बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

२३ सञ्चारमाध्यमलाई कारबाही, दुष्प्रचारयुक्त सामाग्री र द्वेषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगर्न काउन्सिलको चेतावनी

शुक्रबार, १६ वैशाख २०७९, १९ : ०३
शुक्रबार, १६ वैशाख २०७९

प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ । 

स्थानीय तहको संघारमा विभिन्न उम्मेदवार लक्षित गरेर त्यस्ता सामाग्री सम्प्रेषण भएका गुनासा, उजुरी आइरहेको सन्दर्भमा काउन्सिलले शुक्रबार यस्तो अपिल जारी गरेको हो । पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोप/प्रत्यारोप, दुष्प्रचार हुने, चरित्र हत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरु बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरुले अर्काे राजनीतिक दल तथा दलका नेताहरुविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिइ सञ्चार माध्यमहरुबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ, काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराबाट हस्ताक्षरित अपीलमा भनिएको छ । 

त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरि कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ । पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिलले विशेष अनुगमन गरिरहेको छ । विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने, चरित्र हत्या हुने गरि अतिरञ्जित एवं दुरासययुक्त सामग्री सम्प्रेषण भएको निष्कर्ष काउन्सिलको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले केही दिन अघि चुनावका बेला गलत समाचार उत्पादन गर्ने कारखानै चल्न सक्ने खतरा औंल्याउँदै त्यस्ता भ्रमपूर्ण सामग्रीबाट बच्न र समाचारको स्वतन्त्र पुष्टी गरेर मात्र सम्प्रेषण गर्न सार्वजनिक अपिल गर्नुभएको थियो ।

निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वेषपूर्ण) अभिव्यक्तिहरू सञ्चार माध्यमलाई प्राप्त हुन सक्दछन्  । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ  सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ । तसर्थ दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ, अपीलमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप