ad
x
सन्दर्भ : मातातीर्थ औँसी

‘एक पटक सौतेनी आमा बन्न मन छ’

‘आमा’ चलचित्रकी अभिनेत्री भुवन चन्दसँग संवाद

person explore access_timeबैशाख १७, २०७९ chat_bubble_outline0

आज मातातीर्थ औँसी, आआफ्ना आमाको सम्झना गर्ने र मुख हेर्ने दिन । आमा शब्द आफैँमा सम्मानित छ । किनकि यो संसार आमाकै सिर्जना हो, आमाबिना सृष्टि नै सम्भव छैन । आमाका दृष्टिमा हरेक सन्तान समान छन् । आमाबाटै पालित, पोषित र संरक्षित छन् । यही सन्दर्भ पारेर ‘आमा’ चलचित्रकी अभिनेत्री भुवन चन्दसँग शिखर मोहनले गरेको कुराकानी :  


आमालाई कुन रूपमा लिनु हुन्छ ?
आमा भनेको पृथ्वी हो । संसारको सबैभन्दा अमूल्य चिज हो । आमाको भूमिका अथाह छ । आमा पृथ्वी भएकाले उनमा जे पनि सहने शक्ति छ । संसारमा सबैभन्दा बढी भूमिका आमाकै हुन्छ ।उनको भूमिकालाई सीमित गर्न सकिन्नँ । 



मेरी आमालाई म धेरै नै माया गर्थेँ । म उहाँकी एक्ली छोरी । ११/१२ वर्षकी हुँदादेखि नै कमाएर आमालाई सहयोग गर्न थालेकी हुँ । आमाप्रति मेरो अथाह माया छ । संसारका हरेक प्राणीका लागि आमाको भन्दा ठूलो भूमिका अरू कोहीको छैन । 





कहिलेकाहीँ छोराछोरीले गल्ती गर्दा आमासँग झगडा पर्छ । मैले पनि गरेँ होला तर आमालाई नराम्रो वचन लगाइनँ । आमाले पनि भन्नुभएन । तर कहिलेकाहीँ गल्ती गर्दा आमाले नकुटे कल्ले कुट्छ त ? 



–आफैँ आमा बनेपछि आमाप्रतिको धारणा कस्तो भयो ?



आफैँ आमा बनेपछि आमाको महत्त्व झन् बढ्दै गयो । ९/१० महिनासम्म आफ्नो कोखमा राखेर जन्माउन कति गाह्रो हुन्छ भन्ने भोगियो । त्यसपछि पनि बालबच्चालाई हुर्काउन झन् गाह्रो रहेछ । मर्छन् कि भन्ने डर पनि हुन्थ्यो । त्यो देखेपछि आमाप्रतिको श्रद्धा झन् बढेर गयो । 



–रियल जीवनमा आमाको भूमिका निर्वाह गर्न कतिको गाह्रो भयो ?



म कलाकार मान्छे, कहिले सुटिङमा जानुपथ्र्यो तर बच्चाहरू मलाई माया ममता दिइरहन्थे । बच्चाका लागि खानपानको सबै व्यवस्था मिलाएर सुटिङमा जान्थेँ । त्यसपछि घरमा आएर स्याहार्थें । श्रीमानले पनि धेरै सहयोग गर्नुभयो, उहाँले पनि माया गर्नुहुन्थ्यो । 

काममा जाँदा काममै धेरै ध्यान जान्थ्यो तर फुर्सद हुँदा बच्चाको याद आइहाल्थ्यो । आमाबाउ भन्ने कुरा धेरै ठूलो हो । जीवनमा बुवाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । मेरो श्रीमानले बच्चाको धेरै ख्याल गर्ने हुनाले काममा जाँदा त्यति धेरै चिन्ता गर्नु परेन । त्यतिबेला ३/४ वर्ष लगाएर चलचित्र निर्माण हुन्थे । त्यति धेरै व्यस्त पनि हुँदैन थिएँ । समय पुग्थ्यो । 

–सन्तान बढ्दै जाँदा मायामा केही परिवर्तन आउँछ त ?

धेरै सन्तान हुँदैमा मायामा फरक आउँदैन । ठूली छोरीलाई धेरै, सानीलाई थोरै भन्ने हुँदैन । छोराछोरीलाई माया भन्ने एकै हुन्छ, फरक हुँदैन । 

–सन्तानका लागि आमाको भूमिका चाहिँ कुन कुन कुरामा महत्त्वपूर्ण हुन्छ ?

जन्माउँदादेखि मरुन्जेलसम्म पनि आमाले छोराछोरीका लागि काम गरिरहेका हुन्छन् । मेरा छोरीहरू बाहिर छन् तर बिहानै उठेर पहिले मलाई फोन गर्छन् । प्रविधिले गर्दा अनुहार देखिन्छ । एक दिन उनीहरूको फोन आएन भने मनमा कस्तो कस्तो लाग्छ । के खाए, के लगाए भन्ने भइरहन्छ । अहिलेसम्म त्यस्तै हुन्छ । 

–आमाका चिन्ताका विषयहरू चाहिँ के के हुन्छन् ?

छोराछोरीको स्वास्थ्यको सबैभन्दा बढी चिन्ता हुन्छ । स्वास्थ्य राम्रो भयो भने काम पनि राम्रो गर्न सक्छन् । अझै पनि यस्तो उस्तो नखाऊ, चिसोमा नहिँड भन्न मन लागिरहन्छ । 

अहिलेको परिवेशमा मान्छेहरूले आमाको मुख हेर्ने दिन मात्र विशेष गरी सम्झन्छन् । आमालाई मन परेको चिजसँगै मिठाई लगेर दिन्छन् । तर धेरैजसो आमालाई रोग लागेको हुन्छ । सुगर नभएका त कमै मात्र छन् । यस्तो अवस्थामा स्वास्थ्यको ख्याल गरेर आमालाई मिठाईको सट्टा फलफूल दिनुपर्छ । 

–बुढेसकालमा आमालाई हेला गरेका, वृद्धाश्रममा  लगेका समाचार पनि आउँछन् नि ?

यो सुनेको मात्र होइन, देखेकी पनि छु । यो चाहिँ साह्रै विडम्वना हो, यस्तो गर्नु नहुने हो । छोराछोरी डाक्टर, इन्जिनियर हुन्छन् । धेरै कमाउँछन् । तैपनि किन हो लगेर आमालाई अनाथालयमा, आश्रममा राख्ने गर्छन् । यो धेरै नराम्रो काम हो । 

इन्जिनियर, डाक्टर छोराहरु मिलेर आमालाई स्याहार गर्ने राम्रो किसिमको मान्छे घरमा राखे भइहाल्छ नि । हामीलाई पनि हाम्रो बच्चाहरूले मिलेर काम गर्ने मान्छे राखिदिएका छन् । जसरी आमाबुबाले बच्चा जन्मँदा स्याहार सुसार गरेर राख्छन्, त्यसै गरेर आमाबुबालाई राख्नुपर्छ । 

–छोराछोरीको विवाहपछि आमा र छोराछोरीबीच कुरा मिल्दैन भन्छन् नि ?

यो जमानाअनुसार फरक फरक छ । तर त्यसलाई पनि मिलाएर गर्न सकिन्छ । छोराछोरीको आफ्नो परिवारको व्यवहार आफ्नो तरिकाले गर, हामीलाई आफ्नो तरिकाले खान देऊ भन्नुपर्छ । 

आजभोलिका विवाह गरेर ल्याएका केटीहरू आफिसमा काम गरिरहेका हुन्छन् । पहिले पहिलेका बुहारीहरू घरधन्दामा मात्र हुन्थे । सासूको कचकच हुन्थ्यो । अब अहिले सासू, बुहारी, छोरा नै काम गरिरहेका हुन्छन् । जमाना अनुसारले चल्नुपर्छ । यो कुरा मिलाउन सक्नुपर्छ, त्यो आफूमा पनि भर पर्छ । 

बुहारीले पनि आमा देख्न सक्नुपर्‍यो, छोरीले पनि सासूलाई आमा देख्न सक्नु पर्‍यो । सबैभन्दा बढी छोराले मिलाउनु पर्‍यो । सबैले बुहारीलाई दोष दिन्छन्, तर त्यो छोराको पनि दोष हो । 

बुबाआमालाई अन्तिममा हेर्ने ९९ प्रतिशत छोरीहरू देखेकी छु । कुनै स्वार्थ हो या के हो, छोरीले चाहिँ जे जे गरे पनि आमालाई माया गरेको देखिएको छ । छोराले चाहिँ कम गरेजस्तो लाग्ने । सँगसँगै भएर हो कि । तर आमाका लागि छोराछोरी समान हुन्, बराबर माया लाग्छ । तर देख्नमा चाहिँ छोराले यसो गर्‍यो, त्यसो गर्‍यो भन्ने सुन्नमा आउँछ । 

–आमालाई खुसी राख्ने तरिका के के छन् ?

बुढेसकाल लागेपछि नराम्रो बचन नबोलौँ । मीठो पीठो जस्तो भए पनि खान पाऔँ । राम्रो वचनले खान दिऔँ । अचेल बूढाबूढीहरूलाई राम्रो वचन भए पुग्छ क्या । धेरै खान पनि भएन, रुच्दा पनि रुच्दैन । राम्रो वचनले हैसियतअनुसार खान दिए पुगिहाल्यो । आमालाई धेरै चाहिँदैन । पैसाभन्दा पनि माया र साथ खोज्छन् । आमाले सुन, चाँदी, हीरा, मोती केही खोज्दैनन् । 

–तपाईंले कति चलचित्रमा आमाको भूमिकामा खेल्नुभयो ? 

दुईवटा चलचित्रमा चाहिँ मैले लिडिङ रोल गरेँ– ‘आमा’ र ‘हिजो आज भोलि’मा । पछि बन्ने चलचित्रमा दिदी, फुपूको भूमिका निभाएँ । त्यसपछि आमा, फुपूको भूमिका अहिलेसम्म निभाउँदैछु । तर लिडिङ रोल छैन ।

छुच्ची आमाको भूमिका खेलेकी छैन । अहिलेसम्म पोजेटिभ नै भूमिका खेलेकी छु । सौतेनी आमाको भूमिका पनि खेलेकी छैन । तर अहिले मलाई सौतेनी आमाको भूमिकामा चलचित्रमा खेल्न मन लागेको छ । हाम्रो समाजमा सौतेनी आमालाई नराम्रो विम्ब बनाइएको छ । तर सबै सौतेनी आमा नराम्रा हुँदैनन्, धेरैका घरमा मैले आमाले भन्दा सौतेनी आमाले बच्चालाई राम्रो गरेको देखेकी छु । ती कुरा देखाएर एउटा चलचित्रमा खेल्न मन लागेको छ । सौतेनी आमा भए पनि पोजेटिभ रोल भएको, कसैले अफर गरे भने गर्छु । 

–१६ वर्षकै उमेरमा आमा चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएको हो ? 

लिडिङ रोलमा खेलेकी थिएँ । यो भूमिकामा पुग्न निर्देशकले मेरो अन्तरवार्ता, अडिसन लिएर दिएका थिए ।  तर त्यो बेला म स्टेज आर्टिस्ट थिएँ । त्योभन्दा पहिले मैले धेरै नाटकमा लिडिङ रोल खेलेकी थिएँ । अरू केटीहरू कोही थिएनन् । म आएपछि चाहिँ अरूहरू आए । लिडिङ रोल खेलेकी, अलिकति राम्री पनि थिएँ । त्यही भएर अडिसन लिएर पास गरेर मलाई लिइएको हो । 

–त्यसमा आमाको भूमिका चाहिँ थियो कि थिएन तपाईंको ? 

आमा भूमिकामा चाहिँ चैत्यदेवीले गरेकी हुन् । मैले पहिलो पटक भूमिका गरेको चलचित्र अहिले बिर्सिएँ । तर अहिलेसम्म पोजेटिभ भूमिका नै खेलेको छु । आमाको भूमिका हुँदा चलचित्र निर्माणका क्रममा सहज नै हुन्थ्यो । तरुनी देखाउँदा त्यही किसिमको मेकअप गर्नुपर्थ्यो, बूढी देखाउँदा पनि मेकअपले नै बूढी देखाउने हो । त्यस्तो केही अप्ठ्यारो पर्दैन थियो । आमाको संवाद दिन्छन्, सोहीअनुसार बोल्दा भयो । 

आमा भन्ने शब्द नै सम्मानित शब्द भएकाले निर्माणका क्रममा त्यस्तै खालको वातावरण पनि हुन्थ्यो । कथाअनुसारको अभिनय गरिन्छ । नाटक र चलचित्रमा पनि राम्रै किसिमले हेर्छन् । सुरु सुरुमा धेरै नाटकमा नायिकाको रोल गरेँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।