मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

‘विप्लव’लाई खुल्ला पत्र

शनिबार, १७ वैशाख २०७९, ०९ : ५४
शनिबार, १७ वैशाख २०७९

आदरणीय महासचिव कमरेड विप्लव 

पार्टीको पछिल्लो अवस्थाले गम्भीर बनाएपछि केही सुझाव दिन जरुरी ठानेँ । पार्टी यतिबेला इतिहासकै गम्भीर र सङ्कटपूर्ण मोडमा आइपुगेको छ । रक्तरञ्जित इतिहास बोकेको पार्टी सङ्कटमा पुग्नुले आज सहिद परिवार, घाइते र सबै क्रान्तिकारी, देशभक्त, मुक्तिकामीहरुलाई चिन्तित बनाएको छ । यसतर्फ थप गम्भीर बन्नैपर्छ ।

यो पार्टी सबै नेता, कार्यकर्ता, शुभेच्छुक र आम श्रमिक वर्गको सामूहिक एवं सङ्घर्षपूर्ण मेहनतको उपज हो । प्रतिक्रान्तिले पैदा गरेको भयानक निराशाको तुवाँलो चिर्दै र पाइला पाइलामा अनेकन् प्रश्नहरूसँग ठोक्किँदै यो पार्टी निर्माण गरिएको हो । यो पार्टीलाई यहाँसम्म ल्याइ पुर्याउन महासचिवको नेतृत्वमा केन्द्रीय नेताहरू, सिङ्गो पार्टीपंक्ति, आम देशभक्त, क्रान्तिकारीहरु र मित्रहरू सबैको महत्त्वपूर्ण भूमिका रहेको छ ।  यस प्रक्रियामा पार्टीबाट विभिन्न समयमा विभिन्न कारणले बाहिरिनु भएका कमरेडहरुको पनि महत्त्वपूर्ण योगदान रहेको छ ।

यसरी सबैको योगदानको उपलब्धिको रूपमा आज पार्टी राष्ट्रिय राजनीतिमा एउटा वैकल्पिक शक्तिको रूपमा स्थापित भएको हो । क्रान्तिप्रतिको निराशालाई चिर्दै देशलाई क्रान्तिमा भविष्य देख्ने ठाउँमा ल्याइ पुर्‍याएको हो । क्रान्तिप्रति नयाँ आशा र विश्वास जगाउँदै क्रान्तिको झण्डालाई अघि बढाउन सफल भएको हो । यस अर्थमा क्रान्तिकारी आन्दोलनमा सबैको योगदानलाई सुनिश्चित गर्ने कुराको धेरै ठूलो महत्त्व हुने गर्छ । आन्दोलनमा सबैको योगदानलाई सुनिश्चित गर्न साझा अपनत्वको बोध गराउने गरी योगदानको समुचित मूल्याङ्कनको मापदण्ड स्थापित गरिनुपर्छ ।

पछिल्लो समय पार्टीले एमसीसी बिरोधी संघर्षमा लिएको पहलबाट पार्टी नयाँ उचाइमा स्थापित हुन पुगेको थियो । अनि मित्र शक्तिहरू, देशभक्तहरु र स्वाभिमानी नेपाली नागरिकहरूले हामीतिर भरोसाको नजरले हेर्ने स्थिति बनेको थियो । यस हिसाबले पार्टीको दायित्व फराकिलो भएको थियो । र, पार्टी र नेतृत्वको काँधमा इतिहासले एक्काइसौं शदीको क्रान्तिको एउटा अपूर्व अवसर र जिम्मेवारी सुम्पिदिएको आभास हुन्थ्यो ।

तर बिडम्बना, आठौं केन्द्रीय समितिको बाह्रौं बैठकसम्म पुग्दा पार्टीमा जुन स्थिति पैदा भयो, यो गम्भीर चिन्ताको विषय बनेको छ । यतिखेर पार्टी विघटनको संघारमा छ । सैद्धान्तिक वैचारिक रुपले हेर्दा पार्टीमा आधारभूत मतभेद देखिँदैन । कार्यदिशामा फरक मत देखिँदैन । तात्कालिक कार्यनीतिको एउटा स्टेपलाई लिएर ठूलै बबण्डर मच्चाइएको छ । र, यसकै कारण पार्टी जीवनलाई अस्तव्यस्त पारिदैछ । नेतृत्वका विरुद्ध सार्वजनिक सञ्चारमाध्यम र पार्टीपंक्तिमा चरित्रहत्या स्तरका टिप्पणी गर्दै आफ्नै घरमा आगो झोस्ने होडबाजी चलाइएको छ । आखिर यो सब के का लागि गरिदैछ ? यसले कसको सेवा गर्दैछ ?

यो सबै दृश्यले क्रान्तिको चित्र धुमिल पार्नेबाहेक अरु केही गर्दैन । नेताहरूले आफूलाई होइन, क्रान्तिको अभिभारालाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक सोच्न जरुरी छ । यतिबेला पार्टी विघटन भयो भने क्रान्तिको गति अबरुद्ध मात्र हुने छैन, पछि फर्किने खतरा छ । देशलाई दलाल शासकहरुले अँध्यारो सुरुङतिर जाकिरहेको यो सम्वेदनशील घडीमा क्रान्तिकारी पार्टीलाई विघटनको हालतमा पुर्याउने कुनैपनि नेता कार्यकर्ता दलाल शासकहरुकै मतियार हुन्छ । त्यसैले सबै नेता कार्यकर्ता गम्भीर बनौँ । दायित्वबोध र जिम्मेवारीको हिसाबले कमरेड महासचिव अझ बढी गम्भीर बन्न जरुरी छ ।

पार्टी विघटन हुँदा वा क्रान्ति अलपत्र पर्दा व्यक्तिगत रुपले सबैभन्दा ठूलो क्षति कमरेड महासचिवले नै बेहोर्नु पर्नेछ । किनकि उपलब्धि र क्षतिको प्रमुख हकदार पार्टी प्रमुख नै हुने हो । वास्तवमा महासचिव कमरेडले क्रान्तिको नेतृत्व गर्ने जुन अवसर प्राप्त गर्नु भएको छ र सबै क्रान्तिकारीहरूको आशा र भरोसाको केन्द्र बन्न पुग्नु भएको छ, यो सामान्य कुरा होइन । सबैलाई यस्तो अवसर प्राप्त हुँदैन । यो कुराको मर्मबोध महासचिवले कसरी गर्नुभएको छ, थाहा छैन । तर, यसको सही ढंगले मर्मबोध गर्न सक्नुभएन भने इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्ने ऐतिहासिक अवसर गुमाउनु हुनेछ ।

त्यसैले पार्टीलाई विघटनबाट जोगाउन सबैले आआफ्नो ठाउँमा पहल गरौँ । कमरेड कन्चन र कमरेड सुदर्शनसँग महासचिव लगायत पाँचै जना बसेर गम्भीर छलफल गरी एउटा बिधिमा वहस चलाउन सकिन्छ । समानान्तर गतिविधि र संरचनातिर नजाने गरी विचार अभिव्यक्तिमा स्वतन्त्रता र काम कारबाहीमा एकरुपताको नीति अपनाउन सकिन्छ । अहिलेलाई भएका कमीकमजोरीमा समीक्षा र आत्मालोचना गर्ने र दुईजना कमरेडमाथिको कार्वाही फिर्ता लिएर एकताबद्ध हुने आधारको खोजी गर्दै अघि बढ्ने स्पिरिट कायम गर्नु नै उपयुक्त हुन्छ । यसको लागि महासचिव कमरेडले पहलकदमी लिनुपर्छ । 

यति गर्दा पनि पार्टीलाई ध्वंश गर्नकै लागि कोही कसैले जाने हतारै गर्छ वा कोही कसैले छिटै गइदिए हुन्थ्यो भनेर भुत्भुताउँछ भने तिनलाई अरु नै भनेर बुझ्नैपर्ने हुन्छ । भनाइ नै छ, ‘उपकारी गुनी ब्यक्ति निहुँरिन्छ निरन्तर, फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र ।’

लेखक विप्लव नेतृत्वको नेकपामा आवद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खम्बु चन्द
खम्बु चन्द
लेखकबाट थप