शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रभु साह ‘फ्याक्टर’ : मधेसमा एमालेलाई होला त राहत !

शनिबार, १७ वैशाख २०७९, १९ : ५०
शनिबार, १७ वैशाख २०७९

सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए पनि लामो समय माओवादीको राजनीतिमा सक्रिय प्रभु साह माओवादी केन्द्रमा फर्किएनन् । उनी नेकपा एमालेमा सामेल भएसँगै मधेसमा माओवादी केन्द्रलाई एक प्रकारले धक्का नै लाग्यो भने एमालेलाई उनले आशा जगाउने काम गरे ।

मधेसमा प्रभु साहको प्रभाव देखेरै एमालेले उनीमाथि ठुलो भरोसा गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन साहले भूमिका खेल्ने एमालेको विश्वास छ । चुनावको पूर्वसन्ध्यामा मधेस प्रदेशका विभिन्न जिल्लामा साहले कयौं माओवादी कार्यकर्तालाई एमालेमा भित्र्याएका छन् ।

एमालेमा कुनै बेला मधेसका प्रभावशाली नेता मानिएका रघुवीर महासेठ, धर्मनाथ साह, सत्यनारायण मण्डलहरू अहिले प्रभु साहका सामु ओझेल परेझैं देखिन्छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत मधेसमा प्रभु साहको प्रभाव देखेर खुशी नै छन् । स्थानीय तहको उम्मेदवारका लागि टिकट वितरणमा पनि प्रभु साह नै हावी भएको एमालेका कार्यकर्ताहरु बताउँछन् ।

प्रभु साहले विभिन्न पार्टीबाट नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराए । पार्टी प्रवेशको यो लहर देखेर नै एमालेका कतिपय नेताहरु मधेसमा पार्टीको प्रभाव बढेको आकलन गरिरहेका छन् । हुन पनि पार्टी प्रवेशको कार्यक्रम एमाले पंक्तिमा यति बाक्लो थियो कि जिल्ला तहमा कार्यक्रम सञ्चालन गर्न नभ्याएर ओली निवास बालकोटमै बोलाएरसमेत कतिपयलाई पार्टीमा भित्र्याइएको थियो, जसमा प्रभु साहको खास उपस्थिति हुन्थ्यो ।

तर, स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेका कतिपय नेता–कार्यकर्ता असन्तुष्ट देखिएका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी पाउने अपेक्षाका साथ एमालेमा प्रवेश गरेका कतिपय नवप्रवेशी टिकट नपाएर असन्तुष्ट बनेका छन् भने कतिपय पूराना कार्यकर्ता आफूलाई पाखा लगाएर नवप्रवेशीलाई उम्मेदवार बनाइएको भनेर असन्तुष्ट देखिएका छन् ।

प्रभु साहकै गृह जिल्ला रौतहटका समाजसेवी योगेन्द्र यादवका अनुसार मधेसमा केही अघिसम्म प्रभु साहले एमालेको पक्षमा जनलहर देखाए पनि अहिले त्यो जनलहर छिन्नभिन्न हुन थालेको बताउँछन् । ‘प्रभु साहले एमालेमा जुनखालको भिडभाड देखाउनु भयो, एक दिनमै तीन–तीन ठाउँमा पार्टी प्रवेशका कार्यक्रमहरु गर्नुभयो, तर त्यसको परिणाम अहिले देखिएको छैन,’ उनले भने, ‘टिकट वितरणपछि पार्टी पंक्तिमा ठुलो असन्तुष्टि देखिएको छ ।’

रौतहट जिल्लामा प्रभु साहले एमालेमा प्रवेश गराएका कतिपय अगुवा कार्यकर्ता उम्मेदवारको आकांक्षी थिए तर उनीमध्ये अधिकांशले टिकट पाएनन् । चन्द्रनिगाहपुर, गौर र राजदेवी नगरपालिकाबाहेक अन्य पालिकामा प्रभु साहले आफ्नो आफन्तलाई नै टिकट दिएको उनी बताउँछन् । मौलापुर नगरपालिकामा प्रभु साहले पुनः आफ्नै श्रीमती रिना साहलाई उम्मेदवार बनाएका छन् । कटहरिया नगरपालिकामा पुनः सियाराम कुशवाहालाई उम्मेदवार बनाएका छन् । इसनाथ नगरपालिका, यमुनामाई नगरपालिका, माधवनारायण नगरपालिकलगायतमा पनि प्रभु साहले आफ्नै नजिकका मान्छेलाई उम्मेदवार बनाएका कारण एमालेका पुराना नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिएको उनको भनाइ छ ।

पर्साका अधिवक्ता रामेश्वर सेढाइको धारणा पनि त्यस्तै छ । उनी भन्छन्, ‘एमालेमा प्रवेशको जुन लहर चलेको थियो, त्यसको प्रतिबिम्ब अहिले स्थानीय तहको चुनाव देखिएको छैन ।’ पार्टी प्रवेशले नेता तथा कार्यकर्ताको मनोवल उच्च बनाए पनि नतिजामा त्यसको खासै प्रभाव नदेखिने उनको बुझाइ छ ।

एमाले निकै पुरानो पार्टी रहेको र सो पार्टीमा वर्षौं मेहनत गरेका कार्यकर्तालाई ओझेलमा राखेर नवप्रवेशीलाई टिकट दिइएको उनको भनाइ छ । ‘कोही वर्षौं पार्टीमा रहेर पनि टिकट पाउनबाट वञ्चित भएका छन् भने कसैले पार्टीमा प्रवेश गर्ने बित्तिकै टिकट पाए,’ उनले भने, ‘यसले गर्दा नवप्रवेशीहरु एकातिर एमालेका पुराना कार्यकर्ता तथा नेताहरुसँग घुलमिल हुन पाएनन् भने अर्कोतिर नवप्रवेशीले टिकट पाउँदा पक्कै पनि पुराना कार्यकर्तालाई चित्त दुखेको होला ।’ त्यस कारण पनि पार्टी प्रवेशको जनलहर देखेकै भरमा मधेसमा एमाले बलियो भयो भनेर बुझ्न नमिल्ने उनको भनाइ छ ।

एमालेभित्रको त्यो असन्तुष्टि व्यवस्थापन हुन नसकेको तर्क गर्दै उनले कतिपय पालिकामा सत्तारुढ गठबन्धनले एमालेलाई घेराबन्दीसमेत गरेको अवस्थामा चुनावी नतिजा एमालेका लागि सकारात्मक हुनेमा आशंका रहेको बताए ।

माओवादी केन्द्र रौतहटका नेता सत्यनारायण भगत पनि प्रभु साहले माओवादी केन्द्रका कतिपय कार्यकर्तालाई विभिन्न प्रलोभन दिएर एमालेमा प्रवेश गराएको बताउँछन् । तर त्यसरी एमालेमा गएका धेरैजसो कार्यकर्ता अहिले निराश र अलपत्र अवस्थामा रहेको उनको भनाइ छ ।

सिरहाका पत्रकार रोयण्टल मण्डल भने मधेसमा एमालेको पक्षमा ठुलो लहर देखिएको दाबी गर्दछन् । ‘एमालेमा पछिल्लो समय कसका कारण कोको प्रवेश गरे भन्ने मलाई थाहा भएन तर जसरी पार्टी प्रवेशको लहर चलेको थियो, त्यसको प्रभाव चुनावमा देखिएको छ,’ उनले भने ।

मधेस आन्दोलनका कारण मधेसमा एमालेको हालत निकै खराब रहेको स्मरण गर्दै उनले अगाडि भने, ‘पछिल्लो समय विभिन्न पार्टीबाट एमालेमा कार्यकर्ताहरु प्रवेश गरेका कारण एमालेको इज्जत जोगिने अवस्था देखिएको छ ।’

काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनले एमालेलाई जिरोमा पुर्याउने लक्ष्यसहित चुनावी तालमेल गरे पनि मधेसका धेरै पालिकामा एमालेले सत्तारुढ गठबन्धनलाई टक्कर दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप