आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगर : दलीय सहारामा स्वतन्त्र उम्मेदवारी !

बिहीबार, १५ वैशाख २०७९, १५ : २३
बिहीबार, १५ वैशाख २०७९

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए व्यवसायी गोपाल हमाल । नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

दलीय राजनीतिमा स्वतन्त्र उम्मेदवारले जित्न नसक्ने महसुस गरेपछि उनी विवेकशील साझा पार्टीमा आवद्ध भएर प्रदेश संयोजक बने । विवेकशील साझा पार्टीलाई प्रदेशमा नेतृत्व गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई मैदानमा उतारे । तर सो पार्टीका उम्मेदवारले राम्रो मत ल्याउन सकेनन् ।

स्थानीय तहको निर्वाचन मिति तोकिएलगत्तै हमालले पार्टीबाट राजीनामा दिएको घोषणा गरे । अहिले उनी स्वतन्त्र भने पनि विवेकशील साझा पार्टीका अघोषित उम्मेदवारजस्तै छन् । उनको उम्मेदवारीमा विवेकशील साझा पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रकाशचन्द्र भट्ट प्रस्तावक छन् ।

हमालले पार्टीबाट राजीनामा दिएपछि सो पार्टीको प्रदेश संयोजकको जिम्मेवारी सम्हालेका दिनेश भण्डारीले भने, ‘हामीले धनगढी उपमहानगरको उपप्रमुख लगायत केही वडामा मात्र उम्मेदवारी मनोनयन दर्ता गराएका छौं । नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार भनिएका हमाल नै हाम्रो उम्मेदवार हुन् ।’

हमाललाई विवेकशील साझा पार्टीमात्र नभई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतको पनि समर्थन छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता छत्र शाहीले भने, ‘हामीले नगर प्रमुखमा हमाललाई समर्थन गर्दै उपप्रमुख र वडामा मात्र उम्मेदवार मनोनयन दर्ता गराएका छौं ।’

पार्टीका उम्मेदवारका रुपमा चुनाव जित्न नसकिने भएपछि विवेकशील साझा पार्टीले स्वतन्त्र उम्मेदवार खडा गरेको भनेर टिप्पणी गर्नेहरु पनि धेरै छन् । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालयका सचिव दिपक उप्रेतीले पार्टीको जिम्मेवारीबाट चुनाव जित्ने नदेखिएपछि कतिपय ठाउँमा राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताए । उप्रेतीले भने, ‘धनगढीमा विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालजीले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।’ उनले सुर्खेतमा पनि स्वतन्त्र उम्मेदवार खडा गरिएको बताए ।

‘कतिपय ठाउँमा पार्टीको उम्मेदवार बनाएका छौं कतिपय ठाउँमा जिम्मेवारीबाट राजीनामा दिएका स्वतन्त्र उम्मेदवारलाई पनि समर्थन गरेका छौं,’ उनले भने, ‘हामीसँग नजिक भएर काम गरेका साथीहरुलाई समर्थन गर्ने योजना छ ।’

धनगढी उपमहानगरपालिकामा गोपाल हमाललाई विवेकशील साझा पार्टीले औपचारिक रुपमै समर्थन जनाएको छ । पार्टीले विज्ञप्तिमार्फत गोपाल हमाललाई समर्थन रहेको बताएको हो । सुदूरपश्चिम प्रदेशमा मात्रै विवेकशील साझा पार्टीसँग जोडिएका एक दर्जनभन्दा बढीले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । विगतको स्थानीय तह निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेका कारण विवेकशील साझा पार्टीले पार्टी जिम्मेवारीबाट राजीनामा दिन लगाएर स्वतन्त्र उम्मेदवार खडा गरेको हुन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

पार्टीको संगठन कमजोर भएकाले स्वतन्त्र उम्मेदवार बनाएर जिताउने र तिनीहरुलाई पुनः पार्टीमा प्रवेश गराएर पार्टीको साख जोगाउने रणनीतिमा विवेकशील साझा पार्टी अग्रसर भएको हुन सक्ने राजनीतिक विश्लेषक अरुण अवस्थीले बताए ।

तर उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले आफू स्वतन्त्र उम्मेदवार रहेको प्रतिक्रिया दिए । ‘कुनै पार्टी नभनी मैले स्वतन्त्र भएर उम्मेदवारी दिएको हुँ,’ रातोपाटीसँग उनले भने, ‘कुनै पार्टीले मेरो उम्मेदवारी मन परेर मलाई समर्थन गर्छ भने मेरालागि राम्रै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप