मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

बिहीबार, १५ वैशाख २०७९, १३ : ४०
बिहीबार, १५ वैशाख २०७९

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई  उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् । सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहागरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख कांग्रेसलाई दिने सहमति भएको थियो । त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नगरप्रमुख र कांग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ । 

गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली कांग्रेसका नगरसभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्नसक्ने भन्दै दलका नेताहरुले स्वतन्त्र उम्मेदवारलाई मनाउने प्रयास भइरहेको कांग्रेस धनुषाका पुर्व सभापति महेशचन्द्र गिरीले जानकारी दिए । 
    
‘‘आफूहरुले स्वतन्त्र उम्मेदवार दुबै जनाको उम्मेदवारी फिर्ता गराउने पहल गरिरहेका छौँ”, गिरीले भने,‘‘अहिलेसम्म केही सकारात्मक परिणाम आउने सङ्केत त देखापरेको छैन् ।” तर हेरौँ आज साँझसम्म उम्मेदवारी फिर्ताको समय छ, त्यतिबेलासम्म केही हुन्छ कि भन्ने आशा गरौँ उनको भनाइ थियो । 
    
यस्तै आफ्नै पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई मनाउन नेकपा (एमाले)का नेताहरु पनि जुटेका छन् । एमालेले जनकपुरधामको नगरप्रमुखमा शिवशङ्कर साह र उपप्रमुखमा रुना झालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका जानकी राम साहले नगरप्रमुखमा र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी दुबै जनाको उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ४१ जना र उपप्रमुखमा ३२ जनाले उम्मेदवारी दिएका छन् । 

यसैबीच आसन्न स्थानीय तह निर्वाचनका लागि तीन वटा दलले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छन् ।    मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किसान गिरी, तराई–मधेश लोकतान्त्रिक पार्टीबाट बिभा ठाकुर र जनमत पार्टीबाट अनितादेवीले उम्मेदवारी दत्र्ता गराएका छन् । 

आसन्न निर्वाचनका लागि जनकपुरधामको नगरप्रमुख पदका लागि विभिन्न १२ दलबाट १२ जना र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दत्र्ता गराएका छन् ।  तीमध्ये तीनै जना महिला फरक–फरक पार्टीबाट नगरप्रमुखमा उम्मेदवार दत्र्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप