शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनको चुनावी तयारी समितिको बैठक : बागीलाई बालुवाटारबाट फोन

बिहीबार, १५ वैशाख २०७९, १९ : ००
बिहीबार, १५ वैशाख २०७९

सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिले बागी उम्मेदवार र केन्द्रीय नीति विपरीत भएको तालमेलबारे सोधिखोजी गरेको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको समितिको बैठकले गठबन्धन भित्रबाट परेको बागी उम्मेदवारी फिर्ताबारे छलफल गरेको हो । यस्तै  स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेका दलसँग भएको तालमेल खारेजीबारे पनि समिति बैठकले चासो राखेको थियो । 

समितिका सदस्य सचिव केशव जोशीका अनुसार बैठकले केन्द्रबाट तालमेलका निर्णय भएका ६ महानगर र ११ उपमहानगरपालिकामा परेका बागी उम्मेदवारी फिर्ताको प्रयास गरेको हो । यस्तै गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रबाट भएको तालमेलविरुद्ध परेको उम्मेदवारीबारे पनि समितिले सोधिखोजी गरेको उनले बताए । आपसी समझदारी निर्माण गरी बागी भोलिसम्म बागी उम्मेदवारी फिर्ता गराउन समिति लागि परेको जोशीको भनाइ छ ।

काँग्रेस महामन्त्री तथा समितिका सदस्य गगन थापाका अनुसार बैठककै क्रममा गठबन्धन बाहेकका तालमेल तोड्न र बागी उम्मेदवारी फर्ता लिन बालुवाटारबाटै फोनमार्फत आग्रह गरिएको थियो । समिति संयोजक रामचन्द्र पौडेलले गठबन्धन बाहिर भएको तालमेल खारेज भए नभएको सोधिखोजी गरेका थिए ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबाट समितिमा प्रतिनिधित्व गर्ने नेताहरुले आ आफ्नो पार्टीबाट बागी उम्मेदवारी र चुनावी तालमेलबारे रिपोर्ट राखेका थिए । त्यसपछि नेताहरुले बालुवाटारबाटै फोन गरेर बागीलाई उम्मेदवारी फिर्ता लिन र गठबन्धन बाहिरको तालमेल खारेज गर्न निर्देशन दिएको महामन्त्री थापाले बताए ।

‘दलले आ आफ्नो दलबाट आएको रिपोर्ट ल्याएर अर्को दललाई भन्ने काम भइरहेको छ,’ उनले भने, ‘यो यो ठाउँमा तपाईंका उम्मेदवारले बागी हाल्यो । यहाँ यो पार्टीसँग तालमेल गर्यो भनेर एक अर्कालाई भन्ने काम भयो । त्यहाँबाट रामचन्द्र दाइले फोन गरिराख्नु भएको छ ।’ थापाका अनुसार केन्द्रको निर्देशनपछि केही ठाउँमा समझदारी भएपनि केही ठाउँमा हुन सकेको छैन ।

बुधबार सत्ता गठबन्धनका शीर्ष नेताले सात बुँदे निर्णयात्मक निर्देशन जारी गरेका थिए । त्यसपछि जिल्ला जिल्लामा समझदारी निमार्णको प्रयास भइरहेको जानकारी केन्द्रलाई आएको सदस्य सचिव जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप