बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तनहुँमा जोशीलाई कैची, भट्टराईलाई पुतली चुनाव चिह्न

शनिबार, १७ वैशाख २०७९, २३ : ०१
शनिबार, १७ वैशाख २०७९

जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई कैची, पुतली, खरायो लगायतको चुनाव चिह्न प्रदान गरिएको छ । शनिबार स्वतन्त्र र निर्वाचनका लागि दल दर्ता नभएका दलका उम्मेदवारले रोजेको चुनाव चिह्व प्रदान गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचनको अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारले चुनावी चिह्न रोजेका थिए ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका महेश्वर भट्टराईले पुतली चुनाव चिह्न पाएका छन् । यस्तै, उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी दिएका जगदीश काफ्लेले हास चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता नभएकाले उन्नत लोकतान्त्रिक पार्टीका काफ्लेलाई पनि स्वतन्त्र सरह चुनाव चिह्न प्रदान गरिएको हो । वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको उम्मेदवारलाई गुलाफको फुल, पुतली, मुढा, खानेपानीको धारा लगायतको चुनाव दिइएको छ ।

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीले कैंची चुनाव चिन्ह पाएका छन् । उनी नेपाली कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरेर कारवाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । जोशी समुहले तनहुँको व्यास नगरपालिकासँगै भानु नगरपालिका र बन्दीपुर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको छ । तर जोशी समुहका उम्मेदवार स्वतन्त्र चिह्नबाट उठ्ने गरेर गठबन्धनको सहमती भएको हो । चुनाव चिह्न नपाउदै जोशी व्यासमा एमालेबाट उपमेयरममा  उम्मेद्वारी दिएकी वसुन्धरा घर्तीलाई सुर्य चिह्नमा भोट माग्दै हिँडेका थिए । व्यासको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी पार्वती कार्कीले चुनाव चिह्न खरायो पाएकी छन् ।

११ र १२ वैशाखमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।  १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।  १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय  गरियो ।  १५ वैशाखमै उम्मेदवारको नामावली प्रकाशन भएपछि १६ वैशाखमा उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । शनिबार निर्वाचन चिह्न पाएपछि उम्मेदवारले अब भोट माग्न घरदैलोमा पुग्नेछन् । स्वतन्त्र उम्मेदवार निर्वाचन चिह्न लिएर घरदैलोमा हिँड्न थालेपछि ठुला दलका उम्मेदवारले भने घरदैलो सुरु गरिसकेका छन् । अब ३० वैशाखमा विहान ७ देखी अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । 

शुक्रबार ११५ जनाले उम्मेदवारी फिर्ता लिएसँगै जिल्लाको १० स्थानीय तहको ८५ वडामा अब एक हजार ६३६ जनाले प्रतिष्पर्धा गर्दैछन् । एक हजार ७५१ जनाको मनोनयन दर्ता भएको थियो ।  वैशाख ३० को निर्वाचनमा मात्र ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।  जिल्लाका २ लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गाउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप