प्रहरीमा शैलेशको कमाण्ड सफल कि असफल ?
शैलेश थापा क्षेत्री २०७७ असार २३ मा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त हुँदा संगठनभित्र र बाहिर नयाँ आशा सञ्चार भएको थियो । प्रहरी अधिकृत र आम मानिसले भन्थे– जीवनभरी विवादमा आएनन्, अब प्रहरी संगठनमा परिवर्तन गर्छन् ।’ एक वर्ष १० महिना प्रहरीको कमाण्ड सम्हालेर वैशाख १८ मा नक्सालस्थित प्रहरी मुख्यालयबाट क्षेत्री बिदा हुँदैछन् । हिजो क्षेत्रीबाट परिवर्तनको अपेक्षा गर्नेहरू आज भनिरहेका छन्– अपेक्षा अनुसार काम गरेनन् ।
२०७७ भदौ ३० मा क्षेत्रीले प्रहरीमा नयाँ आचारसंहिता ल्याएका थिए । कागजमा मजबुत देखिएको आचारसंहिता अनुसार क्षेत्रीले संगठनलाई हिँडाउन नसकेको आरोप छ । सरुवा र बढुवा माग्न नेताका घरमा जान आचारसंहिताले बन्देज गरेको थियो । तर, अहिले नेतासँग पहुँच नभएका अधिकृतहरूले न सरुवामा अवसर पाउँछन्, न बढुवामा ।
वैशाख १४ मा प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा भएका उपलब्धिबारे छलफल गरे । प्रहरी सरुवा र बढुवामा राजनीतिक हस्तक्षेप भएको कुरा ‘ओपन सेक्रेट’ भए पनि क्षेत्रीले प्रहरी नियमावली अनुसार सरुवा र बढुवा गरेको जिकिर गरे । नेपाल प्रहरी कार्ययोजना जारी गरेर कार्यान्वयन गरिएको जानकारी दिँदै आईजीपी क्षेत्रीले भनेका थिए, ‘नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान विशेष पहल गरिएको छ ।’
करिब २२ महिनामा शैलेश थापा क्षेत्रीले गरेको एउटा कामचाहिँ प्रहरी कर्मचारीले सधैँ सम्झिनेछन् । उनको कार्यकालमा इन्स्पेक्टरभन्दा तल्लो दर्जामा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ । जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरूको उत्प्रेरणा अभिवृद्धि सम्बन्धी अध्ययन गरेर प्रहरी नियमावली–२०७१ दसौँ संशोधन भएको छ । मन्त्रिपरिषद्ले नियमावली संशोधन प्रस्तावलाई सदर गरेसँगै प्रहरी सहायक हवल्दार १५ हजार २५३, प्रहरी वरिष्ठ हवल्दार ३ हजार ७४८ र प्रहरी वरिष्ठ नायव निरीक्षक १ हजार ४१८ सहित २० हजार ४१९ पदमा बढुवा तथा पदस्थापन भएको छ । तल्लो तहका प्रहरीको मनोबल उकासेको श्रेय आईजीपी क्षेत्रीले पाएका छन् ।
आफ्नो कार्यकालमा तल्लो तहका प्रहरी कर्मचारीलाई प्राथमिकतामा राखेर काम गरेको क्षेत्रीको दाबी छ । पत्रकारहरूसँग कुरा गर्दै क्षेत्रीले भने, ‘माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको छु ।’
आफ्नो ३० वर्षे पदावधि पूरा गरेर आईजीपी क्षेत्री वैशाख १८ मा अवकाशमा जाँदै छन् । आईजीपीको रूपमा शैलेश थापाले गलत नियत राखेर कुनै पनि काम गरेनन् । तर, उनीमाथि प्रहरीमा राजनीतिक हस्तक्षेप गहिरोसँग प्रवेश गर्न दिएको र अडान लिन नसकेको आरोप छ ।
आईजीपी भएपछिको सुरुवाती दिनमा उनले सरुवा र बढुवा पारदर्शी तवरले गरेका थिए । तर, त्यसपछि बालुवाटार र गृह मन्त्रालयबाट आएको सूचीलाई व्यवस्थापन गर्ने काममात्र उनले गरेका छन् ।
आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा अपेक्षा बमोजिम काम नगरेको बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने, ‘अपेक्षा बमोजिम काम भएन । नेतृत्वले अडान लिन सक्नुपर्ने थियो तर, समर्पण गरेको देखियो ।’
प्रहरीलाई संघीय संरचनामा लानुपर्ने मुख्य दायित्व क्षेत्रीको काँधमा थियो । तर, उनको नेतृत्वकालमा प्रहरीलाई संघीयतामा लैजाने कामसमेत अघि बढेन ।
काजको बाढी
आईजीपी शैलेश थापा क्षेत्रीले २०७८ असोज ४ मा ट्राफिक प्रहरी कार्यालय बाँकेको इन्चार्जमा इन्स्पेक्टर ऐनबहादुर मल्ललाई काज सरुवा गर्ने निर्णय गरे । प्रधानमन्त्री पत्नी आरजु देउवाको आदेशमा मल्ल ट्राफिकमा गएको चर्चा छ ।
तत्कालै बढुवा भएका मल्ल अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्ज छन् । शैलेश थापा क्षेत्रीले बढुवा भएको एक वर्षसम्म इन्चार्ज नदिने आचारसंहिता बनाएका थिए । सो आचारसंहिताले ऐनबहादुर मल्ललाई छोएन । त्यसरी आचारसंहिता मिचिएका उदाहरण धेरै छन् ।
क्षेत्रीको कार्यकालमा २७ हजार ५०७ जना प्रहरीको सरुवा भयो । उनले ७५ हजार ३९ जनाको काज सरुवा गरेका छन् । नियमित सरुवा छलेर आफ्ना मान्छेलाई राम्रो ठाउँमा पठाउन राजनीतिक दलका नेताहरु र गृह मन्त्रालयका सचिवले दिने दबाब आईजीपी क्षेत्रीले झेल्नै सकेनन् । क्षेत्रीको कार्यकालमा काजको बाढी आएको प्रहरी अधिकृतहरु बताउँछन् ।
क्षेत्रीको कार्यकालमा २३ हजार ३०२ जना प्रहरी कर्मचारीको बढुवा र पदस्थापन गरिएको छ भने ३ हजार ७३० जना कारबाहीमा परेका छन् । देशभर ८६ हजार ७७ प्रहरीले पुरस्कार पाएका छन् ।
प्रहरीलाई संरचनात्मक रूपमा अघि बढाउनेभन्दा पनि आईजीपी क्षेत्रीले नेताले भनेअनुसार काम गर्न थालेपछि संगठनले गति लिन नसकेको बताउँछन् पूर्व एआईजी भण्डारी । ‘नेताले पठाएको सूचीलाई व्यवस्थापन गर्ने काम आईजीपीको होइन,’ उनले भने, ‘नेतृत्वले व्यवस्थापन नगरेर संरक्षण गर्नुपर्छ, संगठनलाई दिशाबोध गर्न सक्नुपर्छ ।’
अडान लिन नसके पनि क्षेत्रीको कार्यकालमा विगतमा जसरी प्रहरी अधिकृतहरु बदनाम भएनन् । तस्करीमा प्रहरीको नाम नजोडिनु र हेडक्वार्टरबाट हुने खरिदमा विवाद नआउनुचाहिँ क्षेत्रीको कार्यकालमा भएको सकारात्मक कामका रूपमा व्याख्या गर्छन् पूर्व एआईजी भण्डारी । संगठनमा कति परिवर्तन भयो भन्ने कुरा मुख्य रहने भन्दै उनले परिस्थितिलाई दोष लगाएर उम्किन नमिल्ने बताए ।
‘नेतृत्वले स्वच्छ छविले हेडक्वार्टर भित्रबाट हुने खरिदमा प्रहरीलाई बदनाम हुन दिएन । तर, अपेक्षा अनुसार भद्र छविलाई बृहत्तर हितमा उपयोग गर्न सकेनन् । प्रहरीको नेतृत्वले राजनीतिक सन्तुलन गर्ने होइन, उनले नेगोसिएसन गर्न सकेनन् । प्रहरीलाई आधुनिकीकरण गर्नका लागि उनले आफ्नो समयलाई उपयोग गर्न सकेनन्,’ उनले भने ।
सुल्झेन निर्मला प्रकरण
शैलेश थापा आईजीपी भएपछि भएका अधिकांश ठुला अपराधका घटनाको सफल अनुसन्धान भएको छ । गोंगबु हत्याकाण्ड, रौतहटमा पूजारी हत्या प्रकरण, बझाङमा जबरजस्ती करणीपछि हत्या गरेको घटना, कैलालीमा प्रहरीको हत्या, बैतडीमा भागरथी हत्या प्रकरणजस्ता घटनामा संलग्न आरोपित कानुनी दायरामा आएका छन् ।
तर, शैलेश थापाको नेतृत्वकालमा निर्मला पन्तको बलात्कार र हत्या प्रकरण सुल्झिएन । प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग बिदाई भेटमा आईजीपी क्षेत्रीले आफ्नै कार्यकालमा निर्मला प्रकरण ‘ब्रेक थ्रु’ गर्न चाहे पनि नसकिएको बताए । उनले भने, ‘निर्मला प्रकरण सुल्झाउन नसक्दा दुःख लागेको छ ।’
नवलपरासी (पश्चिम) पुजारी हत्या प्रकरण, महोत्तरीमा झा दम्पती हत्या प्रकरण, सिरहा मालपोत कार्यालयमा बम विस्फोट र संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको सफल अनुसन्धान भएको छ ।
३० स्थानीय तहमा प्रहरी इकाई
गृह प्रशासन सुधार कार्ययोजना–२०७४ अनुसार देशभर २३४ वटा नयाँ प्रहरी इकाई स्थापना भएको छ । तीमध्ये २ वटा स्तरोन्नति गरिएको छ । थापाको नेतृत्वकालमा प्रहरीमा ९ हजार ६९७ जनशक्ति थप भएको छ । ३० वटा स्थानीय तहमा नयाँ प्रहरी इकाई स्थापना गरिएको प्रहरी प्रवक्ता विष्णु कुमार केसीले बताए ।
शैलेश थापाको नेतृत्वकालमा देशभर ५ हजार ५३४ सिसिटिभी क्यामेरा, उपत्यकाको ३४ स्थानमा ट्राफिक लाइट र ८ स्थानमा पैदल यात्रु लाइट जडान गरिएको छ । आईजीपीका रूपमा उनको कार्यकाल सुरु भएपछि सवारीको स्पिड परीक्षणका लागि २६ वटा राडार गन सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीको इतिहास लेखन सम्पन्न भएको र सो प्रकाशनको तयारीमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।