काँग्रेसको चुनावी गीत सार्वजनिक गर्दै महामन्त्री शर्माले राखे सात प्रस्ताव
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक संघले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो ।
काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महामन्त्री विश्वप्रकाश शर्माले गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति अनुरुप बनाउन सात प्रस्ताव अगाडि सारेका थिए । उनले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनु पर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने, जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वाभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले निर्वाचनपछि पनि सबैले मिलेर नेपाली समाजको सुधार र विकासको लागि गर्नुपर्ने थुप्रै काम रहेको बताए । उनले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुतको अन्त्य र स्वदेशमा रोजगारीको सवाल निकै समवेदनशील रहेको बताए । कार्यक्रममा काँग्रेसका नेता गुरु घिमिरेले गीत र संगीतले सबैलाई मुग्ध बनाउने भएकाले नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले चुनावी गीत ल्याएर प्रशंसनीय कार्य गरेको बताए । उनले काँग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलहरुमा लोकतन्त्र र लोकतान्त्रिक आचरणको कमी भएकोले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गरे ।
नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमालले पनि आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो