शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठुला विमानका लागि कति उपयुक्त ?

रनवेमा २० मिनेटसम्म यसकारण रोकियो वाइडबडी विमान
शुक्रबार, १६ वैशाख २०७९, २२ : ३५
शुक्रबार, १६ वैशाख २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेको छ भने व्यावसायिक उडानको तयारी लगभग पूरा भइसकेको छ ।

बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान उक्त विमानस्थलमा अवतरण गर्दा झन्डै २० मिनेट रनवेमै रोकिएपछि भने धेरैको मनमा यो विमानस्थल ठुला विमानका लागि उपयुक्त नभएको हो कि भन्ने आशंका उब्जिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सचिव तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतको टोली सवार विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा लामो समय रोकिनु सामान्य विषय नभएको आम बुझाइ छ । विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहाल भने विमानस्थलमा कुनै समस्या नरहेको र ठुला विमानका लागि पनि रनवे तथा अन्य प्राविधिक पक्ष उपयुक्त तथा दुरुस्त रहेको बताउँछन् ।

उनका अनुसार नयाँ रनवे छाडेर वाइडबडी विमान पुरानो रनवेतिर गएपछि सामान्य प्राविधिक समस्या भएको हो । पुरानो रनवेलाई अहिले ट्याक्सी वे बनाइएको उनले बताए । समुचित ‘कम्युनिकेसन’ को अभावमा पाइलटले पुरानो रनवेतिर विमानलाई लगेका कारण घुमाउन समस्या भएपछि विमान केहीबेर रनवेमै रोकिएको विमानस्थल प्रशासनको भनाइ छ ।

सो विमानस्थलको विभिन्न परीक्षण सफल भएकाले अब व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि खुला भएको पनि प्रशासन पक्षले जनाएको छ । बिहीबार नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेसँगै सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सो विमान बिहीबार दिउँसो तीन बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्ने भनिए झन्डै तीन घण्टा ढिलो गरी साँझ ५ः५५ बजेमात्र अवतरण गरेको थियो ।

वाइडबडीको चालक दलमा क्याप्टेन सुधीर तोमार र श्रवण रिजाल, को–पाइलट रमन घिमिरे थिए । सो विमान बिहीबार राति नै काठमाडौं फर्किएको थियो । विमानस्थल प्रमुख दाहालले अगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरिने जनाए । त्यसदिन कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति लिइसकेको उनले रातोपाटीलाई बताए ।

विमानस्थलमा सुरक्षा, अध्यागमन, भन्सार लगायत सबै पूर्वाधार तथा प्राविधिक पक्षको तयारी तथा व्यवस्थापन सम्पन्न भइसकेको जनाइएको छ । उक्त विमानस्थलमा गत फागुन ६ गते एरो थाईको विमानले क्यालीब्रेसन उडान गरेको थियो । यही वैशाख ७ गतेदेखि विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । दाहालका अनुसार नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फ्लाइ दुबई, थाइ स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायतका वायुसेवा कम्पनीले उडान भर्न चासो देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप