहिले स्वस्थ रहेका बच्चाहरूमा कडा 'हेपाटाइटिस' गराउने गरेको भने थिएन। हाल कडा 'हेपाटाइटिस' देखिएका बालबालिकाहरू पहिले स्वस्थ रहेका भनिएका छन्। केही बिरामीमा भने 'एडेनोभाइरस' र 'कोरोना भाइरस' दुवै सँगै भेटिएका छन्।

विश्व स्वस्थ सङ्गठनले निम्न अवस्थाहरू देखिए हाल फैलिरहेको रहस्यमय 'हेपाटाइटिस' को सम्भावना हुनसक्ने भनेका छन्  :

१) सन् २०२१, अक्टुबर महिना यता १६ वर्ष मुनिकामा 'हेपाटाइटिस' (हेपाटाइटिस 'ए', 'बी', 'सी' ,'डि' र 'इ'  भाइरस नेगेटिभ भएकामा) भएको तथा प्रयोगशाला परीक्षणमा कलेजोको इन्जाइमहरू (AST ALT ) ५०० IU  /L भन्दा बढी देखिए।  

२)  सन् २०२१, १, अक्टुबर यता जो कोहि बुँदा '१' मा उल्लेखित सम्भावित बिरामीसँगको सम्पर्कमा रहे पश्चात् 'हेपाटाइटिस' देखिएमा।

यसको फैलावट तथा गम्भीरतालाई ध्यानमा राख्दै यी माथि उल्लेखित अवस्थाहरू देखिए जानकारी गराउन विश्व सङ्गठनले आफ्ना सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ। हाल यो रहस्यमय बाल 'हेपाटाइटिस' को समस्या एक पछि अर्को देशमा देखिँदै जानु, कडा देखिनु तर हालसम्म कारक थाहा पाउन असमर्थ हुनु नै अहिलेको मुख्य चुनौती तथा चिन्ताको विषय हो।

डा.  पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप