ad
x
खेलाडी

किन फुटबल ‘मिस’ गर्दैछन् भरत खवास ?

person explore access_timeबैशाख १७, २०७९ chat_bubble_outline0

समर्थकहरुको आवाज र राष्ट्रिय फुटबल टोलीको जर्सीमा पुनः मैदान फर्कने हुटहुटी उनको अनुहारमा छर्लङ्ग देखिन्छ । ‘राष्ट्रिय टोलीको जर्सीमा फर्किन मेहनत गरिरहेको छु । फेरि देशका लागि गोल गर्दै समर्थकहरुको गुन्जाहट सुन्न आतुर छु,’ फुटबल खेलाडी भरत खवास स्मरण गर्छन् । 


लामो समय राष्ट्रिय टोलीमा राज गरेका भरतलाई अहिले टिम बाहिर बस्दा फुटबल निकै ‘मिस’ गरिरहेको लाग्छ । त्यसैले उनको मनमा अहिले त्यति उत्साह छैन । आर्मीलाई ए डिभिजन लिगको उपाधि जिताउन नसकेको पीडा मनमा छ नै, त्यो भन्दा धेरै पीडा त राष्ट्रिय टोलीमा नपर्दा भएको भरत सुनाउँछन्,‘टिममा त अवश्य पर्छु, ढिलो चाँडोको कुरा हो । मेहेनत गर्दा असम्भव भन्ने कुरा छैन नि ।’ 



आफूलाई आफैले सान्त्वना दिदै भरत आफ्नो वार्म अप सकाएर बलसँगै मैदानमा लडिबुडी गर्न थाल्छन् । उनको अनुहारमा केही थकान पनि देखिन्थ्यो । उनले दश दिनपछि खेल मैदानसँग भलाकुसारी गरेका थिए । 





‘दश दिन भयो प्रशिक्षण नगरेको । मोफसलका प्रतियोगिता खेलेपछि रेस्टमा बसेका थियांै । अब एक दिनपछि पुन मैदान फर्किनेछौ,’ भरतले प्रशिक्षणमा फर्किने उत्साह साटे । 



सन् २००८ मा राष्ट्रिय टोलीको जर्सी पहिरिदाको जोश र जाँगर भरतमा अहिले पनि कमी देखिँदैन । मोरङबाट फुटबल करियर सुरु गरेका उनलाई राष्ट्रिय स्तरमा पुगेर देशका लागि खेल्न पाउँछु भन्ने ज्ञान पनि थिएन । देशका लागि पनि खेल्ने हुँदो रहेछ, अचम्म परेको पल सम्झिदै भरतले हाँस्दै सुनाए,‘सानोमा फुटबल खेल्ने समयमा ए डिभिजन लिग खेल्छु, सोचेको थिइन । अनि राष्ट्रिय टोलीमा नै परेर देशका लागि खेल्ने पनि हुँदो रहेछ भन्ने ज्ञान नै थिएन ।’ 



त्रिभुवन आर्मी क्लबको मैदानमा भरतले लामो समयपछि बल समाएका थिए । उनले भने, ‘हेमट्रिङ इन्ज्यूरी बल्झिरहन्छ । त्यसैले घरमै थिएँ । प्रशिक्षण नगरेको पनि दश दिन बितेछ । अहिले अलि असहज महसुस हुँदैछ ।’ 



अब केही दिनमा नै भरत पुनः प्रशिक्षणमा फर्किने तयारीमा छन् । ‘ह्याम स्ट्रिङ’को इन्ज्यूरीका कारण उनी विगत एक वर्षदेखि राष्ट्रिय टिममा छैनन् । तर उनकै शब्दमा भन्नुपर्दा उनी पहिलेभन्दा अझ बलियो भएर मैदानमा फर्किने योजनामा छन् । 



अहिले भरतको मुख्य लक्ष्य नै राष्ट्रिय टोलीमा पर्नेछ । राष्ट्रिय टोलीको जर्सीमा मैदान छिरेर बाँकी रहेको आफ्नो लक्ष्य पूरा गर्ने योजना उनको हो । ‘राष्ट्रिय टोलीका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी बन्न पाउँदा खुसी नै छु । टिममा पर्दै सर्वाधिक गोलकर्ताको इतिहास तोड्ने लक्ष्य अझै पूरा भएको छैन,’ भरत भन्छन्, ‘राष्ट्रिय टोलीमा सर्वाधिक १३ गोलको रेकर्ड तोड्न पाए फुटबल करियरले झनै सार्थकता पाउने थियो ।’ 

भरतले राष्ट्रिय टोलीका लागि १० गोल गरिसकेका छन् । नेपालका लागि हरि खड्काको सर्वाधिक १३ गोल रहेको छ । 

राष्ट्रिय टोलीमा पर्न आफ्नो समयमा गरेको संघर्ष जस्तो अहिले नहँुदा भरतलाई नेपाली फुटबल कल्चरमा केही कमजोरी भएको महसुस हुन्छ । एन्फा एकेडेमीका उत्पादन भरतले अहिले त्रिभुवन आर्मी क्लब हाँकिरहेका छन् । सन् २००८ मार्चमा पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका भरतका लागि त्यो खेल जीवनकै महत्वपूर्ण क्षण लाग्छ । 

‘मेरो जीवन रङ्गीन बनाउन सहयोग गरेका सबै खेलको महत्व बेग्लै छ । त्यसमाथि डेब्यूको मज्जा अनोठौ छ,’ भरतले आफ्नो फुटबल यात्रालाई सम्झिए । त्यो खेलमा राष्ट्रिय टोलीका लागि गोल गरेका भरतमा झनै हौसला थपियो, उर्जा जाग्यो ।  

ह्याट्रिकको खुसी 

देशको झण्डा छातीमा सम्हालेर गोल गर्दाको खुसी कस्तो होला ? त्यसमाथि ह्याट्रिक पूरा गर्दा जो कोही खेलाडीमा छाउने खुसी बहुमूल्य हुन्छ । भरतको भाग्यमा पनि त्यो खुसी लेखिएको थियो ।

करियरको पहिलो ह्याट्रिक, अनि नेपालका लागि ह्याट्रिक पूरा गर्ने चौथो खेलाडी । भनाइ छ, सुनमा सुगन्ध । भरतका लागि पनि त्यो क्षण त्यस्तै थियो । पहिलो ह्याट्रिकको खुसी उनको खेल जीवनका ेसर्वश्रेष्ठ खुसीको अध्याय हो । 

‘देशका लागि सबै खेल महत्वपूर्ण छ । देशका लागि ह्याट्रिक पूरा गर्दाको क्षण बयान नै गर्न सकिन्न,’ अनुहारमा खुसीका किरणसँगै भरतले सुनाए । भरतले सन् २०१४ को एएफसी च्यालेन्स कप क्वालिफयर्स अन्तर्गत नर्दन मारियाना विरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।  

सो खेलमा नेपालले ६–० गोलको जित निकाल्दा खेलको चौथौ मिनेटमा पहिलो गोल गरेका भरतले ४१ औं मिनेटमा दोस्रो र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । भरत यो ह्याट्रिक नै आफ्नो फुटबल करियरको अन्तिम ह्याट्रिक मान्दैनन् । टिममा परेर पुनः त्यो लय निकाल्ने उनमा दृढता छ । 

मोजाको बलले खुसी

पढाईभन्दा खेलमा भरतको धेरै रुचि थियो । ‘पढाइमा त्यति राम्रो थिएन नि म,’ भरतले हाँस्दै विद्यालयको क्षण सम्झे । 

बिहान गाई भैंसीलाई घाँस काट्नेदेखि घरको अन्य काममा पनि सघाउँथे उनी । विद्यालय, घरको काम बाहेकको समय भने खेलमा बित्यो । मोरङमा फुटबल खेल्ने सहज वातावरण पनि थिएन । त्यसमाथि सानो परिवारमा हुर्केका भरतका लागि झनै असहज । तर, पनि उनको फुटबलप्रतिको मोह घटेन ।

‘मोजाको बलले क्या खुसी दिन्थ्यो । फुटबल खेलाडी नै बन्ने भूत मनमा सवार थियो । राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने विश्वास थियो । अहिले यो स्थानमा देख्दा आफूमा गर्व महसुस हुन्छ,’ भरतले आफ्नो बाल्यकाल सम्झिए । 

३० वर्ष टेकेका छन् भरत । तर उनमा फुटबलको करियर सुरु गर्दाको समय जस्तै अहिले पनि त्यस्तै जोस छ । राष्ट्रिय टोलीमा नपरेका भरत पछिल्लो समय घरेलु प्रतियोगितामा पनि धेरै खेल्न सकेका छैनन् । भरतको अबको दुई लक्ष्य छ । पहिलो आर्मी क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाउनु । दोस्रो राष्ट्रिय टोलीमा परेर उत्कृष्ट प्रदर्शन गर्नु । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।