शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाको ६० पन्ने घोषणापत्र : प्रतिस्पर्धी दलमाथि हमला, मतदातालाई आश्वासनको पुलिन्दा (पूर्ण पाठसहित)

शुक्रबार, १६ वैशाख २०७९, १६ : ४५
शुक्रबार, १६ वैशाख २०७९

लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिस्पर्धी दलहरूको कडा आलोचना गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । तर, घोषणापत्रमा उसले मतदातालाई आफूतिर तान्न अनेकौं आश्वासनयुक्त कार्यक्रम राखेको छ ।

लोसपाले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय मान्यताप्राप्त दलहरूमध्ये नेपाली काँग्रेस र लोसपा नेपाल लोकतान्त्रिक कित्तालाई प्रतिनिधित्व गर्ने दल भएको र बाँकी चारवटा दल एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा भने कम्युनिस्ट खेमाका दलहरू भएको किटान गरिएको छ ।

सो पार्टी जसपामाथि खनिएको छ । लोसपाले जसपालाई माओवादीको ‘टीम बी’ भन्दै कटाक्ष गरेको छ । ‘जसपा नेपालको राजनीतिक व्यवहार नेकपा (माओवादी केन्द्र)को बी टिमजस्तो भएकाले यो पनि एक किसिमले कम्युनिस्ट पार्टी नै हो । तर यसको सुरुवात मधेस आन्दोलनको जगमा उभिएर भएकाले यसको बारेमा थप विश्लेषण गर्न आवश्यक हुन जान्छ’, घोषणापत्रमा भनिएको छ ।

जसपा मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेकोमात्र नभएर समग्रमा मधेस–थरुहट आन्दोलनलाई नै अवमूल्यन गरेको लोसपाको आरोप छ ।

काँग्रेसको नाममात्रै ठूलो

घोषणापत्रमा लोसपाले काँग्रेस पार्टीको नाममात्रै ठूलो भएको तर काम भने सानो रहेको निष्कर्ष निकालेको छ । यद्यपि सो पार्टीले काँग्रेसले लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको भूमिकाको भने प्रशंसा गरेको छ । तर, मधेसी, शिल्पी, दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्गलगायत वहिष्करण तथा वञ्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको सवालमा भने काँग्रेस संकिर्ण र अनुदारवादी रहेको आरोप लगाइएको छ ।

काँग्रेसबारे लोसपाको निष्कर्ष छ, ‘नेपाली काँग्रेसको अर्को ठुलो असफलता लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार औपचारिक रुपमै ग्रहण गरेता पनि यसको सफल कार्यान्वयनमा नराम्रोसँग चुक्नु हो ।’

यस्तै लोसपाले कम्युनिस्ट पार्टीहरूलाई विचार शून्य र सत्तालोलुप राजनीतिक उद्यमी भन्दै आक्रोश पोखेको छ । ‘नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरूले आफ्नो औचित्य सावित गर्न सकेका छैनन्’, लोसपाको भनाइ छ, ‘जुन पार्टीहरूले नश्लीय सोचको आधारमा आफ्नो विचार, कार्यक्रम र मुद्दाहरूको चयन गर्छ, जुन पार्टीहरूले दलको चुनावी रणनीति अन्तर्गत र साथै केही नेताको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न आफ्नै देशको एक तिहाइ जनसंख्यालाई विदेशी, बिखण्डनकारी र अराष्ट्रिय भन्न सक्छ, जुन पार्टीले राष्ट्रियता जस्तो अति समवेदनशील शब्दलाई पनि आफ्नो सुविधाको लागि गलत व्याख्या गरेर विभाजनको विषय बनाउन सक्छ र जुन पार्टीले चुनावमा अंक गणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावनालाई पनि बिथोल्न पछि पर्दैन, ती संगठनहरू राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?’

लोसपाले अगाडि भनेको छ, ‘नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने संगठनहरू हुन् ।’

लोसपाले कम्युनिस्ट पार्टीहरू देश विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठन भएको आरोपसमेत लगाएको छ ।

महिलालाई बिहेमा ५१ हजार दिने

लोसपाले मधेसी महिलालाई बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणासमेत गरेको छ । स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन दिने घोषणा पनि लोसपाले गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ ।

यसैगरी लोसपाले महिलाहरुलाई सार्वजनिक यातायात निःशुल्क गर्ने, रोजगारमा प्राथमिकता दिने, निःशुल्क उच्च शिक्षाको प्रबन्ध गर्नेलगायतका घोषणा पनि गरेको छ । महिलाहरुको स्वास्थ्य र जीवन बिना निःशुल्क गर्ने, छात्राहरुका लागि खेलकूद विकासका लागि विशेष खेलमैदान र प्रशिक्षणको व्यवस्था गर्नेलगायतका आकर्षक कार्यक्रम पनि लोसपाले घोषणापत्रमा समेटेको छ ।

यस्ता छन् महत्वाकांक्षी प्रतिबद्धता

लोसपाले सवल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार बनाउने, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, निःशुल्क र व्यावहारिक सबै तहमा शिक्षा प्रदान गर्ने, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने, कृषि सेवा विस्तार गर्ने, सिंचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन गर्ने, चुरे जोगाउनका लागि पहल गर्ने प्रतिबद्धता गरेको छ ।

यस्तै ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा प्रदान गर्ने, रोजगारमूलक, सिप विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने, खेलकूद पूर्वाधार विकास गर्ने, सडक पूर्वाधार निर्माण गर्ने, स्मार्ट सिटीको अवधारणानुरुप नगर विकास गर्ने, सहरी हरित क्रान्ति गर्ने, व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारका लागि पहल गर्ने, सामाजिक सुरक्षाको प्रत्याभूति गर्नेलगायतका विषयमा लोसपाले आफ्नो प्रतिबद्धता जनाएको छ ।

यस्तो छ घोषणापत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप