शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आचारसंहिता विपरीत एमालेका उम्मेदवारलाई भोट माग्दै हेटौंडाका मेयर

शुक्रबार, १६ वैशाख २०७९, १५ : ०५
शुक्रबार, १६ वैशाख २०७९

निर्वाचन आचारसंहिता विपरीत हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत नेकपा एमालेको विभिन्न समितिले आयोजना गरेको चुनावी कार्यक्रममा मतदातालाई प्रभावित पार्ने प्रकृतिका कार्यमा सक्रिय देखिएका छन् ।

शुक्रबार उनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ को चुनावी कार्यक्रममा सहभागीमात्र भएनन्,  सम्बोधन पनि गरे । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न पाइने छैन । तर, निर्वाचनमा आफै उम्मेदवार भएका त्यस्ता मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पु¥याएको नमानिने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

मेयर महत आसन्न निर्वाचनमा उम्मेदवार छैनन् । त्यसैले उनले पदबाट राजीनामासमेत दिएका छैनन् । ‘म उम्मेदवार भए पो राजीनामा दिनु पर्थ्यो,’ उनले भने, ‘टिकट नै नपाएपछि किन राजीनामा दिने ?’ निर्वाचन आचारसंहिताले स्थानीय तहका पदाधिकारीलाई कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न रोक लगाएको छ । तर, मेयर महत भने निर्वाध नेकपा एमालेका उम्मेदवारको चुनाव प्रचारमा खटिएका छन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन आचारसंहिताले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले कुनै पनि पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा लाग्न नहुने भनेको प्रस्ट पारे । कसैबाट यसको उल्लंघन भएको जानकारी हुनासाथ नियमानुसार कारवाही हुने उनको भनाइ छ ।

एमालेको चुनाव प्रचार कार्यक्रममा के भने मेयर महतले ?

मेयर महतले हेटौंडामा एमालेका जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको बताए । उनले नेकपा एमालेबाट आफूहरु निर्वाचित भएर आइसकेपछि हेटौंडा उपमहानगरपालिकामा पूर्वाधारलाई पहिलो ध्यान दिएको स्मरण गराए ।

‘यो संसारभरिको सबैभन्दा ठुलो कुरा भनेको बाटो हो । जहाँ बाटो छ, त्यहाँ विकास भएको हुन्छ,’ उनले भने, ‘त्यसकारण हामीले शान्तिनगरमा कच्ची रोड राखेकै छैनौं । तपाईले कतै देख्नु भयो कच्ची रोड यहाँ ?’ आफ्नो कार्यकालमा १९ वटै वडामा ९० प्रतिशत काममा सफलता मिलेको भन्दै उनले १९ वटै वडामा घुमेर हेर्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप