बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा कतै तालमेल कतै आ–आफ्नै उम्मेदवारी

शनिबार, १७ वैशाख २०७९, १४ : २१
शनिबार, १७ वैशाख २०७९

काठमाडौं । भक्तपुर जिल्लामा भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यमपुर थिमी गरी चार नगरपालिका छन् । भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ । भक्तपुर जिल्लाका चार पालिकामा दलहरु कतै तालमेल, कतै एक्लाएक्लै त कतै दुई दलीय तालमेलका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

भक्तपुरमा काँग्रेस र नेकपा समाजवादीबीच तालमेल
निर्वाचनमा यो नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको वर्चश्व तोड्नका लागि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् । सूर्यविनायकमा काँग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका छन् । मेयरमा काँग्रेसबाट निशान ढुंगेल र उपमेयरमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेतले उम्मेदवारी दिएका छन् ।

यस्तै मध्यपुर थिमी नगरपालिकामा मेयरमा काँग्रेसका सुरेन्द्र श्रेष्ठ, उपमेयरमा माओवादीबाट विजय श्रेष्ठले उम्मेदवारी दिएको माओवादीका केन्द्रीय सदस्य डिपी ढकालले बताए । चाँगुनारायणमा गठबन्धनमा सहभागी दलले आ–आफ्नै उम्मेदवारी दिएका छन् ।

‘भक्तपुरमा गठबन्धन गर्न निकै प्रयास भयो, अन्त्यमा दुई नगरपालिकामा मात्रै तालमेल भयो,’ ढकालले भने, ‘अरु नगरपालिकामा एकल रुपमा उम्मेदवारी दिएका छौं ।’

काँग्रेस र एकीकृत समाजवादी सूर्यविनायकमा एमाले किल्ला भत्काउने दाउमा

गठबन्धनमा सहभागी काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्न खोजेका थिए । तीन दलबीच चुनावी तालमेल हुन नसकेपछि मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीले लिएर दुई पक्षीय तालमेल गरे ।

परिणामस्वरुप गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्र एकल रुपमा लड्न पुग्यो । काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएपछि काँग्रेसबाट मेयरमा निशान ढुंगेल र उपमेयरमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत भिड्ने भएका छन् । माओवादीबाट मेयरमा कल्पदीप राई र उपमेयरमा पवित्रा चौलागाईको उम्मेदवारी परेको छ ।

यसअघिको निर्वाचनमा यो पालिकामा मेयर र उपमेयर एमालेले जितेको थियो । एमाले किल्ला भत्काउन काँग्रेस र एकीकृत समाजवादी मिलेरै प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि निर्वाचनमा एमालेका मेयरका उम्मेदवार बासुदेव थापा १२ हजार १३५ मत र उपमेयरमा जुना बस्नेत १२ हजार ८३२ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेसबाट मेयरमा विष्णुराज कार्की १० हजार १६५ मत र उपमेयर कल्पना राजथला ८ हजार ९०७ मत ल्याएर दोस्रो भएका थिए । त्यतिबेला एमालेका थापासँग काँग्रेसका कार्की २ हजार ६६७ मतअन्तरले पराजित भएका थिए ।

यो पटक एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले सघाएकाले काँग्रेसले मेयर जित्ने अपेक्षा गरेको छ । अहिले काँग्रेस र एकीकृत समाजवादी गठबन्धनले एमाले किल्ला भत्काउने साझा उद्देश्यका साथ सहकार्य गरेको देखिन्छ ।

एमाले विभाजनको फाईदा काँग्रेस र एकीकृत समाजवादीले कति लिन्छन् भनेर अहिले नै आकलन गर्न गाह्रो छ ।

एमालेले सूर्यविनायकको मेयरमा पुनः बासुदेव थापालाई उम्मेदवार बनाएको छ । मेयर हुँदा राम्रा काम गरेकाले पुनः थापालाई नै उम्मेदवार बनाएको एमालेको भनाइ छ । उपमेयरमा भने एमालेले सरिता भट्टराईलाई नयाँ अनुहारको रुपमा उठाएको छ । नेमकिपाले भने मेयरमा श्याम बिशंखे र उपमेयरमा जनमति खुलीमुलीलाई उठाएको छ ।

चाँगुनारायणमा एमाले किल्ला भत्काउन गाह्रो

यस नगरपालिकामा सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि सबैले आ–आफ्नो उम्मेदवार उठाएका छन् । काँग्रेसबाट मेयरमा जीवन खत्री, उपमेयरमा सुभद्रा काफ्लेले उम्मेदवारी दिएका छन् ।

यस्तै माओवादी केन्द्रले नरेश खड्कालाई मेयरमा र चण्डिका पाण्डेलाई उपमेयरमा उठाएको छ । एमालेले मेयरमा बिना बास्तोला र उपमेयरमा रमेश बुढाथोकीलाई उठाएको छ । नेमकिपाबाट केशव तिमिल्सेना र उपमेयरमा कल्पना लामालाई प्रतिस्पर्धामा उतारेको छ ।

यसअघिको निर्वाचनमा एमालेबाट सोमप्रसाद मिश्रले ८ हजार ५१२ मत ल्याएर मेयरमा र बिना बास्तोलाले ८ हजार ७७९ मत ल्याएर उपमेयरमा विजयी भएका थिए । एमालेले यसअघि उपमेयरमा निर्वाचित बिना बास्तोलालाई मेयरमा उठाएको छ । मेयरमा मिश्रले भन्दा उपमेयरमा निर्वाचित बास्तोलाले धेरै मत ल्याएकाले यस पटक बास्तोलालाई मेयरमा उठाएको छ ।

यसअघि काँग्रेसले मेयरमा राजाराम खड्का र उपमेयरमा राधा कार्कीलाई उठाएको थियो । मेयरमा खड्काले ६ हजार ८६९ र उपमेयरमा कार्कीले ७ हजार ४७६ मतमात्रै ल्याएकी थिइन् ।

एमाले विभाजनको मौका छोपेर काँग्रेस मेयर र उपमेयर दुवै पद जित्ने रणनीतिमा छ ।

उता, एमालेले पार्टी विभाजन भए पनि त्यसको असर नभएकाले मेयर जित्नेमा बास्तोला ढुक्क छिन् । एमालेको किल्ला भएको चाँगुनारायण गठबन्धन दलहरुलाई चुनौती हुने देखिएको छ । तालमेल नभए पनि काँग्रेस भने मेयर र उपमेयर जित्ने अत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको छ ।

मध्यपुर थिमीमा एमालेलाई गठबन्धनकै चुनौती

यस नगरमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । काँग्रेसबाट मेयरमा सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादीका विजय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

एमाले र नेमकिपाले यहाँ एकल उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा मदनसुन्दर श्रेष्ठ र उपमेयरमा उत्तरा नेपालले उम्मेदवारी दिएका छन् । श्रेष्ठले दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका हुन् । अघिल्लो निर्वाचनमा श्रेष्ठ नेमकिपाको समेत भोट पाएर मेयरमा निर्वाचित भएका थिए । नेमकिपाबाट उपमेयरमा उम्मेदवार दिएका केदार खड्का भने पराजित भएका थिए ।

यस पटक नेमकिपाले मेयर र उपमेयरमा एकल रुपमा उम्मेदवारी दिएको छ । मेयरमा आशाहरि प्रजापति र उपमेयरमा दीक्षा बाढेले उम्मेदवारी दिएकी छन् ।

यसअघि एमाले र नेमकिपाबीच तालमेल हुँदा श्रेष्ठले मेयरमा १३ हजार ६७८ मत ल्याएका थिए । त्यतिबेला दुबै दलको मत जोडेरमात्रै श्रेष्ठ मेयरमा निर्वाचित भएका थिए । यदि एमाले र नेमकिपाबीच तालमेल नभएको भए श्रेष्ठलाई मेयर जित्न कठिन हुने थियो ।

काँग्रेसका मेयरका उम्मेदवार अष्ट कवेले १० हजार ८४६ मत ल्याएका थिए । माओवादीका मेयरका उम्मेदवार प्रतिमा श्रेष्ठले एक हजार ९७१ मतमात्रै ल्याएकी थिइन् । तर, यस निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल भएकाले एमालेका श्रेष्ठलाई पुनः मेयर जित्न निक्कै कठिन हुने देखिएको छ । यतिबेला एमाले विभाजन भएको र नेमकिपासँग तालमेल समेत नभएकाले श्रेष्ठलाई गठबन्धन भारी हुने विश्लेषण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप