कथा : विद्रोहको आगो
गाउँ बाहिर लेलहा बसुवाइर (बाँसघारीको नाम) नजिकै फूलकुमारी डुमिनियाको झुपडी थियो । फूलकुमारीलाई गाउँका मान्छेहरू फूला डुमिनिया भनेर बोलाउँथे । फूला एक्लै छोरोलाई लिएर त्यही झुपडीमा बस्थिन् । झुपडीको अलि पर ठुलो पोखरी । पोखरीको डिलमा अग्लो र झाङ्गिएका वर पीपलको रुख थियो । वर पीपलका रुख नै फूलाका छिमेकी थिए दुःख, सुखका । घर नजिकै पोखरी भए पनि फूला र उनको छोरो पोखरीमा नुहाउन पाएका थिएनन् । उनी डुम जातको भएकीले पोखरीमा नुहाउने अनुमति थिएन । लेलहा बसुवाइर छेउबाट बगेको नदीको कुलोमा उनी नुहाउँथिन् ।
लेलहा बसुवाइरको बारेमा थरिथरिको कथा थियो । त्यहाँ भूत, प्रेतको बास छ । राति प्रेत निस्किन्छन् भन्ने हल्ला थियो गाउँभरि । त्यो प्रेतको खुट्टा अगाडि र टाउको पछाडि फर्केको हुन्छ । प्रेत सेतो लुगा लगाएको हुन्छ भन्थे । तर फूलाले आजसम्म कहिले भूत, प्रेत देखेकी थिइनन् । फूलालाई भूत, प्रेत सबै मिथ्या लाग्थ्यो । फूला अछुत जातकी थिइन्, त्यसैले प्रेत फूलालाई डराउन सक्तैन भन्ने गाउँलेहरूको धारणा थियो ।
गाउँ बाहिर निर्जन ठाउँमा छोरोलाई लिएर बस्न डर लाग्दैन्थ्यो फूलालाई ? के फूला समाजले बनाएको दायरामा बस्न बाध्य थिइन् ? के फूलाको जीवनमा कहिल्यै घाम लाग्दैन ? के फूलालाई समाज चाहिएको थिएन ? यस्ता धेरै प्रश्नको गुजुल्टो थियो ।
उनी एक्लै समाजसँग लड्न सक्ने सामथ्र्य जुटाउन सकिरहेकी थिइनन् । छोरो बौना सानै हुँदा उनको लोग्ने बितेको थियो । उनी एकल महिला थिइन् । नाङ्लो, बेना (पंखा) र ढाकी बुन्दै गाउँमा बेचेर छोरोलाई पालिरहेकी थिइन् । बौना १२ वर्षको थियो ।
गाउँमा राजनीतिदेखि अरु धेरै परिवर्तन भएको थियो । गाउँमा दुई, तीन तल्ले पक्की घर बनिसकेको थियो । सडक, खानेपानीदेखि लिएर सबै थोकको सुविधा आइसकेको थियो । तर फूलाको छाप्रोमा केही परिवर्तन र सुविधा आएको थिएन ।
एक रात राति हावाहुरी चल्न थाल्यो । नजिकै भएको लेलहा बसुवाइरका बाँसहरू करकर गर्दै हल्लिन थाले । छाप्रो उडाउला जस्तो भयो । हुरी थेग्नलाई गतिलो छाप्रो थिएन । फूलालाई गाउँका मान्छेदेखि सारै रिस उठ्यो । उनी आमा छोरा गाउँलेहरूको तिरस्कार सह्दै आएकी थिइन् । सबैलाई छिमेकी र सहारा चाहिन्छ तर फूलाको छाप्रो वरपर कुनै समाज थिएन । थियो त केवल एउटा छाप्रो, त्यो पनि विना छिमेकीको ।
जति हावाहुरी चलिरहेको थियो, त्यति नै मुट्ठी कसेर बाँधिन् फूला । उनले मनमनै सोचिन्, ‘मेरो घर किन गाउँ बाहिर छ ? म किन गाउँमा बस्न सक्दिनँ ? जात के हो ? कसले बनायो ? डुम अछुत जात हो भने मानव जात के हो ? मानव जातमा म पर्दिनँ भने को को पर्छन् ? मलाई किन हेपेका गाउँलेहरूले ?
यदि छाप्रो लड्यो भने हामीलाई बचाउन को आउला ? जातको हिसाबले मरे पनि मेरो कुनै मोल नहोला ठुला जात भनाउँदाहरूको आँखामा । तर मेरो जीवनमा मेरो मोल छ, मेरो महत्त्व छ । मलाई मेरो माया लाग्छ । म मान्छे हुँ । मेरो पनि भावना छ । सोच्न सक्ने क्षमता छ । तर मलाई किन विभेदको दृष्टिले हेरिरहेका छन् ?’
हुरी चलिरहँदा छाप्रो हल्लिरहेको थियो । बौनालाई पनि डर लागिरहेको थियो । यो सबै दुर्दशा फूला वर्षौदेखि भोग्दै आएकी थिइन् । हुरीको डरले फूला एउटा कुनामा गुन्द्री ओेढेर बसिरहेकी थिइन् । फूलाको अनुहार डरले होइन, रिसले रातो नीलो भइरहेको थियो । उनी प्रकृतिदेखि रिसाएकी थिइनन् । उनी आफ्नो जातदेखि पनि रिसाएकी होइनन् । यो समाजदेखि रिसाएकी थिइन् । उनको मनमा रिसको हुरी चलिरहेको थियो । उनी यताउति हेरिन् । उनको मनमा विद्रोहको आगो बलिरहेको थियो ।
उनी जुरुक्क उठिन् । उनलाई उठेको देखेर बौना डराउँदै बोल्यो, ‘मैया कत जाइ चिही । बरी जोरसे हवा वहैछै ?’ उनी बौनालाई केही जवाफ फर्काइनन् । छाप्रोको अर्को कुनामा चुलो थियो । छाप्रो अँध्यारो थियो । उनी छाप्रोको भित्तो समात्दै चुलो छेउमा पुगिन् । चुलो छेउछाउमा छामिन्, सलाईको बट्टा फेला पारिन् । सलाईको बट्टा मुट्ठीमा कसिन् । हावा चलेर चुलोमा अलिअलि आगो बलिरहेको थियो । छेउमा भएको बाल्टिनको पानी लोटाले चुलोको आगोमा खन्याइन् । आगो निभ्यो । उनी हातमा सलाई च्यापेर छाप्रोको फरकी (ढोका) घर्याक्क खोलिन् । बौनालाई डर लाग्यो । ऊ फूलाको पछि लाग्दै भन्यो, ‘मैया, कत जाइ चिही ?’ छोराको कुरा सुनेर फूला केही बोलिनन् ।
उनी त्यति राति छाप्रोबाट निस्केर पोखरीको डिलमा आइन् । बौना पनि उनको पछि पछि आइरहेको थियो । बौना आफ्नो पछि लागेको देखेर फूला बौनाको हात समात्दै घचेटेर छाप्रोमा ल्याइन् । ‘छपरामे रह् । हम तुरन्ते येबौ ।’ भन्दै उनी त्यहाँबाट निस्किन् । अँध्यारो रातमा बौनालाई एक्लै बस्न डर लागिरहेको थियो । हुरी चलेको हुइहुइ हुइहुइ आवाज आइरहेको थियो । हुरीले फुलवाको सारी र कपाल उडाइरहेको थियो । उनी हैरान भइसकेकी थिइन् । पोखरीको डिलमा पुग्दा बौना फेरि उनको पछि पछि लागेको उनले देखिन् । उनी रिसाउँदै उनको हात समात्दै उनलाई घचेट्दै फेरि छाप्रोमा ल्याइन् । उनलाई छाप्रोभित्र हालेर बाहिरबाट छाप्रोको फरकी (बाँसको टाँटीको ढोका) बाहिरबाट डोरीले बाँधिन् । छोरोलाई थुनेर उनी छाप्रोबाट निस्किन् ।
पोखरीको डिलमा पुगिन् । पोखरीको डिलमा भएको पीपलको रुखका हाँगा हावा चलेर फरफ रफरफर आवाज निकाल्दै फरफराउँदै हाँगा झर्ला जस्तै भइरहेको थियो । फुलवाको कपाल फुर्र्र उडेर उनी भुत जस्तै देखिइएकी थिइन् । पोखरीको डिलमा पुग्दा पोखरीको डिलको बालुवा उडेर उनको आँखामा छिर्यो । उनको आँखा बिझ्न थाल्यो । उनी आँखा मिच्न थालिन् । आँखा मिच्दै हातमा भएको सलाई आँचलमा बाँधिन् । पोखरीमा गएर आँखा धोइन् । आँखा धुने बेला छप्ल्याङ छप्ल्याङ् आवाज आयो ।
राति पोखरीमा आँखा धुँदा पोखरीको पानी छोइएन । पोखरीमा नुहाउन नदिएकाले उनी रिसले पोखरीको पानीमा थुकिन् । थुक्दा प्यात्त आवाज आयो । आँखा धोएर उनी सारीले आँखा पुछिन् । उनको आँखा बिझ्न बन्द भयो । उनी सारी माथि उचालिन् । सारी माथि उठाएर खुट्टा फट्याइन् । उनी उभिएरै पोखरीको पानीमा पिसाब फेरिन् । पिसाब फेर्दा सनसन सनसन र खद्खद् खद्खद् आवाज निस्कियो । पिसाब फेरेर उनी सारी टक्टकाइन् । खुट्टामा लागेको पिसाब पुछिन् । अनि सारी फैलाउँदै सारी तल झारेर खुट्टा छोपिन् ।
उनी रिसले पोखरीमा थुकिन्, पिसाब फेरिन् । तर पनि उनको मन शान्त भएन । उनी थुक्दा र पानी छुँदा छोइएन पोखरीको पानी । तर, उनी नुहाउँदा पानी छोइने ?
अँध्यारो थियो । हुरी चलिरहेको थियो । उनको जिउको सारी हुरीले उडाइरहेको थियो । उनी सारी समात्दै धेरै हिम्मतका साथ हिँडिरहेकी थिइन् । उनी हिँड्दै थारू गाउँ छिरिन् । गाउँको सुरुमा दखिनबरिया टोल थियो । टोलको सुरुमा रामलखनको घर थियो । उनको टालबारी घरको छेउमा दखिनपट्टि थियो । उनी रामलखनको टालबारी (टौवा भएको ठाउँ) छिरिन् ।
सलाई आँचलबाट खोलिन् । सलाईको काँटी कोरिन् । काँटी कोर्दा छ्यास छ्यास आवाज आयो । हुरी चलिरहेकोले सलाईको काँटीमा आगो सल्कियो, फेरि तुरुन्तै निभ्यो । उनी सारीको आँचलले हावा छेकिन् । सलाईको काँटी कोर्दै आगो सल्काएर परालको टौवामा फालिन् । हावा चलेर टौवामा छिनमै आगो सल्कियो ।
आगो सल्काएर उनी त्यहाँबाट हिँडिन् । उनी हिँड्दै गर्दा उनको मनमा डर लागेन । उनी भित्रबाटै खुसी भइन् । उनको मनमा भएको सबै विद्रोह पखालिएको अनुभव उनले गरिन् । मध्य रातमा मुसुक्क हाँस्दै उनी छाप्रोतिर फर्किन् । फर्किँदै शान्तिको सास फेरिन् ।
टौवामा आगो सल्केको देखेर गाउँलेहरू आइग लागल भनेर हल्ला गर्न थाले । त्यतिवेलासम्म उनी टाप कसिसकेकी थिइन् । आगो टालबारीबाट सल्केर तीन, चारजनाको घरमा एकैपटक समात्यो । गुहार गुहार हल्ला गर्दै गाउँलेहरू जम्मा भए । गाउँलेहरू बाल्टिनमा कल र इनारबाट पानी भर्दै आगो निभाउन थाले । जुन भाँडा अगाडि भेटायो, त्यही भाँडो जग, लोटा, टुकुस, आरी, बाल्टिन र थालले पानी भरेर गाउँलेहरू आगो निभाउन व्यस्त भए । मान्छेहरूको भागाभाग थियो । कोही घरबाट सामान निकाल्न व्यस्त थिए, कोही गुहालीमा भएका गाई, गोरु र बाख्राको दाम्लो फुकाउन व्यस्त । कोही कोही बच्चाबच्चीलाई बोकेर ह्वाँ ह्वाँ रोइरहेका थिए, कोही बिलौना गर्दै थिए ।
फूला गाउँ बाहिर रहेको आफ्नो छाप्रोमा पुगिसकेकी थिइन् । आगोको ज्वाला उनी आफ्नो छाप्रोबाटै देखिरहेकी थिइन् । तेस्रो प्रहरमा हावाहुरी शान्त भयो । ‘सही कि गलत के गरें,’ उनलाई थाहा थिएन तर उनलाई लागिरहेको थियो, उनले जे गरिन्, त्यो सबै सही हो । आगोको झिल्का गाउँमा शान्त भएको उनले देखिन् । बौना निदाइसकेको थियो । उनी पनि ओछ्यानमा पल्टेर मस्त निदाइन् ।
.....
आफूलाई जस्तै गाउँलेहरूलाई गाउँभन्दा बाहिर ल्याउने फूलाको इच्छा थियो । डुमको दृष्टिले हेर्ने आँखाहरूलाई रुवाउने मन थियो । उनले बाल्यकालदेखि देख्दै भोग्दै र पीडा अनुभव गर्दै आएको समाजलाई पनि धुरुधुरु रुवाउने इच्छा थियो । उनको माइती गाउँमा पनि उनको बाआमाको अवस्था यस्तै थियो । गाउँ बाहिर आँपगाछी नजिक उनको बाआमाको छाप्रो थियो । उनी सानैदेखि समाजबाट डुम, डुमिनिया भनेर अपहेलित भएकी थिइन् ।
आगो लागेर गाउँको दखिनबरिया टोल सखाप भयो तर कुनै गाउँले गाउँ बाहिर आएनन् । बेघर त भए तर सान्त्वना दिन सबैका आफन्तहरू गाउँमा आए । आफन्त, छिमेकी र अर्को टोलका मान्छेहरूले लुगा र खानेकुराहरू दिएर सहयोग गरे । आफन्तहरूको सहयोग पाएर फेरि सबैजनाले फुसको घर बनाए । त्यही गाउँमा मिलेर बस्न थाले । फूलालाई लाग्यो, उनले गाउँलेहरूलाई समानताको पाठ सिकाउन सकिनन् ।
आगो कसले लगायो, किन लगायो, कसरी लाग्यो ? कसैले पत्ता लगाउन सकेनन् । त्यो घटना पनि विस्तारै सेलाउँदै गयो तर फूलाको मनको आगो सेलाएको थिएन ।
एकदिन फूला बेलुकी खोरमा सुँगुर थुन्न व्यस्त थिइन् । त्यहीवेला गाउँको पुवरिया टोलको असर्फी चौधरी फुलाको आँगनमा उभिएर भने, ‘ए ! डुमिनिया दोसर हप्ता हमर बेटीके वियाह चियै । वियाहमे लागैवला सैब समानसब बेना, चङेरा, डलिया, दौरा बुइनके हमर घर आइन देहे ।’ फूलाले उताबाट जवाफ फर्काइन्, ‘कैहियातक आइन देबौ ।’ उताबाट असर्फीले जवाफ दिए, ‘शैनदिन तक आइन देहे ।’ ‘हेतै गौ,’ भनेर फूलाले जवाफ पर्काइन् ।
फूलाको छाप्रो पछाडि बाँसघारी थियो । उनी भोलिपल्ट बाँस काटेर ल्याइन् । बाँसबाट कर्ची ताछिन् । एक्लै बाँसको कर्ची ताछेर बाँस फाँड्न थालिन् । बाँसको फेद फाँडेर बन्चरो भुँइमा राखिन् । थोरै फाँडेको ठाउँमा एउटा पैताला टेकिन् । एउटा पैताला बाँसमा र अर्को पैताला भुइँमा टेकेर बल लगाउँदै दुबै हातले बाँस समातेर हात माथि उचालिन् । हात र खुट्टाले च्यापिएको बाँस भ्याट् भ्याट् गर्दै फाट्यो । बाँस दुई टुक्रा भयो । बाँस समातेको उनका हात, खुट्टा राता राता भए ।
उनी बाँस फाँडेर हात रगडिन् । रातो भएको हात सामान्य अवस्थामा आयो । फाँडेको बाँसलाई खुकुरीले फेरि चार टुक्रा लामो गरी फाँडिन् । फाँडेर मसिना बत्तीहरू (बाँस मसिनो गरी काट्नु) बनाइन् । ती बत्तीहरू चिर्दै कैमचा (ढाकी बुन्नको लागि मसिनो गरी बनाइएको कर्ची) बनाइन् । कैमचा ताछेर राखिन् ।
कैमचाबाट बेना, ढकिया, चङेरा, दौरा र छिटनी बुन्न थालिन् । दुई दिनमा सबै सामान बुनेर तयार पारिन् । तयार पारेर असर्फीको घर सामान दिन गइन् । उनले असर्फीको आँगनमा सामान राखिन् । उनको अगाडिबाट सबै सामान टिप्दै असर्फीकी स्वास्नीले पर राखिन् । पर राखेर सबै सामान ओल्टाइपोल्टाइ हेरिन् । उनले बनाएको सामानहरू आजसम्म कसैले नराम्रो छ भनेर भन्न सकेका थिएनन् । त्यति धेरै शिल्पी थियो हात ।
असर्फीकी स्वास्नी भोटियाटोलवाली पनि केही बोलिनन् । फूलाले ल्याइदिएका सामानहरूमा उनी पानी छर्किँदै चोख्याइन् अनि भण्डार कक्षमा राखिन् । सबै सामान चोख्याएको देखेर फूलाको चित्त दुख्यो । एउटा सामानको दुई किलो चामलको दरले पाँचओटा सामानको दस किलो चामल पाइन् । उनले बनाएको सामान बिहे जस्तो पवित्र कार्यमा प्रयोग गर्न सकिने तर उनीसँग भेदभाव किन ? उनी केही बोलिनन् ।
भोटियाटोलवालीले छोरीको बिहेमा भोज खान आउने निम्तो उनलाई दिइन् । भोज खाने निम्तो पाएर उनलाई कता कता खुसी पनि लाग्यो । छुवाछुत गरेको देखेर उनको चित्त दुखे पनि भोज खाने निम्तो पाएर उनी सबै कुरा बिर्सिन् । उनी चामल लिएर घर फर्किन् ।
भोज खाने दिन आयो । थारू टोलका सबै पुरुषहरू आँगनमा छुट्टै बसेर भोज खाइरहेका थिए । उता गाउँका मुसहर, चमार, दुसाध र डुमको लागि छुट्टै खलियानको एउटा कुनामा खाना खाने व्यवस्था मिलाइएको थियो । उनीहरू खलियानको कुनामा खाना खान लाम बसे । असर्फीका छिमेकी मुखिलाल भात खानको लागि पात बाँड्न आए । त्यसबेला उनले सबैले सुन्ने गरी भने, ‘तोरौके खेलहा येठका पता हमरौके नै फेकबौँ । तोरौके आपन येठका पत्ता आप्ने फेकहे ।’
तिमीहरूको जुठो पात फाल्दैनौं हामी । मुखिलालले भनेको सुनेर कोही केही बोलेनन् तर फूला बोलिन्, ‘हम आपन येठका पत्ता नै फेकबौँ । हमरौके खेलहा येठका पत्ता नै फेकबिही त भोज नै खेबौँ ।’ फूला बोलेको सुनेर पात बाँड्ने मान्छेले भने, ‘ए ! डुमिनिया खाइके मन छौ त खो । या नै खाइके मन छौ त जो अतसे । तु बेसी बुझहैचिही ?’ फूलाको अगाडि भात खान दिएको पात उनले फाल्दै भनिन्, ‘हमर येठका पत्ता नै फेकबिही त हम नै खेबौँ भोज ।’ मेरो जुठा पात नफाल्ने भए म भोज खान्नँ फूला बोलेको सुनेर बिहेमा उपस्थित भएका पाहुनाहरू र गाउँका मान्छेहरू जम्मा भए ।
असर्फी पनि आए । पात बाँड्ने मुखिलालले असर्फीलाई फुलाले बोलेको सबै कुरा सुनाए । असर्फीले भतिजो शुक्लालाई कानमा खुसुखुसु केही भने । शुक्ला आँगनतिर गयो । त्यहाँ भोज खान आएको दुसाध, मुसहर र चमारहरू फूलालाई चुप लागेर खा भनिरहेका थिए तर फूला भोज खान तयार भइनन् । कसैको कुरा सुनिनन् ।
आँगनबाट शुक्ला पातमा दाल, भात, तरकारी र मासु लिएर आयो । असर्फीले शुक्लाको हातमा भएको पातको भात फूलालाई थमाउँदै भने, ‘यी भात बोक् या घर जो ।’ सबैजनाले फूलालाई चुप लागेर बसेर खा । पाहुनाहरूको अगाडि नाटक नगर भनेर सम्झाए ।
त्यो कुनै नाटक थिएन तर सबैलाई नाटक लागिरहेको थियो । आफ्नो लाचारीको फाइदा उठाइरहेका गाउँका थारू टोलका गिरहत (मालिक) को भोज खान बसेका फूलाले ती मुसहर, दुसाध र चमराहरूलाई मूर्ख देखिन् । उनीहरूको मूर्खतामा जोडले हाँसिन् । उनी हाँस्दा उनको लामा नमिलेका, उछिटिएका सेता दाँतहरू देखिए । असर्फीको हातमा भएको पातको भात लिन फुलाले अस्वीकार गरिन् ।
असर्फीले पनि तल्लो जातको जुठो पात आफूहरूले नफाल्ने निर्णय लिए । फूला जथाभावी बोलेको देखेर असर्फीकी स्वास्नी भोटियाटोलवाली फूलालाई भनिनन्, ‘बेसी धाक नै देखा । तोहर ओतहेक औकात ? ठुसबि त ठुस् । नै ठुसबि त अत से जो ।’ खाने भए खा । नखाने भए यहाँबाट जा । भोटियाटोलवालीको कुरा सुनेर फूला रिसाउँदै त्यहाँबाट निस्किन् । भोज खाइनन् । त्यहाँ भोज खान आएका दुसाध, चमार र मुसहरहरू चुपचाप लागेर भोज खाए । उनीहरू आफ्ना जुठा पातहरू आफैले फाले ।
फूलाको समाजप्रतिको यो एक्लो लडाइ थियो । उनी छुवाछुत प्रथा हटाउन चाहन्थिन् । उनी गाउँमा तल्ला जातमा गनिने अरु जातहरूले पनि साथ दिऊन् भन्ने चाहन्थिन् । तर अहँ, उनलाई साथ दिन कोही अगाडि बढेनन् । फूला आफूलाई भित्रबाटै बलियो बनाइन् । उनी बिना समाजको बाल्यकालदेखि नै बसेकी थिइन् । उनलाई गाउँ बाहिर छाप्रोमा एक्लै बस्न डर लाग्दैन थियो भने भेदभाव गर्ने त्यो समाजसँग केको डर ? केको सङकोच ? केको नाटक ? ठुला जात भनाउँदा गिरहतहरूले शुभ काममा उनले बनाएको सामान प्रयोग गर्ने तर उनलाई अछुत मान्ने ? उनलाई ठिक लागेन । उनी भोज नखाएर जातीय विरोधको लडाइँ जितेकी थिइनन् तर जितको सुरुवात गरेकी थिइन् । यही कुरा सम्झेर उनी खुसी भइन् । उनी भोज नखाइ भोकै फर्किन् । छाप्रोमा आएर खाना पकाएर खाइन् ।
फागुन महिना थियो । अर्को हप्ता गाउँमा तीन जना थारू गिरहतहरूको घरबाट विवाहको लागि बाँसका सामानहरू बनाइदिने आदेश दिए । उनी यो पल्ट बिहेको लागि कुनै सामान नबनाउने निर्णय लिइन् । उनको एउटा शत्रु समाज थियो भने अर्को शत्रु भोक थियो । उनी पेट भर्न सामान बनाएर बेच्थिन् तर उनको भोक त्यति स्वार्थी थिएन । उनी भोकको लागि आफ्नो स्वाभिमान यो पल्ट बेच्न चाहिनन् । उनी कुनै सामान बनाइनन् ।
गाउँमा बिहे हुने घरका गिरहतहरू पटक पटक फूलाको आँगनमा सामान लिन आए तर उनले सामान बनाइनन् । आफ्नो सिपको सम्मान गाउँलेहरूले गरेको तर जातलाई घृणा गरेको उनलाई मन परेन । सिप सहितको जातीय सम्मान उनलाई चाहिएको थियो । होच्याउने, गिज्याउने र तँ तल्लो दलित जातको होस् भन्दा उनलाई नमीठो लाग्थ्यो ।
पटक पटक गिरहतहरू सामान लिन आए तर रित्तै हात फर्किए । अन्तिममा गाउँलेहरू सामान लिन आउनै छाडे । फूलादेखि गाउँलेहरू साह्रै रिसाए । गिरहतहरूले ठाने, भोक लागेपछि उनी हाम्रै घर जुठा भात माग्न अवश्य आउने छिन् । तर, अहँ ! उनी गाउँ जाने नामै लिइनन् । उनलाई पुरै गाउँका गिरहतहरूले गाली गरे । उनलाई केही फरक परेन । उनको यो एक्लैको लडाइँ थियो सिङ्गो समाजसँग ।
महिनौ बितिसकेको थियो । उनको घरमा खानेकुराहरू केही थिएन । खोरमा भएको एउटा सँुगर बेचिन् । सुँगुर बेचेको पैसाले दाल, चामल किनिन् । हेपिएर खान दिएको भोजभन्दा उनलाई मिहिनेतले कमाएको खाना इज्जतदार लाग्यो । उनी यो पल्ट कसैको विवाहको भोज खान नजाने निर्णय लिइन् । उनी गाउँमा विवाहको लागि सामानहरू नबनाएको र भोज खान नगएको खबर हावा बनेर छेउछाउको पाँच, सात गाउँको थारू टोल, मुसहर टोल, चमार टोल र दुसाध टोलमा फैलियो । फूलाको कुनै समाज थिएन । गमहैरिया, भोटिया टोल, पडरिया, मटिअर्वा, लक्षमैनिया, सिसौनी, जहदी, गमहैरीया गाउँमा एक एक घर डुमहरू थिए । सबै डुमहरूले फूलाको विरोधबारे चाल पाए ।
त्यसपछि अरु गाउँका डुमहरू पनि आआफ्नो गाउँमा फूला जस्तै भोज खान छाडे । गाउँमा सामान बेच्न छाडे । हटियाको दिन लहान हटियामा आफूहरूले बुनेको सामान बेच्न थाले । फूलाको साहास देखेर छिमेकी गाउँका डुम, दुसाध र चमारहरू फूलालाई भेट्न आए । फूलाको धेरै प्रशंसा गरे । उनीहरू सबैजना एक भए । फूलाले गरेको जातीय विरोधको लडाइँमा साथ दिन आफूहरू सबैजना तयार भएको फूलालाई बताए ।
जातीय विरोधमा उनीहरू ओर्ले तर कुनै आन्दोलन गरेनन् । उनीहरूको विरोध गोप्य थियो, शान्त थियो । बहस थिएन, प्रदर्शन थिएन । चर्काचर्की थिएन । उनीहरू पढेलेखेका थिएनन् तर समझदार थिए । उनीहरूलाई आत्मसम्मान चाहिएको थियो । आत्मसम्मानको लागि चर्काचर्की आन्दोलन नै गर्नुपर्छ भन्ने छैन । ठूला भनाउँदा जातको इशारामा नचलेर माथि शिर उठाइएका र आफूलाई ठूला जात ठान्नेहरूको स्वाभिमान तोड्न सकिन्छ । अनि बल्ल उनीहरूले आफ्नो उचाइ थाहा पाउँछन् ।
पहिला चमारहरू गाउँ गाउँमा मरेका गाई, भैँसी र गोरुहरू फाल्न जान्थे । मरेका जनावरहरू फालेवापत् उनीहरू धान, चामल पाउँथे तर फूलाको साहास देखेर मरेका गाई, गोरु र भैँसी नफाल्ने निर्णय चमारहरूले पनि लिए । आफूलाई पीडित र दलित भनाउँदा समुदायले साथ दिएको देखेर फूला धेरै खुसी भइन् । उनले असर्फीको भोजमा विरोध नगरेकी भए आज वरपरका गाउँका मुसहर, डोम, दुसाधमा विरोध गर्ने साहास आउने थिएन । उनीहरू आफूलाई चिन्न सक्ने थिएनन् ।
गाई, गोरु मर्दा फाल्न भनेर चमारहरूलाई गिरहतहरूले जति पटक बोलाए पनि उनीहरू गएनन् । अन्तिममा केही सिप नलागेर गिरहतहरहरूले मरेका गाई, गोरुहरू आफैँले फाल्न थाले । आखिरमा मरेका जनावर आफैँले फाले केही नहुने रहेछ । आकाश र धरती यथावत् नै रहने रहेछ ।
फूलाको हातको सिप खेर गएको थिएन । उनको शान्तिपूर्ण विरोधको कुरा सबैतिर फैलियो । उनी छाप्रोको छेउमा भएको पोखरीमा नुहाउन थालेकी छिन् । उनलाई नुहाएको देखेर गाउँलेहरू केही बोलेका छैनन् । वेलामौकामा बाँसका सामानहरू ढकिया, बेना, डलिया बुनेर हटियामा बेच्छिन् । उनको छोरो ठुलो हुँदै गएको छ ।
५ वर्षपछि थारू टोलका कैलाका बा बिते । बाको अन्त्येष्टिमा कैलाले परगना (२५ गाउँका गाउँलेलाई भोज खान बोलाउनु) गरे । परगनामा टाढा टाढाका पच्चिस गाउँका मानिसहरू उपस्थित थिए । परगनामा फूला, चमार, मुसहर र दुसाधहरूलाई पनि चुलै निम्तो दिएको थियो । सबैजना भोज खान गए । भोज खाएर उठेपछि खाएको जुठो पात उनीहरूले फालेनन् । बारीमा भएको कैलाको पम्पमा मुख थापेर उनीहरू आफैँ पानी पेलेर खाए । कैला र उनकी स्वास्नीले पनि देखे तर केही बोलेनन् ।
उनीहरू पालैपालो पम्पमा मुख थापेर पानी खाएको देखेर परगनामा उपस्थित पाहुनाहरूले भनिरहेका थिए, ‘आब सैब गामके डोम, दुसाध या मुसहरसब भोज खेलहा येठका पता नै फेकै छै । समय परिवर्तन भ्यागेल छै । सैब आद्मी बराबर छै कहैछै ।’ (सबै गाउँका डुम, मुसहर, दुसाधहरू गिरहतको घरमा भोज खाएर जुठो पात फाल्दैनन् । समय परिवर्तन भइसकेको छ । मान्छे सबै बराबर हुन् भन्छन् । )
पाहुनाहरूले बोलेको कुरा फूलाले सुनिन् । केही बोलिनन् । उनको अनुहार उज्यालो थियो । उनको अनुहारमा विजयीभाव थियो । अनुहारमा मन्द मुस्कान थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको