शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘मतपत्र कडा कागजमा छापिएका छन्, च्यात्छु र चपाउँछु भन्ने सोच नराखौँ’

शुक्रबार, १६ वैशाख २०७९, २२ : ४०
शुक्रबार, १६ वैशाख २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रसारित गर्न नहुनेतर्फ पनि सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले  मतपत्र कडा कागजमा छोपिएकाले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरे । उनले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगले निर्वाचनको तयारी गरिरहँदा निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउने र प्रचारप्रसारमा कठोरतालाई नछोड्ने संकल्प लिएको बताए । उनले आयोगले स्थानीय तह निर्वाचनका लागि गरिएका उम्मेदवारी दर्ताले स्थानीय तहमा निर्वाचित हुनुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने भावना नागरिकमा देखिएको महशुस भएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न राजनीतिक दलका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सैह्य नहुने बताए ।  

उनले राजनीतिक दलहरुले समानुपातिक समावेशीता सिद्धान्त र ऐन, कानुनलाई बिर्सिएर स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको बताए । उनले आयोगले विभिन्न राजनीतिक दललाई संविधानको धारा ३८ को उपधारा ४ बमोजिम निर्वाचनका प्रक्रियामा महिलाको ५० प्रतिशत सहभागिताको कुरालाई बिर्सिएको बताए । प्रमुख आयुक्त थपलियाले आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि खटिएका पर्यवेक्षकहरुको प्रतिवेदन अध्ययन गरेर निर्वाचन सम्बन्धी नयाँ कानुन तर्जुमा गर्न लागेको जानकारी दिए ।  

यस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितको लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन निर्वाचन आयोगलाई सुझाव दिइन् । उनले जनताहरूले अझै पनि निर्वाचन भनेको के हो भन्ने कुरा बुझि नसकेको भन्दै जनतालाई यसबारेमा सूचना सम्प्रेषण गर्न आवश्यक रहेको औंल्याइन् । पूर्वप्रधानन्यायाधीश कार्कीले विगतका निर्वाचनहरूमा मत गणना गर्दैगर्दा बत्ती निभाएको कुराहरु आएको भन्दै त्यसतर्फ सचेत भइ काम गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन पर्यवेक्षण गर्न जरुरी रहेकोले निर्वाचन आयोगले त्यसमा जोड दिनुपर्ने बताए । उनले जनताले आफ्नो मौलिक हकलाई भरपूर प्रयोग गर्न पाउने गरी नागरिकलाई सुरक्षित मतदान गर्नसक्ने व्यवस्थापन गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप