शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेश अध्ययन गर्न जाँदै हुनुहुन्छ, यसरी गर्नोस् तयारी

बिहीबार, १५ वैशाख २०७९, १३ : ०९
बिहीबार, १५ वैशाख २०७९

कक्षा १२ पास गरेपछि विद्यार्थीको भविष्य कता लैजाने लक्ष्य निर्धारण हुन्छ । त्यस अघिको माध्यामिक शिक्षा भनेको आधारभूत शिक्षाजस्तै हो । भविष्यमा के बन्ने, के गर्ने, कहाँ कुन विषय पढ्ने ? अब्रोड स्टडीमा जाने हो भने कुन देश जाने, कुन कलेज छान्ने ? तयारी कसरी गर्ने यावत प्रश्नहरू विद्यार्थीका मस्तिष्कमा रुमलिन्छ । ‘१२ पास भइहालियो, अब त पढ्न जाने बहानामा विदेश छिर्ने, अनि कमाउँदै मोजमस्ती गर्ने पो हो त,’ भन्दै हचुवाका भरमा लहलहैमा दौडिनेहरुलाई लक्षित छ यो लेख ।

विदेश धेरै प्रकारले गइन्छ । रोजगारीको लागि, घुमफिर मनोरञ्जनको लागि, स्वास्थ्योपचारको लागि, उच्च शिक्षाको लागि । तर, आफू कुन उद्देश्य लिएर विदेश जाने व्यक्ति स्वयंले निर्धारण गरेपछि मात्रै विदेश जाने प्रक्रिया सुरु गर्नुपर्छ । विद्यार्थीको कुरा गर्दा सबै विद्यार्थीले पढ्नकै लागि विदेश जाने मनस्थिति बनाउनु पर्छ । कतिपय विद्यार्थीहरू सुरुमा पढ्ने योजना बुनेरै विदेश जान्छन् तर विदेशको भूमिमा पाइला पर्ने बित्तिकै ‘म संसारकै धनी हुने देशमा आएँ’ भन्दै पढाई छाडेर ‘डलर कमाउन’ खोज्छन् । जुन एकदमै मुर्खतापूर्ण निर्णय हो । भर्खर कक्षा १२ पास गरेको, बाबुआमाको कमाईमा बाँचेको, जसको हातमा सामान्य चिया कफीसमेत बनाउन सक्ने सीप छैन । त्यस्ता विद्यार्थीले जुनसुकै देश गएपनि ‘सुन खानी’ भेट्टाउन सक्दैनन् । पहिले पढाई अनिमात्रै काम भन्दै पढाईमा एकाग्रता राख्नु श्रेष्ठकर हुन्छ ।

कुन देश जाने ?

भर्खर टीनएज पार गर्दै गरेका विद्यार्थीहरू जो अब्रोड स्टडीको प्लान गर्दै हुनुहुन्छ, ती विद्यार्थीले दोश्रो सोच्ने कुरा हो कुन देश जाने ? छिमेकी अङ्कलको छोरा यूएस गयो, म पनि त्यतै जान्छु अथवा मामाको छोरो जापानमा छ, म पनि त्यतै लाग्छु भन्नु अर्को मुर्खतापूर्ण निर्णय हो । कुन देश जाने सन्दर्भमा विद्यार्थीले सर्वप्रथम आफ्नो शैक्षिक, आर्थिक, पारिवारिक अवस्था नियाल्न जरुरी छ । सोही आधारमा मात्र देश छान्नु पर्दछ ।

एक दशक यताको तथ्याङ्क नियाल्दा अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए तथा केही युरोपियन देश नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा पर्छ । त्यसमा पनि १२ पास गरेर डिप्लोमा, ब्याचलर गर्न जाने अधिकांश विद्यार्थीहरू अष्ट्रेलिया गएका छन् । पछिल्लो २ वर्ष यता यूके, क्यानडा गएर अध्ययन गर्नेहरु पनि बढेका छन् । यूएसए सबै विद्यार्थीको पहुँचको देश हैन । यूरोपियन देशहरू पनि विद्यार्थीको रोजाईमा छ ।

विषय छनौट कसरी गर्ने ?

पढाईको विषय छनौट विद्यार्थीको लागि महत्वपूर्ण पक्ष हो । आफूले कमर्स पढेको छ तर कलेज छान्दा साइन्स, होटल मेनेजमेन्ट पढाउने कलेज छान्नु भनेको पूर्व जानुपर्ने पश्चिम गएजस्तै हो । कमर्समा १२ पास गरेकाले त्यहीसँग सम्बन्धित विषय पढाई हुने कलेज रोज्नुपर्छ । साइन्स पढेकाले साइन्समै जोडिएका विषय रोजौं । अष्ट्रेलिया, यूके, क्यानडा, यूएसए जस्ता देशहरुमा जुनसुकै विषय अध्ययन गर्न सकिन्छ ।

पछिल्लो समय आइटी, कम्प्युटर साइन्स, नर्सिङ, होटल मेनेजमेन्ट, हस्पिटालिटी, एकाउन्टिङ, फेसन डिजाइनिङ जस्ता टेक्निकल ज्ञान भएका विषय विद्यार्थीका रोजाईमा परेको छ । टेक्निकल विषयमा अष्ट्रेलियाको बजारमा अवसरै अवसर छन् । कोभिड–१९ पछि अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई पढाईसँगै अवसरका धेरै ढोका खुलेका छन् ।

कस्ता कलेज छनौट गर्ने ?

अब्रोड स्टडीमा जानेले कस्तो कलेज छनौट गर्ने यो पनि महत्वपूर्ण कुरा हो । उदाहरणका लागि अष्ट्रेलियामा विश्वकै उत्कृष्ट विश्वविद्यालय, कलेजदेखि सामान्य एउटा कोठामा चलाइएका कलेज पनि छन् । ती मध्येबाट आफ्नो लागि कुन कलेज ठीक हुन्छ, त्यो छनौट गर्नु गाह्रो काम हो । विद्यार्थी एक्लैले यस्ता कलेज छनौट गर्ने, आवेदन दिने, डकुमेन्टेसन गर्ने काम गर्न सक्दैनन् । यसका लागि राम्रो परामर्शदाताको छनौट गरेर काम अगाडि बढाउनु बुद्धिमानी हुन्छ ।

पछिल्लो समय विदेशी कलेजहरुले ठगी गरेको, विद्यार्थी अलपत्र पारेको, कलेज नै दर्ता नभएको जस्ता समस्या तथा गुनासा आइरहेका छन् । त्यसैले, विद्यार्थीहरुले ‘एक कोठे कलेज’ कस्ता हुन्छन् भन्ने विषयमा सजग हुनुपर्छ । कतिपय कलेजले आकर्षक वेभसाइट बनाउने, फेसवुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा भ्रामक प्रचारप्रसार गर्ने गरेका छन् । यसबाट विद्यार्थी बच्न सक्नु पर्छ । सामाजिक सञ्जालमा आउने यस्ता प्रचारात्मक सामग्रीलाई मात्र हेरेर कलेज छनौट गर्नु हुँदैन ।

वेभसाइटमा राखिएका ठुला भवनयुक्त प्रोफाइलले कलेजको इतिहास दर्शाउँदैन । यसका लागि पनि विद्यार्थीहरुले सुरुमै नेपाल सरकारबाट मान्यताप्राप्त, विश्वासिलो शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा गएर परामर्श लिने, परामर्शदाताले दिएको सल्लाह सुझावलाई समेत स्वयंले भेरिफाई गर्नुपर्छ । अनिमात्रै आफ्नो योग्यता, क्षमता अनुसारका कलेज छनौट गर्न सकिन्छ । ‘हावा जता हल्लिन्छ, पात त्यतै हल्लिए’ जस्तो भनेको, सुनेको वा लहलहैमा कलेज छनौट गर्ने गल्ती कदापी गर्नुहुन्न । कलेज छनौटमा ध्यान नदिए पछि धेरै झमेला आइ पर्छ ।

तयारी कसरी गर्ने ?

विदेश जानु भनेको अर्काको देशमा अरुको नियम कानुन र परिधिमा रहेर अध्ययनसँगै आफ्नो करियर बनाउने कुरा हो । यसमा विद्यार्थी, अभिभावक, परामर्शदाता कुनै एकको गल्तीले एउटा होनहार दक्ष जनशक्तिको भविष्य धरापमा पर्न जान्छ । विगत १५ वर्षदेखि अब्रोड स्टडीको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल सरकारबाट मान्यताप्राप्त संस्था क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीमा म आबद्ध छु । यस अनुभवको आधारमा अभिभावक, विद्यार्थीहरुलाई निम्न पक्षमा ध्यान दिन अनुरोध गर्दछु ।

अभिभावकले ध्यान दिने कुरा

–आफ्ना सन्तान किन, केका लागि विदेश जान खोज्दैछन् ?

–छोराछोरीको शैक्षिक अवस्था, बानी व्यवहार कस्तो छ ? उ विदेशको विश्वविद्यालय, कलेज र त्यहाँको रहनसहनमा बस्न सक्छ कि सक्दैन ?

–आफ्ना सन्तानको शैक्षिक योग्यता विदेशमा पढ्न योग्य छ कि छैन ?

–छोराछोरीले रोजेको देश, विश्वविद्यालय कलेजको इतिहास, शैक्षिक अवस्था, वातावरण, भाषा के कस्तो छ ?

–विश्वविद्यालय, कलेजले तोकेको शुल्क तिर्ने क्षमता आफूसँग छ कि छैन ?

विद्यार्थीले ध्यान दिनुपर्ने कुरा

– आफ्नो शैक्षिक तथा भाषा कक्षाहरु आइएलटिएस, टोफलको अंक कति छ ?

– आफू जान चाहेको देश र कलेजको शैक्षिक अवस्था, कानुनी प्रावधान के कस्तो छ ?

– आफ्ना अभिभावकसँग कलेजले तोकेको शैक्षिक तथा होस्टल शुल्क तिर्ने क्षमता छ कि छैन ?

– हातमा सामान्य कुनै सीप छ कि छैन ?

– छनौट गरेको कलेजमा विदेशी विद्यार्थी कत्तिको छन् ?

– पढाईसँगै उक्त देशले विदेशी विद्यार्थीलाई काम गर्न दिने समय, कामका अवसर के कस्तो छ ?

– भिसा प्रक्रिया, लागत, डकुमेन्टेसन कस्तो छ ?

– कुन विषय अध्ययन गर्दा आफ्नो भविष्य सुनिश्चित हुन्छ ?

शैक्षिक परामर्शदाताको छनौट

शैक्षिक परामर्शदाताको छनौट गर्दा कन्सल्टेन्सी नेपाल सरकारबाट अनुमति लिएको हो कि हैन हेर्नुपर्छ । त्यस्तै परामर्शदाता तालिमप्राप्त, विदेशी कलेजको आधिकारिक एजेण्ट हो कि हैन ? परामर्शदाताले दिएको राय सल्लाह आफ्नो लागि कत्तिको उपयुक्त छ ? भोलि विदेशमा पुगेपछि कुनै समस्या आइपर्दा कन्सल्टेन्सीले सहयोग गर्न सक्छ कि सक्दैन ? यी पक्षमा ध्यान दिनुपर्छ ।

अन्त्यमा, विदेश जानु भनेको हतार र लहलहैमा गर्ने निर्णय हैन । साथै, आफन्त, दाजुभाई, छरछिमेकका छोराछोरी विदेशमा छन् भन्दै उनीहरुले सामाजिक सञ्जालमा समुन्द्र अगाडि खिचेका रंगीन तस्विरहरु हेरेर पनि जाने हैन । पढ्न होस कि काम गर्न, कुनै पनि युवा विदेश जान्छ भने उसले आफ्नो भविष्यसँगै आमाबुबा, दाजुभाई दिदीबहिनीको समेत सपना बोकेर गएको हुन्छ ।

बिरानो देशमा आफन्तसँगको वियोगको पीडा खपेर समयको पलपल हिसाब गर्दै संघर्ष गर्नु आफैंमा ठूलो च्यालेञ्ज हो । भोलिको सुखद् भविष्य निर्धारण गर्ने गोरोटेमा आएको यो च्यालेञ्ज फेस गर्न नेपालमै रहँदा सावधानी अपनाऊँ । विदेश देखासिखी र लहलहैमा हैन, उद्देश्य र लक्ष्य निर्धारण गरेर जाऊँ ।

लेखक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिशिर सिंखडा
शिशिर सिंखडा
लेखकबाट थप