आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कैलाली : टिकट नपाएपछि आक्रोशित

बिहीबार, १५ वैशाख २०७९, १० : ३६
बिहीबार, १५ वैशाख २०७९

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की निर्वाचित दलित महिला सदस्य हुन् राधा विक । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी नेपाली काँग्रेसबाट वडा अध्यक्षकी दाबेदार थिइन् । सोही अनुसार उनले आफ्नो तयारी गरेकी थिइन् ।

सोमबार दिउँसो मनोनयन दर्ता गराउनका लागि घरबाट निस्किँदै गर्दा उनले आफ्नो ठाउँमा अर्कैलाई उम्मेदवार बनाएको थाहा पाइन् । यद्यपि आफूलाई पार्टीले वडाध्यक्षको उम्मेदवार नबनाएकोमा गुनासो नभएको उनले बताइन् ।राधाले भनिन्, ‘उपमहानगरपालिकामा १९ वटा वडा छन्, तर पार्टीले एउटा पनि वडामा महिलालाई वडाध्यक्षका रुपमा पत्याएन । सायद अझ पनि हाम्रो पार्टीमा पुरुषवादी सोच नै हावी रहेछ ।’

आफूले पाँच वर्षसम्म वडामा दलित महिला सदस्यका रुपमा काम गर्दा धेरै अनुभव समेटेको बताइन् । उनले भनिन्, ‘राम्रोसँग वडालाई नेतृत्व गर्न सक्छु भन्ने विश्वास छ मलाई तर हामीजस्ता महिलाको क्षमता र योग्यतालाई अझै पनि पार्टीले विश्वास गर्न सकेको पाइनँ ।’

वडा नम्बर ३ मा काँग्रेसका वडा सचिव दानबहादुर बिष्टले स्वतन्त्र उम्मेदवारका रुपमा अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । पार्टीले एकलौटी ढङ्गले टिकट वितरण गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । ‘पार्टीले वडामा कुनै सरसल्लाह नगरी एकलौटी ढङ्गले उम्मेदवार बनायो,’ उनले भने, ‘जनताले नरुचाएको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएकाले मैले उम्मेदवारी दिएको हुँ ।’

धनगढीको वडा नम्बर ५, ७ सहित अन्य केही वडामा काँग्रेसको केन्द्रबाटै उम्मेदवार तोकिएको भन्दै कार्यकर्ताहरू रुष्ट भएका छन् । वडामा मात्र नभई केही स्थानीय तहको प्रमुख, अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्षमा दुई जनालाई टिकट दिएकोसमेत पाइएको छ ।

काँग्रेसबाट कैलालीको घोडाघोडी नगरपालिकाको उपप्रमुखमा रिता चौधरी र गुलियादेवी चौधरीलाई उम्मेदवार बनाइएकोमा बुधबार गठबन्धनले उपप्रमुखमा गुलिया देवीलाई आधिकारिकता प्रदान गरेको छ ।

उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी रिता भन्छिन्, ‘स्थानीय  निर्वाचनमा विधि र विधान अनुसार क्षेत्रीय समितिका सभापतिलाई पालिका प्रमुख तथा उपप्रमुखमा उम्मेदवारीको टिकट दिने अधिकार रहेकोमा क्षेत्र नम्बर ३ अन्तर्गतका पालिकाको टिकट जिल्ला उपसभापति भीमबहादुर वडुवालको जिम्मा लगाइयो ।’ उपसभापति बडुवालले खाली टिकटमा आफूलाई मन परेको व्यक्तिको नाम राखेर टिकट दिने काम भएको उनको आरोप छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न पालिकामा तीन दलीय सत्ता गठबन्धनको सहमति विपरीत दिइएका उम्मेदवारी फिर्ता लिन ती दलले आग्रह गरेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ बहादुर सोडारीले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आधिकारिक बाहेकका दर्ता गरिएका उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप