शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एलिना काबायभाको नाम पुटिनसँग कसरी जोडियो ?

बिहीबार, १५ वैशाख २०७९, ०६ : ५७
बिहीबार, १५ वैशाख २०७९

युक्रेन र रुस युद्धका बीच समय समयमा पुटिनकी प्रेमिका भनेर चर्चामा आउने एलिना कबायाभा पुन चर्चामा आएकी छन् । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीसहित उनका नजिकका व्यक्तिलाई प्रतिबन्ध लगाउँदा एलिनालाई भने प्रतिबन्ध लगाएन । अमेरिकाबाट प्रकाशित हुने वाल स्ट्रिट जर्नल पत्रिकाले भने अमेरिकाले पुटिनकी ‘प्रेमिका’ भनेर चर्चामा रहने पूर्व ओलम्पिक जिमनास्टिक खेलाडी एलिना काबाएभालाई प्रतिबन्ध लगाउने तयारी गरेको थियो, तर अन्तिम समयमा मात्रै सो कदमबाट पछि हटेको लेखेको छ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले भने यसलाई खण्डन गरेकी छन्। सोमबार एक दैनिक प्रेस ब्रिफिङमा अमेरिकाले जानाजान रुसी राष्ट्रपति पुटिनकी प्रेमिका भनिएकी एलिनामाथि प्रतिबन्ध नलगाएको भन्ने दाबी खण्डन गरेकी हुन्। 

को हुन् अलिना कबायभा ?

एलिना सन् १९८३ मे १२ मा तत्कालीन सोभियत संघको एक सदस्य उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राजधानी तासकन्तमा जन्मिएकी थिइन्। ३८ वर्षिया एलिनाका पिता तातार मुस्लिम हुन् भने आमा रुसी हुन्। उनी आफ्नो समयकी रुसकी मात्र होइन विश्वकै सफल जिम्न्यास्ट हुन्। 

केहीले काबायभा रिथेमिक जिम्न्यास्टिक खेलकुदको इतिहासकै सबैभन्दा सफल खेलाडी मान्छन् । उनले आफ्नो खेल करियरमा रिथेमिक जिम्न्याष्ट विधामा २ ओलम्पिक मेडल, १४ विश्व च्याम्पियिनसिप उपाधि, २१ युरोपियन च्याम्पियनसिप मेडल जित्न सफल भइन्।

१३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय जिम्न्याष्टमा डेब्यु गरेकी एलिनाले सन् १९९८ मा पहिलो विश्व उपाधि हात पारेकी थिइन्। त्यसपछि उनले सन् २००१ र २००२ मा युरोपियन च्याम्पियनसिपमा धेरै पदक जितिन् । उनको जितको शृङ्खला सन् २००३ मा पनि रोकिएन। उनले २००४ एथेन्स ओलम्पिकमा स्वर्ण पदक जितेर ओलम्पिकमा खाता खोलिन्। 

उनको सफलताकै कारण रुसमा उनको नाममा ‘एलिना फेस्टिभल’ आयोजना गरिन्छ। गत शनिबार आयोजित सो फेस्टिबलमा उनी धेरै पछि सार्वजनिक रूपमा देखा परेकी थिइन्। फेस्टिबलमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले युक्रेनमाथिको आक्रमणलाई समर्थन जनाइन्। 

आफ्नो नामको फेस्टिबलमा देखिनुअघि उनी स्विजरल्याण्ड वा साइबेरियाको बंकरमा लुक्न गएको हल्ला चलेको थियो । 

पुटिनसँग नाम कसरी जोडियो ? 

सन् २००५ पछि उनी पुटिनको पार्टीमार्फत राजनीतिमा प्रवेश गरिन् । उनी पुटिनको पार्टी युनाइटेड रसिया पार्टीबाट रुसी संसद्को तल्लो सदन डुमामा पनि निर्वाचित भइसकेकी छन् । सन् २०१४ मा, उनी सोची ओलम्पिकमा टर्च बोक्ने सदस्यमध्येमा एक थिइन्, जुन प्रतियोगितालाई पुटिनले प्रतिष्ठाको विषय बनाएका थिए। 

पुटिन र एलिनाको घनिष्ठता उनको खेल जीवनमै सुरु भएको विश्वास गरिन्छ। सोही समय विकसित घनिष्टताका कारण पुटिनले उनलाई राजनीतिमा आउन प्रेरित गरेको मिडियाले दाबी गर्छन् । पछि दुई जना धेरै सभा समारोहमा सँगै देखिन थालेपछि रुसी मिडियाले नै दुईबीच सम्बन्ध हुनसक्ने आशंका गर्न थाले । 

पुटिनले उनलाई महत्त्वपूर्ण पद दिनुले पनि यो आशङ्कालाई बढावा दियो। जस्तो खेल क्षेत्रकी एलिनालाई सन् २००८ मा क्रेमलिन समर्थित मिडिया समूह ‘द नेशनल मिडिया ग्रुप’को प्रमुख पद दिइयो। (पश्चिमी प्रतिबन्धलाई मध्यनजर गर्दै यही महिनाको सुरुमा ग्रुपको वेबसाइटबाट उनको हटाइएको रुसबाट प्रकाशित हुने अंग्रेजी न्युज पोर्टल मस्को टाइम्सले लेखेको छ।)

सन् २००८ मा रुसी पत्रिका मस्कोभ्स्की कोरोस्पोण्डेन्टले कोबाएभाको पुटिनसँग सम्बन्ध रहेको समाचार लेख्यो। सो समाचारलाई खण्डन मात्रै गरिएन, केही समयपछि पत्रिका नै बन्द भयो। त्यसपछि पनि उनीहरुबीचको सम्बन्धको हल्ला रोकिएन । रुसी मिडियाले दुई जनाबीचको सम्बन्धबाट धेरै बच्चा जन्मिएको अनुमान गर्न थाले । तथापि सन् २०१३ जुलाईमा काबाएभा आफैले आफ्नो एउटा पनि बच्चा नभएको स्पष्टिकरण दिनुपर्‍यो।

सन् २०१५ मा एलिनाले स्वीट्जरल्याण्डको टिचिनोस्थित एक भिआईपी अस्पतालमा बच्चा जन्माएको दाबी पुन सतहमा आयो । यसपटक जोडीको सम्बन्धबारेमा रुसी मिडिया मात्र होइन, पश्चिमी मिडिया खुले । अमेरिकी अधिकारी र युरोपेली सुरक्षा अधिकारीका अनुसार काबाएभाले सन् २०१५ देखि लुगानो र कोलोग्नी सहरमा लामो समय बिताएको पुष्टि गरेका छन्।

सन् २०१९ मा काबाएभाले पुनः मस्कोको कुलाकोभ म्याटरनिटी क्लिनिकमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएको समाचार बाहिरियो। यी दुई समाचारको खण्डन हालसम्म बाहिरिएको छैन। 

पुटिनको परिवार र वैवाहिक अवस्था

पुटिनले भने एलिनासँगको सम्बन्ध र एलिनाबाट जन्मिएका बालबच्चा उनबारे केही प्रतिक्रिया जनाएका छैनन्। रुसी राष्ट्रपति कार्यालयले प्रदान गरेको औपचारिक तथ्याङ्क अनुसार पुटिन सम्बन्धविच्छेद पछि एकल जीवन बिताइरहेका छन्। 

सन् १९८३ मा उनको ल्युड्मीला श्क्रेबनेभासँग विवाह भएको थियो। दुई जोडीबाट ३६ र ३५ वर्षका दुई छोरी छन्। सन् २००८ देखि नै दुई जोडीको सम्बन्ध विच्छेदका समाचार आउन थालेका थिए। तथापि दुई जनाले खबरको खण्डन गरिरहे। तर सन् २०१४ अप्रिल १ मा रुसी राष्ट्रपति कार्यालयले पुटिन र उनकी श्रीमतीको अघिल्लो वर्ष २०१३ जुन ६ मा सम्बन्ध विच्छेद भएको जानकारी बाहिर ल्यायो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप