बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

शनिबार, १७ वैशाख २०७९, १६ : ३३
शनिबार, १७ वैशाख २०७९

कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । 

जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन् । उनले भने, “जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।” उनका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ । 

इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिए । 

अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ ।

पछिल्लो समय जिल्ला बाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । पछिल्लो समयमा यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए । पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । 

जुम्लाको कूल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षण भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप