सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित

शुक्रबार, १६ वैशाख २०७९, १० : २६
शुक्रबार, १६ वैशाख २०७९

निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब रु सात अर्ब बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । 

उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् ।  चालु आर्थिक वर्षको अन्त्यतिर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्चसमेत प्रभावित हुने भएको छ । बाँकेका आठ स्थानीय तहमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनको अवस्थामा छन् । अहिले भइरहेको अप्रत्यासित मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने भएकाले आन्दोलन गर्नु परेको सङ्घका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायको भनाइ छ ।  

निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आव २०७८÷७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेटको निर्माण व्यवसायीले माग गर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप