शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सबिल खानको व्यावसायिक उडान : २५ वर्षीय युवा १२ करोडका मालिक

युएनको आकर्षक जागिर छाडेर मार्केटिङमा छलाङ
बिहीबार, १५ वैशाख २०७९, १५ : ११
बिहीबार, १५ वैशाख २०७९

२५ वर्षीय युवा सविल खानको सफलताको कथा कुनै फिल्मको जस्तो पनि लाग्छ । व्यवसाय सुरु गरेको मात्र ६ वर्षमै विभिन्न चार कम्पनीका मालिक भएका छन् खान, जसले १२ करोड माथिको लगानीमा छुट्टाछुट्टै कम्पनी सञ्चालन गर्दै आएको छ । सबै क्षेत्रको व्यावसायिक जोडघटाउ हेर्ने हो भने पनि मासिक अढाइ करोडको कारोबार गर्छन् उनी । व्यवसायमा उमेरभन्दा पनि रुची, इच्छाशक्ति र आइडियाको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ । भन्छन्, ‘ज्ञानमात्र भएर हुँदैन, त्यसलाई देखाउन सक्ने आँट चाहिन्छ, निरन्तरता र लगनशीलता चाहिन्छ । आइडिया चाहिन्छ, अनिमात्र पुँजीको कुरा आउँछ ।’

विशेष गरी नेपालको रेष्टुरेन्ट क्षेत्रमा फास्टफुड चेनका रुपमा परिचित पहिलो रोवर्टिक रेष्टुरेन्ट ‘केकेएफसी’का फ्रेन्चचाइज सञ्चालक खान, ग्रिनविच इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी, अर्बान्स नेपाल नामक आइटी कम्पनी र बालकुमारीस्थित टिभिएस डिलरसिपका पनि मालिक हुन् ।

युएनको आकर्षक जागिर छाडेर मार्केटिङतिर

खानको जीवन भोगाइ पृथक छ । काठमाडौंको कुलेश्वरमा बस्दै आएका उनले बानेश्वर, वुद्धनगरस्थित रोजबडबाट विद्यालय शिक्षा प्राप्त गरे । कक्षा १० को पढाइ सक्दा नसक्दै उनले युएनको प्रोजेक्टमार्फत अमेरिका उड्ने अवसर पाए । त्यही अवसरले उनलाई अमेरिकामै रहेर हाइस्कुल पढ्ने मौका जु¥यो । खान सम्झन्छन्, ‘युएनडिपीले मलाई अमेरिकामा पढ्ने सौभाग्यमात्र जुराएन, पढाइपछि ललितपुरस्थित सानेपा अफिसमा राम्रो जागिरको अवसर पनि दियो ।’

उनका अनुसार तलब राम्रो थियो र देश विदेश घुम्न पनि पाइन्थ्यो । ‘युएनले मेरो परिचय बनाइदियो । अनुभव र कार्यशैलीका आधारमा थुप्रै काम सिकायो । जागिरले आफैमा उत्साह थियो, ऊर्जा थियो अनि कामका नयाँ आयाम पनि,’ उनले भने ।

तर, खानले आफ्नो जागिरलाई निरन्तरता दिन पाएनन् । युएनको जागिरबाटै आफू अघि बढ्ने तयारी गरे पनि उनको परिवारको चाहना केही भिन्न थियो । उनले भने, ‘युएनमार्फत म हरेक महिना फरक–फरक तीन देशमा रहेर काम गर्नुपर्ने थियो । तर, परिवारबाट पैसाको पछि नलाग्न सुझाव आयो । बुबाआमाले पैसाभन्दा बढी महत्व शिक्षामा देख्नुभयो । उहाँहरूकै सुझावअनुसार म जागिर छाडेर नेपालमै रोकिएँ ।’

खानका बुबाआमा भन्नुहुन्थ्यो रे, ‘तिमीले अहिले नै पैसा हेर्न थाल्यौ भने आफ्नो भविष्य बिगार्छौ । तिमी पत्याऊ वा नपत्याऊ तर भविष्यमा पैसाभन्दा महत्वपूर्ण कुरा शिक्षा हो भन्ने कुरा बुझ्ने छौ । त्यसैले अहिले शिक्षा लेऊ, समयले तिमीलाई पैसाका लागि आफै बोलाउने छ ।’

उनी संसारमा एउटैमात्र कुरा सत्य मान्छन्, त्यो हो बुबाआमाको निस्वार्थ माया । सुनाउँछन्, ‘आमाबुबाको कुरा काट्न सकिनँ । हुँदाछँदाको जागिर छाडेर नेपालमै रहेँ । अहिले उहाँहरुले भनेजस्तो पैसाले मलाई आफै बोलाइरहेको छ ।’

नभन्दै उनले अहिले १२ सय बढीलाई रोजगारी दिइरहेका छन् । अमेरिकामा प्लस टू को अध्ययन सकेर फर्किएका खान नेपालमै बुबाआमाको काखमा रहेर केही गर्ने सपना पनि देखिरहेकै थिए ।  तर, उनको दिमागमा कुनै ठोस निर्णय थिएन । मस्तिष्कमा अनेकन कुरा खेलाउँदै उनी जागिरमा दौडिरहेका हुन्थे । जब, जागिर छाडेर अध्ययनका लागि बुबाआमाको ‘रिक्वेस्ट’ आयो, अनि उनी आफ्नै पहिचानको खोजीमा लागे । त्यो अवस्था उनलाई निकै असहज थियो तर असम्भव ठान्थेनन् उनी । सम्झन्छन्, ‘आफूले आफैमाथि विश्वास गरेर अघि बढ्नुपर्ने थियो । एउटा आफैमा चुनौती थियो । मलाई थाहा थियो कि हरेक मान्छेमा एउटा न एउटा प्रतिभा हुन्छ । त्यसको पहिचान गर्न सके त्यसमा निखारता ल्याउन सके अघि बढ्न कठिन छैन ।’

उनलाई लाग्थ्यो, आफ्नो प्रतिभा भनेकै ‘कम्युनिकेसन स्किल’ हो र यसको प्रचुर सम्भावना भएको ठाउँचाँहि ‘मार्केटिङ’ हो । कसैलाई केही कुरा भन्न, बुझाउन अथवा मज्जासँग गफ गर्न सक्ने स्वभावका कारण खानले मार्केटिङकै पथ पक्रिए । १९ वर्षको कलिलो उमेरमा एक कन्सल्टेन्सीमा कन्सल्टेन्टका रूपमा काम सुरु गरे ।

उमेर र परिपक्वता माथिको प्रश्न

सानै उमेरमा कन्सल्टेन्टका रुपमा काम सुरु गरेका सबिललाई कतिपयले त उनको उमेरमाथि प्रश्न उठाए । उमेरकै कारण ‘तिम्रो सुझाव हाम्रोलागि काम छैन’ भन्ने सम्मका प्रतिक्रिया दिन्थे । उनलाई इग्नोर गर्थे । उनले हरेश खाएनन् । भन्छन्, ‘एउटा समय आयो, जतिबेलाबाट मलाई मान्छेहरूले पत्याउन सुरु गरे । मेरो कुराले उहाँहरूमा प्रभाव पार्न थाल्यो ।’

त्यो सबै सम्भव हुनुमा उनको गहन अध्ययन, विषयवस्तुमाथिको खोज नै मुख्य थियो । दत्त चित्त बनेर अनुसन्धानमा लाग्थे । यसले उनको भोगाइमा परिवर्तन आयो । अनुभवमा निखारता ल्यायो । अहिले उनलाई कतिपयले ‘मार्केटिङ एक्सपर्ट’ पनि भन्छन् तर उनलाई त्यो उति सहज लाग्दैन  । बरु आफू एक्सपर्ट हुनका लागि खर्चिएको समय, मिहिनेतलाई ठूलो मान्छन् उनी ।

व्यवसायमा छलाङ

सबिल खानले कन्सल्टेन्सीलाई पुँजीमा कन्भर्ट गर्ने इच्छाले कन्सल्टेन्सी व्यवसायमा हात हाले, जहाँबाट उनको व्यवसायको पहिलो खुट्किलो सुरु भयो । व्यावसायिक यात्रालाई निरन्तरता दिँदै उनले नेपालकै पहिलो रोवर्टिक रेष्टुरेन्ट केकेएफसीमा लगानी गरे । हाल ललितपुरस्थित कुमारीपाटीमा रहेको केकेएफसीका उनी फ्रेन्चचाइज सञ्चालक छन् । जब, रेष्टुरेन्ट ‘अटो फङ्सन’मा सञ्चालन हुन थाल्यो, उनको मस्तिष्कले ब्यापारको नयाँ आयाम खोज्न थाल्यो ।

सुनाउँछन्, ‘नेपालमा हरेक दिन १३ सय बढी श्रमिक विदेश जाने गरेको तथ्याङ्क थाहा पाएँ । हातमा झोला, खुट्टामा पुराना चप्पल अनि परिवार, श्रीमती, छोराछोरीको काख छाडेर मन भारी बनाएका थुप्रै दृश्यहरू देखेँ । मन भारी भयो, पीडा थपियो । अनि नेपालमै रोजागारी सिर्जना गर्नुपर्छ, स्वदेशमै सिपमूलक जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने हेतुले अर्बान्स नेपाल नामक आइटी कम्पनी पनि सुरु गरियो ।’

खासमा आफ्नै घरमा प्लम्बरको खाँचो पर्दा अर्बान्सको कन्सेप्ट फुरेको थियो खानलाई । उनको नारा छ, ‘देशकै लागि केही गरौं । देशकै माटोमा नुनभात खाएरै भए पनि स्वरोजगार बनौं ।’ त्यसैले उनले स्वदेशमै दक्ष कामदारहरूका लागि एउटा प्लेटफर्म तयार गरे । हाल अर्बान्स नेपालले आफ्नो प्लेटफर्ममा सेवा दिन सक्ने जनशक्तिलाई आबद्ध गराएर सेवाग्राहीसँग सम्पर्क स्थापित गरिदिने काम गर्छ । अझ भनौं, अर्बान्स नेपालले इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर, अप्लायन्स एण्ड इलेक्ट्रोनिक रिपेयर्स, सैलुन एट होम, पेष्ट कन्ट्रोलिङ, मेहन्दी, सेनिटाइजेसन, क्लिनिङदेखि ठुलाठुला बिल्डिङहरुको झ्याल बनाउने जस्ता सेवा दिँदै आएको छ ।

गूगल प्ले तथा एप्पलको एपस्टोरमा अर्बान्स नेपाल नामक एप नै लञ्च गरेर सेवाग्राहीसँग जोडिएका छन् । त्यस्तै अर्बान्स नेपालले फेसबुक पेज, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट पनि सेवा प्रदान गर्दै आएको छ ।

अर्बान्स नेपालको सफलता र लोकप्रियतासँगै सबिलले व्यवसायको दायरा अझ फराकिलो बनाएका छन् । हाल ललितपुरको बालकुमारीस्थित खरिबोटमा टिभिएसको डिलरसिप सञ्चालन गरिरहेका छन् उनी । विगत सात महिनाअघिबाट सुरु गरेको व्यवसायबाट सफलता प्राप्त गर्दै उनको एनएबी इन्जिनियरिङ नामक डिलरले भर्खरैमात्र टिभिएसको बेस्ट डेब्यु डिलर अवार्ड नै प्राप्त गरेको छ ।

व्यावसायिक सफलतामा खुसी पोख्छन् सबिल, ‘अटो मोवाइल क्षेत्र सरकारलाई सबैभन्दा बढी कर तिर्ने क्षेत्र हो । अनि मेरो काम कसैलाई मोटरसाइकल वा स्कुटर बेच्नेमात्र होइन, ग्राहकहरूले सपना, रहर अनि बाध्यताले जोडेको सम्पत्ति हस्तान्तरण गर्नु पनि हो । त्यसैले खुसी छु, सन्तुष्ट छु । यसको व्यापार विस्तारमा पनि सोचिरहेको छु ।’

१२ सयभन्दा बढीलाई रोजगारी

४ छुट्टाछुट्टै व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष १२ देखि १४ सय जनालाई रोजगारी दिन सफल भएको सबिलको दावी छ । भन्छन्, ‘जे सपना देखेको थिएँ, पूरा भइरहेको छ । अझै प्रयास गरिरहेको छु । अर्बान्स नेपालमा ६÷७ सय र टिभिएस सो रुम, सर्भिस सेन्टर, कन्सल्टेन्सी, अनि केकेएफसीका सबै ब्रान्चको मर्निङ, डे र नाइट सिफ्ट गरेर १२ देखि १४ सय मानिस प्रत्यक्ष अप्रत्यक्ष लाभान्वित हुनुहुन्छ, रोजगारीमा हुनुहुन्छ ।’

उनका अनुसार ६ सय जना जति त अर्बान्स नेपालमै एसोसिएटेड छन्, जो विदेश जान तम्तयार थिए ।

पारिवारिक पृष्ठभूमिमा व्यापारको राग

सबिलको परिवार फलफूलको व्यवसाय गर्थे । वीरगञ्जमा जन्मिएका उनको बाल्यकाल काठमाडौंमा बित्यो । बुबाआमाको दुःख र संघर्षका किस्सा सबिललाई आज एक कथाजस्तो लाग्छ । सुनाउँछन्, ‘अहिले मेरो बुबाआमा ठुलो फलफूल व्यापारी हुनुहुन्छ । तर, उहाँहरुको जीवन फर्केर हेर्दा रत्नपार्कमा नाङ्लोमा कागती बेचेर यहाँसम्म आइपुग्नु भएको हो ।’ हाल भारत, चीन तथा नेपालका विभिन्न जिल्लाबाट फलफूल आयात गरेर काठमाडौंमा नामी बिक्रेता छ उनको परिवार ।  

पारिवारिक पृष्ठभूमि धनाढ्य नभए पनि बुबाआमाले उनमा कुनै कमी हुन दिएनन् । असल मानिस बनाउने सपनाले नै यहाँसम्म पु¥यायो । उनको बा–आमाको चाहना छ, गलत काम गरेर कोही कसैसँग झुक्नु नपरोस् ।

उनले भने, ‘संस्कार, अनुशासन र इज्जतका बारेमा मेरो परिवार खुबै ध्यान दिन्छ । त्यसैले पनि जे काम गरिरहेको हुन्छु, त्यसलाई सफल बनाउनु नै मेरो मुख्य लक्ष्य हुन्छ ।’

सबिल आफूजस्तै आम युवा पुस्तामाझ यही सन्देश प्रवाह गर्न चाहन्छन् ‘विदेश जानेहरूको लर्को लागिरहँदा मजस्ता उद्यमशीलताको पक्षमा उभिएकालाई सबैले साथ र सहयोग गरौं, हौसला बढाऔं, नयाँ लगानीकर्तामा उत्साह थपौं ।’

उद्यमशीलताका लागि नयाँ पुस्तालाई हौस्याउँदै उनले अगाडि भने, ‘तपाईंका लागि कोही कसैले केही गर्दैन, तपाईं आफै कस्सिनुहोस् । सरकारको मुख नताक्नुहोस्, बरु आफै मिहिनेत गर्नुहोस् । अनुभवका आधारमा आत्मविश्वास राख्नुहोस् । त्यही अनुभव र आत्मविश्वासले तपाईंलाई एक दिन उचाइँमा पु¥याउने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप