सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

शनिबार र आइतबार बिदा दिने निर्णयको पोखराका पर्यटन व्यवसायीले गरे स्वागत

शुक्रबार, १६ वैशाख २०७९, १४ : १६
शुक्रबार, १६ वैशाख २०७९

पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

होटल संघले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले दुई दिन बिदा पर्यटनका लागि सुखद समाचार रहेको बताउँछन् । अरु देशमा पनि यस्तो अभ्यास रहेकोमा नेपालले ढिलो गरी यसलाई पछ्याएको उनी बताउँछन् । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताए ।

पोखरामा हिजोआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन् । विस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ । पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् । पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेको छ । अहिले व्यवसायीहरूले लगानी बढाएका छन् भने साहसिक खेलकुदका गतिविधि थपिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप