‘महाभारा’ : प्रेम, युद्ध र संस्कृतिको बहुआयामिक प्रयोग
२०६०/६१ सालको दसैँको कुरा हो । इटहरी चोकबाट करिब १० किलोमिटर पूर्व–दक्षिणमा मिर्गौलिया भन्ने ठाउँमा म मेरो ठुलो बुवाहरूको घरमा टीका लगाउन गएको थिएँ । संयोगले बास त्यहीँ बसियो । छिमेकीको घरमा पाहुना आए । कुरै कुरामा त्यस घरको छोरो मेरो साथीले भन्यो, “उहाँहरू मामा माइजू” । म छक्क परेँ ।
हाम्रोमा मामा माइजू नवरात्री सुरु भएदेखि कुटुम्बको घर भन्दै नआउने चलन थियो । बुझ्दै जाँदा ती माओवादी कार्यकर्ता रहेछन् । त्यस दिन रक्सी खाएका गाउँलेहरूलाई उनीहरूले गाली गरे । केहीलाई एक दुई झापड हानेर तर्साएको सम्म मलाई याद छ । माओवादी द्वन्द्वकालमा तुलनात्मक रूपमा सुरक्षित मानिएको इटहरी बसाइँले होला, माओवादीको जनकारबाहीबारे प्रत्यक्ष भोगाइ त्यहीँ रह्यो । त्यसको करिब १७–१८ वर्षपछि माओवादी द्वन्द्वका बीचको कथा समेटिएको वसन्त बस्नेतले लेखेको उपन्यास ‘महाभारा’ हात लाग्यो ।
महाभाराको ट्रक लिएर वसन्त बस्नेत र अजित बराल इटहरी आएकै दिन महाभारा मेरो घर आएको थियो । घरमा पढ्ने पालो छिटो आएन वा पढिहाल्ने अनुकूल भएन । पढ्न चाहिँ मैले अलिक ढिला गरी पढेँ ।
हुन त द्वन्द्वकालीन समयका बारे धेरै किताब लेखिए । चलचित्रहरू समेत बनाइयो । यद्यपि पूर्वी पहाड समेटिएको र आफैँ पुगे जस्तो भान गराउने पुस्तकको सूचीमा महाभारालाई राख्दा बढी मूल्याङ्कन गरेजस्तो पक्कै हुने छैन । किताबको अन्तिम पानामा लेखिएको छ, “सटिक राजनीतिक विश्लेषण र मिठासपूर्ण भाषाका लागि चिनिएका पत्रकार हुन्, वसन्त बस्नेत” । वास्तवमै मिठासपूर्ण ढङ्गले बस्नेतले गजबको उपन्यास तयार गरेका छन् ‘महाभारा’ ।
राजदरबार हत्याकाण्ड भएको भोलिपल्टदेखिको घटनाक्रमबाट सुरु हुने यो उपन्यास मूलतः एक प्रेम कथा हो भन्दा अत्युक्ति हुँदैन । उपन्यास माओवादी द्वन्द्वबीचमा पहाडको वस्तुस्थिति कस्तो थियो भन्ने दृष्टिकोणबाट लेखिएको छ । माओवादी आन्दोलनलाई आधार बनाएर तत्कालीन समाज, प्रेम, युद्ध र समाजभित्रका बहुआयामिक कुरा बारेमा लेखक सशक्त रूपमा प्रस्तुत भएको उपन्यासको ३८८ पेज पढिसकेपछि महसुस हुन्छ ।
कवि सुरज सुवेदीको गजब कविता पहिलो पानामा राखिएको उपन्यासको कथा भने यस्तो छ । डुक्पा पूर्वी पहाडको लिम्बू बस्तीमा हुर्की बढेको एक तामाङ केटो हो, जसकि आमा छैन । रमाइलो गरिरहनुपर्ने डुक्पा एक लिम्बू युवती सुक्मतीको प्रेममा पर्छ । पढाइ राम्रोसँग गर्न नसकेपछि पहाड छोड्छ । पहाडमा कुदेको ट्रक देखेर प्रभावित भएको डुक्पा मधेस झरेर ड्राइभर बन्छ । संयोगले डुक्पा माओवादी आन्दोलनमा प्रवेश गर्छ । माओवादी बनेको डुक्पा जनकारबाहीको हिस्सा बन्छ । दोहोरो झडपमा पर्छ । झडपबाट उम्केको डुक्पा मधेस झर्छ । माओवादी आन्दोलन छोड्ने निर्णय गर्छ ।
उता सामान्य जनजीवनबाट धार्मिक गुरु र आश्रमको सेवाको लागेको सुक्मतीसमेत त्यहाँको काम गराइमा चित्त नबुझाएर पुनः सामान्य जीवनमा फर्कन्छे । अन्त्यमा डुक्पा र सुक्मतीको प्रेमले स्थायित्व ग्रहण गर्छ । सधैँ एक हुने गरी दुवैले आफूले चाहेको प्रेमीप्रेमिका भेट्छन् । यसरी सुखद रूपमा उपन्यास सकिन्छ । एकोहोरो रूपमा भनिए पनि उपन्यासमा भने धेरै उपकथा छन् ।
उपन्यासकारले तत्कालीन समयको मानिसको जीवनशैलीका कथाको गजबले वर्णन गरेका छन् । भारतीय रेडियोहरूको पूर्वी पहाडहरूमा पारेको प्रभावको बारेमा कुरा गर्छन् । एक पात्रमार्फत् उनी उपन्यासको दोस्रो पेजमा नेपाली रेडियो नबजेको बेला भन्छन्, “त्यै भएर म अलइन्डिया र खरसाङ रेडियो मात्र सुन्छु” ।
उपन्यासले मायाका भाका मीठो गरी भन्छ । सुक्मती पर्खने अनि डुक्पा ढिलो आउने हुँदा उपन्यासकार भन्छन्, “मायामा हुने यस्तै हो । एउटाले ढिलो जाने पर्छ । अर्कोले पर्खिने पर्छ । पर्खिनेले रिसौनै पर्छ । ढिलो हुनेले फकाउनै पर्छ । अनि पो माया चखिलो हुन्छ ।”
अन्तर्राष्ट्रिय संस्थाहरूमा धनी र ठूला देशहरूको प्रभावको बारेमा एउटा लाइनमार्फत बस्नेत यसो भन्छन्, “बेलायत–अम्रिकाहरूले बोलेपछि संयुक्त राष्ट्रसङ्घले मान्नै पर्यो” ।
उपन्यासकारले पुस्तकमा धर्मबाट विश्व कहीँ कतै आतङ्कित भएको कुरासमेत बुझाउँछन् । उनी भन्छन्, “क्रिस्चियन शासकहरूले संसारमा ठूलो धर्मयुद्धहरू गराएको छ । गोराहरूले यसैको नाममा अफ्रिकादेखि ल्याटिन अमेरिकासम्म, एसियादेखि अन्यत्रसम्म उपनिवेश लादे, मानिसहरूको हातमा बाइबल थमाए र बाँकी सबैथोक लुटेर आफ्नो बनाए । राजनीतिबाट धर्मलाई अलग नराख्ने हो भने जुनसुकै धर्मले पनि मौका पाएमा यसै गर्ने हो । म्यान्मार र श्रीलङ्कामा बुद्धको नाममा आतङ्क छ । क्रिस्चियनले त सिङ्गै अफ्रिका खायो । मुसलमानहरूले अरब राष्ट्रहरूले अर्को आतङ्कको राज्य खडा गरेका छन् ।”
उपन्यासकारले गजब तरिकाले ठट्टा मजाक प्रस्तुत गरेका छन् । एक संवादमा उनी भन्छन्– “हैन यो बाउलाई संस्कृत सबै आउँछ हो ?” अनि अर्काले थप्छ, “होइन बाउ भएपछि संस्कृत आउँछ” । बाको बारेमा गरेको अर्को ठट्टाले पाठकलाई लामै हँसाउन सक्छ, “बाउले पढेन भने बाउले नै दुःख पाउने रै’छ । बाउले पढ्यो भने चाहिँ छोराले” । डुक्पाले बोलिरहने थेगो ‘ओके छ त’ले संवादहरूमा नलेखिएको मुस्कान पाठकको ओठमा हरेक पल्ट ल्याइ पुर्याउँछ । उपन्यास पढिसक्दा पाठकको थेगो नि त्यही हुन सक्छ ।
किताबले जीवनका दर्शनहरूको बारेमा समेत कुरा गर्छ । “मन स्थिर राख्न सक्नु ठूलो कुरा हो । जिउ त त्यसपछि जति पनि अड्याउन सकिन्छ । मनै अडिएन भने चाहिँ जिउ अन्तै जान खोज्छ । दिमाग चट्किन थाल्छ । आत्मा भड्किन थाल्छ ।’ सुक्मती खोज्दै हिँडेको डुक्पा देखाएको प्रसंग उल्लेख छ, “आशाका कतिवटा खुट्टा हुँदा हुन्, जसमा टेकेर मानिस नित्य हिँड्छ, हिँडिबस्छ !”
यसरी उपन्यासमा बस्नेत खरो उत्रेका छन् । यद्यपि कतै कतै भने तत्कालीन समय र घटनाको सामजस्यता देखाउने सवालमा चुकेका अनुभूति कतै कतै हुन्छ । एक पात्रकी छोरीले त्यतिबेला नै मिस पूर्वाञ्चलमा भाग लिएको कुरा गर्छन् । जबकी मिस पूर्वाञ्चल पहिलो पल्ट २०६७ चैतमा मात्रै भएको भेटिन्छ । त्यस्तै डुक्पा र साथीहरू चारआलीबाट सेकुवा खान धरान बाँझोगरा गएको कुरा गर्छन् । जुन बाँझोगरा त्यतिबेला प्रचलित नै थिएन । पछि माओवादी आन्दोलन सेलाएपछि रात्रि जीवन सहज हुन थालेपछि मात्र त्यो ठाउँ प्रचलित भएको हो ।
उपन्यासकार एकपात्र दमकमा इन्टरनेटमा फिल्म हेर्ने डाउनलोड गर्ने कुरा गर्छन् । ५० को दशक र ६० को दशकको सुरुवाती वर्षहरूमा इन्टरनेटको गति त्यो अनुरूपको थिएन । ६० को दशकको सुरुवाती समयमा म आफै विराटनगरको कुनै कलेजमा प्रविधिको विद्यार्थी भएका यसो भन्न सक्छु ।
किताब पढुन्जेल पाठकले खोज्ने अर्को एउटा कुरा भने माओवादी आन्दोलनले गाउँ गाउँमा पुर्याएको राजनीतिक सचेतनाको उल्लेख हो । गाउँका जनतामा राजनीतिक जागरुकता पुर्याउन माओवादी आन्दोलनले गरेको भूमिका हामी नकार्न सक्दैनौँ । यो कुरालाई उपन्यासमा प्रस्तुत गरिएको छैन । कुनै पात्रमार्फत यी कुरा उपन्यासमा आएको भए उपन्यास अझै उत्कृष्ट हुन्थ्यो । माओवादी आन्दोलनका केही कमजोरीका बारेमा पुस्तकमा भेटिन्छ । पुस्तकमा डुक्पाका दाइ ध्यासिंह पात्रमार्फत समाज, राजनीति, राजनीतिक दलहरूका नाराम्रा कुराहरूबारे भने बोलिरहन्छन् । उपन्यासमा मिन्ग्सो भन्ने एक धार्मिक नेता छन् । उनका वरिपरि उपन्यासकार निकै घुम्छ । यतिबेला पाठकलाई डुक्पा र सुक्मतीको भेट छिटो गराए पनि हुने जस्तो लाग्न सक्छ ।
धार्मिक क्षेत्र लारुम्बा वर्णनले माओवादीहरूको राज्यसँग मात्र होइन । अनेकन प्रतिकार समूह साथै विभिन्न धार्मिक सङ्गठनहरूसँग पनि द्वन्द्व थियो भनेर लेखक पुष्टि गर्छन् । त्यही धर्मले मानिसलाई कसरी प्रभावमा अन्धभक्त पारेर राखेको छ भन्ने बुझिन्छ । यद्यपि नेपाली समाजको विषयलाई अनेकन कोण उपन्यासमा पस्केका छन् । यसमा राखिएका लिम्बू संस्कृतिका पालमहरू मुख्य आकर्षणहरू हुन् । यसले पाठकमा नयाँ स्वाद दिन्छ ।
यसमा संवादको तरिका पनि गजब छ । छोटा, राम्रा संवादले पाठकलाई कुनै अध्ययनका क्रममा अल्छी र पट्यार लाग्न दिँदैन । अन्त्यमा भन्नुपर्दा यो वर्ष प्रकाशित उपन्यासहरूको सूचीमा वसन्त बस्नेतको योे ‘महाभारा’ पढ्नुपर्ने सूचीमा राख्नैपर्ने उपन्यास हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार