आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौंडा उपमहानगर : सत्तारुढ गठबन्धन भर्सेस एमाले

​मिनाकुमारी लामा र अनन्त पौडेलको यस्तो छ पृष्ठभूमि र विशेषता
बिहीबार, १५ वैशाख २०७९, १५ : ३६
बिहीबार, १५ वैशाख २०७९

 हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमालेले जितेको पालिका भए पनि एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा मीना कुमारी लामालाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले भने अनन्त पौडेललाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

दुवै उम्मेदवार विगतमा एमालेको राजनीतिमा आपसमा सहकार्य गर्दै आएका थिए । पार्टी विभाजनपछि लामाले नेकपा एकीकृत समाजवादी रोजिन् भने पौडेल एमालेमै रहे । उपमेयरका रुपमा एक कार्यकाल पूरा गरेका कारण लामासँग उपमहानगर नेतृत्वका लागि आवश्यक अनुभव छ । यद्यपि, पौडेल पनि क्षमतामा कमजोर भने छैनन् ।

लामासँग यस पटक गठबन्धनको साथ छ । पौडेललाई राप्रपा नेपालले सघाएको छ । एमाले विभाजनको असर नगर क्षेत्रमा कति छ भन्ने आकलन भइसकेको छैन । त्यसले पनि अघिल्लो चुनावको तुलनामा एमालेको मत कति काटिन्छ भनेर यकिन गर्न कठिन छ ।

राजनीतिक पृष्ठभूमि र विशेषताका हिसाबले हेटौंडा महानगर प्रमुखमा प्रतिस्पर्धारत दुवै उम्मेदवार दमदार नै देखिन्छन् । दुवै उम्मेदवारका व्यक्तिगत प्रोफाइल यस्तो छ–

मीना कुमारी लामा

(सत्तारुढ गठबन्धनबाट उपमहानगर प्रमुख पदको उम्मेदवार)

२०३३ साल पुष २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी मिनाकुमारी लामा बुबा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरी हुन् । बाल्यकाल साधारण रुपमा व्यतित गरेकी लामा २०४६ सालबाट राजनीतिमा होमिएकी हुन् ।

विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरेकी उनी हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयाबाट एसएलसी उत्तिर्ण हुन् ।

त्यस पश्चात उनले अध्ययनका लागि मकवानपुर बहुमुखी क्याम्पस रोजिन् । मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरी उनले हरिखेतान बहुमुखी क्याम्पस वीरगंजबाट एलएलबी अध्ययन गरिन् ।

अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएकी लामाले अनेरास्ववियुबाट राजनीति सुरु गरेकी थिइन् । २०५२ सालमा उनले अनेरास्ववियु मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् । सोही क्रममा २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार हेटौंडा–१, चाईना क्वाटरका व्यवसायी सुनकुमार लामासँग उनको विवाह भयो ।

पारिवारिक साथ, सहयोग र मायाले अध्ययन, राजनीतिक जीवनलाई सफलतापूर्वक अघि बढाएकी लामाको दुई सन्तान छन् ।

लामाले २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको जिम्मेवारी पाइन् भने २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन् ।

२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य हुँदै लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्षसमेत भइन् ।

लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको रुपमा भारी मतले विजयी भइन् । उनी त्यतिबेला एमालेबाट उम्मेदवार थिइन् ।

लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् ।

अनन्त पौडेल

(एमालेबाट हेटौंडा उपमहानगर प्रमुख पदको उम्मेदवार)

अनन्त पौडेल मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्रा छिचोलेका एक यात्री हुन् अनन्त । चार दशकभन्दा बढी कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका अनन्तको जीवन संघर्षमय छ ।

२०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाएका उनले २०७९ सम्म आइपुग्दा थुप्रै चुनौती सामना गरेका छन् । विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक गिरफ्तार भएका उनले कष्टपूर्ण जेलजीवनसमेत भोगेका छन् ।

उतिबेलाको सत्ताले आफ्नो विरुद्ध भएकाहरुलाई झुटा मुद्दा लगाउँथ्यो । पञ्चायती व्यवस्थामा तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो । कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले ०३७ साल ताका तत्कालीन निरंकुश शासन व्यवस्थाका विरुद्ध आन्दोलन गरिरहेको थियो । सोही आन्दोलनका क्रममा अनन्तलाई गिरफ्तार गरियो र उनी करिब डेढ वर्ष कष्टपूर्ण जेलजीवन बिताउन बाध्य भए ।

०६२÷०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अनन्त ०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भए । ०७० मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट विजयी भएका उनले संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे । पार्टी राजनीतिक र संसदीय फाँटको उल्लेख्य जिम्मेवारीमा रहेका अनन्तलाई नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

२०१९ सालमा मकवानपुरको भीमफेदी गाउँपालिकामा बुबा डिल्लीनाथ पौडेल र आमा हरिप्रिया (देवी) पौडेलको कान्छो सन्तानका रुपमा जन्मिएका अनन्तको बाल्यकाल सामान्य रह्यो । उनी २०३५ सालमा तत्कालीन नेकपा मालेमा आवद्ध भएका थिए । २०३६ को विद्यार्थी आन्दोलनमा उनले देखाएको सक्रियताकै कारण २०३८ मा पार्टीले उनलाई अखिलको जिल्ला कोषाध्यक्षको जिम्मेवारी दियो । २०३९ मा अखिल सचिव हुँदै २०४० मा उनले जिल्ला अध्यक्षको जिम्मेवारी पाए ।

२०४१ मा विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण जेलजीवन विताएका उनी २०४३ मा मालेको तत्कालीन हेटौंडा नगर कमिटी सचिव भए । ०४४ मा जिल्ला कमिटीमा रहेर काम गरेका उनले २०४७ मा नेकपा एमालेको जिल्ला कमिटीमा रहेर कार्यकुशलता प्रदर्शन गरे । ०४७ देखि ०५१ सम्म एमालेको जिल्ला संयोजक भई काम गरेका उनले ०५१ मा सुकुम्वासी आयोग मकवानपुरको अध्यक्षको जिम्मेवारी पाए ।

२०५० सालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाएकै कारण उनले मकवानपुरमा लोकप्रियता बटुल्दै गए । दामन, पालुङ, आमभञ्ज्याङ्, फापरवारी, राइगाउँलगायतका क्षेत्रहरुमा बाढीका कारण धेरै घरबारविहीन भएका थिए । उनकै पहलमा मन्त्रिपरिषदबाट निर्णय गराई हेटौंडा–१३, पदमपोखरीमा ४ सय परिवारलाई उनीहरुकै नाममा लालपुर्जा बनाइ जग्गा वितरण गरिएको थियो ।

२०५४ बाट नेकपा एमालेको तत्कालीन नारायणी अञ्चल कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनले ०६९ सम्म २ पटक अञ्चल कमिटी सचिवका रुपमा काम गरे । उनी जिल्ला विकास समितिको सदस्यसमेत भए ।

अनन्त हाल नेकपा एमालेको केन्द्रीय निर्वाचन विभागको सदस्य हुन् । उनी हाल सहिद स्मारक विकास समितिको सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, भुटनदेवी माद्यमिक विद्यालय र प्रगति माद्यमिक विद्यालयको सल्लाहकार, मध्यनेपाल पर्यटन विकास समितिको संयोजकलगायत दर्जनौँ संघ संस्थाहरुमा आवद्ध छन् ।

वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन गरेका अनन्त हेटौंडामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको र समृद्ध हेटौंडा उपमहानगर बनाउने योजना आफूसँग रहेकाले मेयर पदमा उम्मेदवारी दिएको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप