बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

मोरङमा एमाले घोषणापत्रसहित प्रचारमा, के गर्दैछ गठबन्धन ?

बिहीबार, १५ वैशाख २०७९, १२ : ०९
बिहीबार, १५ वैशाख २०७९

सत्ता गठबन्धनमा अलमल र विवादका कारण मोरङमा चुनाव प्रचारप्रसार सुस्त बनेको छ । यस्तै स्थानीय स्तरमा गठबन्धनले घोषणापत्र समेत निर्माण गर्न सकेका छैन । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको नेपाली काँग्रेसले अझै घोषणापत्र सार्वजनिक गर्न सकेको छैन । गठबन्धन दलकै अन्य घटक जनता समाजवादी पार्टी, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले घोषणा पत्रलाई अन्तिम रुप दिन सकेका छैनन् । 

एमालेले भने आफ्ना प्राथमिकतासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेर प्रचारप्रसारलाई तिव्रता दिन थालिसकेको छ  । पार्टी सिस्टममा पार्टीले जारी गर्ने घोषणा पत्रकै आधारमा भोट माग्ने र सोही आधारमा मतदाताले आफ्ना उम्मेदवार छान्ने गर्दछन् । तर, निर्वाचनमा विपक्षी पार्टी एमाले आफ्नो घोषणापत्रसहित चुनावमा होमिसक्दा सत्ता गठबन्धन दलहरु भने अझै गठबन्धनकै चक्करमा रुमल्लिरहेका हुन् । 

केन्द्रीय समितिको तर्फबाट नेपाली काँग्रेस, एमालेलगायतले घोषणापत्र जारी गरेका छन् । माओवादी केन्द्रले अहिलेसम्म घोषणापत्र सार्वजनिक गरेको छैन । तर, स्थानीय स्तरमा समेट्नुपर्ने विषयसहितको जानकारीपत्र आन्तरिक पार्टी संगठनमा माओवादीले पठाएको छ । सोही आधारमा घोषणापत्र तयारी हुने सो पार्टीको भनाइ छ । स्थानीय निर्वाचनमा सोही ठाउँ अनुसारको घोषणापत्र जारी गर्नुपर्ने दलहरूको बाध्यता छ ।
‘हामी सबै गठबन्धनको चक्करमा लाग्यौं, घोषणापत्र बनाउनै भ्याइएन, अहिले धमाधम बन्दैछन्,’ माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले बताए, ‘अन्तिमसम्म गठबन्धन भन्ने कुरामै हामी पनि अल्झियौं ।’

नेपाली काँग्रेसले पनि आफ्नो घोषणा पत्र बनाउन सकेको छैन । ‘हामी पनि अहिले उम्मेद्वार व्यवस्थापनदेखि अन्य कुरामा लाग्यौं, केन्द्रबाट घोषणा पत्र आउँदैछ,’ काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले भने, ‘केन्द्रको घोषणापत्रलाई थप समायोजन गरेर स्थानीयस्तरका घोषणापत्र बनाउँछौं ।’
नेकपा (एकीकृत समाजवादी) विराटनगरका अध्यक्ष पारुल क्षेत्रीले पनि केन्द्रले घोषणापत्र निर्माण गरिसकेको भएपनि स्थानीय स्तरका घोषणापत्र निर्माणमा आफूहरु जुटेको बताए । ‘हामीले घोषणापत्र बनाउने टिम निर्माण गरेर, बनाउन दिएका छौं,’ क्षेत्रीले भने, ‘गठबन्धन हुँदा संयुक्त घोषणापत्र बनाउने कि एक्लाएक्लै बनाउने भन्ने विषयमा अन्यौल भयो, अब क्लियर हुँदै आएको छ, हामी भोलिसम्ममा सक्छौं ।’
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तेजलाल कर्णले पनि आफ्नो पार्टीका नेताहरु स्थानीय स्तरमा घोषणापत्र निर्माणमा जुटेको बताए । गठबन्धन हुने नहुने टुंगो नहुँदा केही ढिलाइ भएको भन्दै उनले १÷२ दिनमा टुंगो लगाउने दाबी गरे । 
‘हाम्रो पार्टीले केन्द्रले जारी गरेको घोषणापत्रको आधारमा स्थानीयस्तरका घोषणापत्र निर्माण गर्ने तयारी गरिरहेका छौं,’ उनले भने । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले भने आफूहरु सबै पालिकाको प्रतिबद्धतापत्र निर्माण गरेर बाँड्न थालेको बताए । ‘हामीले सबै पालिकाको प्रतिबद्धतापत्र प्रेसबाट छपाई गरेर वितरण सुरु गरेका छौं,’ पोखरेलले भने, ‘केन्द्रले जारी गरेको घोषणापत्रकै आधारमा तल्लो तहमा प्रतिबद्धतापत्र निर्माण गरेका छौं ।’

घोषणापत्र मात्रै होइन चुनाव चिन्ह अंकित झण्डा तथा पर्चाहरु निर्माणमा पनि गठबन्धन दल पछि परेको छ । उम्मेदवार को हो र कसको फोटोसहित प्रचार गर्ने भन्ने विषयमा अन्योल गठबन्धनमा छ । 

‘अब निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न दिएपछि मात्रै हाम्रो प्रचार सुरु हुन्छ,’ माओवादी केन्द्र प्रदेश १ का सदस्य अम्बिका अर्यालले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप