जीडीपीमा कृषिको योगदान घट्यो, सबैभन्दा बढी सेवामुलक क्षेत्रको ६१.८ प्रतिशत
आर्थिक वर्ष २०७८/७९ को कुल राष्ट्रिय उत्पादन (जीडीपी) मा प्राथमिक क्षेत्र अर्थात् कृषि क्षेत्रको योगदान घट्ने भएको छ । बिहीबार केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको रिपोर्टमा यस वर्ष कृषि क्षेत्रको योगदान करिब २४.५ प्रतिशतमात्र हुने प्रक्षेपण गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) दरमा ०.५१ प्रतिशतले ह्रास आउने विभागको तथ्याङ्कले देखाएको छ ।
खासगरी यस वर्ष अति वर्षाका कारण गएको बाढी पहिरो लगायतका कारणले धानबालीको उत्पादन ह्रास हुँदा यस क्षेत्रको उत्पादनमा कमी आएको विभागको भनाइ छ ।
ऊर्जा क्षेत्रको योगदान १३.७ प्रतिशत पुग्ने
मुख्यगरी आर्थिक वृद्धिदरको तीन क्षेत्रलाई जोडेर हेरिनेमा यस वर्ष सबैभन्दा बढी द्वितीय क्षेत्र अर्थात् उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्रको योगदान उच्चदरमा वृद्धि हुने देखिन्छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रको योगदान जीडीपीमा करिब १३.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष यस क्षेत्रको कुल मूल्यवृद्धि (जीभीए) वृद्धिदर स्थिर मूल्यमा १०.२९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष यस्तो जीभीए ४.३६ प्रतिशतमात्र थियो । अझ अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण सो क्षेत्रको जीभीए ४.३६ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो ।
खासगरी यस वर्ष माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत आर्थिक वर्षको अन्त्य देखिनै व्यावसायिक उत्पादन थालनी भएको, कोभिडपछि निर्माण कार्यले गति लिएको र औद्योगिक उत्पादनमा समेत वृद्धि भएकाले कुल मूल्य वृद्धिदरमा बढोत्तरी आएको विभागको भनाइ छ ।
यस्तै तेस्रो पक्ष तथा जीडीपीमा उच्च योगदान रहने सेवा क्षेत्रमा यस वर्ष अधिकतम ६१.८ प्रतिशतको योगदान हुने विभागको प्रक्षेपण छ । थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य तथा अन्य सेवामुलक व्यावसायिक आयामहरू पर्ने यस क्षेत्रको यस वर्ष कुल मूल्य अभिवृद्धि (जीभीए) ५.९३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यस्तो जीभीए अघिल्लो वर्ष ४.१९ प्रतिशत थियो ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ को महामारीका बीच गरिएको लकडाउनका कारण सबैजसो व्यावसायिक तथा सेवामुलक क्षेत्रहरु बन्द हुँदा यस क्षेत्रको जीभीए ४.५३ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो ।
राष्ट्रिय उत्पादनमा कुन क्षेत्रको कति योगदान ?
तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनालाई आधार मानेर हेर्दा राष्ट्रिय उत्पादन (जीडीपी)मा निम्न क्षेत्रको निम्न योगदान रहने देखिन्छ ।
१. कृषि वन तथा मत्स्यबाट, २३.९५ प्रतिशत,
२. खानी तथा उत्खननबाट, ०.५८ प्रतिशत,
३. उद्योगबाट, ५.६५ प्रतिशत,
४. विद्युत, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाबाट, १.३७ प्रतिशत,
५. पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनः स्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरूबाट, ०.५१ प्रतिशत,
६. निर्माणबाट, ६.१७ प्रतिशत,
७. थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाबाट, १६.४० प्रतिशत
८. यातायात तथा भण्डारणबाट, ५.९८ प्रतिशत
९. आवास तथा भोजन सेवाबाट, १.६५ प्रतिशत,
१०. सूचना तथा सञ्चारबाट, २.०९ प्रतिशत,
११. वित्तीय मध्यस्थताबाट, ६.८६ प्रतिशत,
१२. घरजग्गा कारोबारको सेवाबाट, ८.७९ प्रतिशत,
१३. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरूबाट, ०.९९ प्रतिशत,
१४. प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरूबाट ०.७८ प्रतिशत,
१५. सार्वजनिक प्रशासन तथा रक्षाबाट ७.७३ प्रतिशत,
१६. शिक्षाबाट ८.१ प्रतिशत,
१७. स्वास्थ्य तथा सामाजिक कार्यबाट १.७९ प्रतिशत, र
१८. अन्य सेवाका क्रियाकलापहरूबाट ०.६१ प्रतिशतको योगदान हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा समग्रमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । यस्तो प्रक्षेपण वार्षिक विन्दुगत आधारमा अघिल्लो वर्षभन्दा २.०१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर ३.८३ प्रतिशतमात्र थियो ।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा चालु मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना