बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको चुनावी गीत सार्वजनिक गर्दै महामन्त्री शर्माले राखे सात प्रस्ताव

शुक्रबार, १६ वैशाख २०७९, २० : ३७
शुक्रबार, १६ वैशाख २०७९

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक संघले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महामन्त्री विश्वप्रकाश शर्माले गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति  अनुरुप बनाउन सात प्रस्ताव अगाडि सारेका थिए । उनले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनु पर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने, जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वाभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्ने बताए ।

महामन्त्री शर्माले निर्वाचनपछि पनि सबैले मिलेर नेपाली समाजको सुधार र विकासको लागि गर्नुपर्ने थुप्रै काम रहेको बताए । उनले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुतको अन्त्य र स्वदेशमा रोजगारीको सवाल निकै समवेदनशील रहेको बताए । कार्यक्रममा काँग्रेसका नेता गुरु घिमिरेले गीत र संगीतले सबैलाई मुग्ध बनाउने भएकाले नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले चुनावी गीत ल्याएर प्रशंसनीय कार्य गरेको बताए । उनले काँग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलहरुमा लोकतन्त्र र लोकतान्त्रिक आचरणको कमी भएकोले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गरे ।

नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमालले पनि आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप