स्थानीय चुनावमा काँग्रेसको झण्डा महँगो, धेरै बनाउने एमाले
यतिबेला आर्ट तथा फ्लेक्स व्यवसायीलाई भ्याइ नभ्याई छ । अहिले स्थानीय चुनावी प्रचारका लागि टोपी, टिसर्ट, झण्डा लगायत सामग्री उत्पादन गर्न उनीहरू दिनरात नभनी उत्पादनमा व्यस्त छन् । कतिपय व्यवसायीले त एक, डेढ महिनाका लागि भन्दै कर्मचारी समेत थपेका छन् ।
१८ वर्षदेखि बागबजारमा ‘कामना आर्ट’ सञ्चालन गर्दै आएका नरेश चौधरीले निर्वाचन सामग्रीले व्यस्तता बढेको बताउँछन् । ‘५ वर्षमा यस्तो मौका एक चोटि आउँछ, मौकामा चौका हान्नु पर्यो नि,’ चौधरीले भने, ‘करिब एक महिना यता अन्य सबै काम छोडेर प्रचार सामग्री उत्पादनमा लागेको छु ।’ अन्य काम पछि गर्न सकिने तर यो काम अहिले नै गर्नुपर्ने भएकोले यसैमा होमिएको चौधरीको भनाई छ ।
नरेशको जस्तै धारणा बागबजारकै ‘स्क्रिन टिच’ आर्टका रामशरण कार्कीको पनि छ । उनी पनि विगत दुई सातादेखि प्रचार सामग्रीको काममा व्यस्त छन् । ‘निर्वाचन प्रचार सामग्री अन्य समय आउँदैन, अहिले मात्र आउने हो,’ कार्कीले थपे ‘त्यसैले आएको काम प्राथमिकताका साथ गरिरहेको छु ।’ उनले प्रचार सामग्री र अन्य नियमित काम दुवै गरिरहेको सुनाए ।
काम बढ्यो तर व्यवसायी निराश
निर्वाचनको प्रचार सामग्रीको कामले आर्ट व्यवसायीको व्यस्तता त बढेको छ । त्यो अनुसारको आम्दानीमा पनि वृद्धि हुनु स्वाभाविकै हो । विभिन्न राजनीतिक दलका नेतादेखि कार्यकर्ताको ओहोरदोहोरको घुइँचोले टाढाबाट हेर्दा त मेला नै लागेजस्तै देखिन्छ । तर व्यवसायी भने खुसी छैनन् । काम बढे पनि काम अनुसारको आम्दानी नभएको उनीहरू गुनासो पोख्छन् । यस्तै गुनासो बागबजारको ओम साई आर्टका बिक्की खड्गीको पनि रहेको छ ।
बिक्कीको बुबाले धेरै पहिलेदेखि नै गर्दै आएको यो काम उनी र उनको श्रीमतीले विगत १० वर्षदेखि सम्हाल्दै आएका छन् । पहिले भन्दा झन् धेरै सेवा आर्टबाट उनीहरूले दिँदै आएका छन् । चुनावको प्रचार सामग्रीले व्यस्तता बढाएको तर व्यस्तता अनुसारको आम्दानी दिन नसकेको बिक्की बताउँछन् । ‘कपडा, रंगको भाउ बढेको छ । तर झण्डाको भाउ बढाउन मिल्दैन । पैसा बढाए ग्राहक अन्तै जान्छन् ।’ उनले प्रतिस्पर्धाका कारण थोरै मार्जिनमा काम गर्नुपर्ने बाध्यता सुनाए ।
खड्गीको बिचारसँग रामशरण कार्की पनि सहमत छन् । उनले ५ वर्ष अगाडिको तुलनामा अहिले प्रचार सामग्रीबाट आर्टलाई हुने लाभ घटेको बताउँछन् । ‘५ वर्ष अगाडिको तुलनामा अहिले कपडा, रङ र ज्याला बढेको छ’ कार्कीले भने, ‘मानिसहरू भने पहिलेकै मूल्यमा सामान खोज्छन् । कतिपयले त अझ घटाउँछन् । मामा नहुनु भन्दा, कानो मामा बेस भनेझैँ थोरै नाफामा पनि काम गरिरहेका छौँ ।’ प्रतिस्पर्धाले पनि थोरै फाइदामा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
माग घट्यो
प्रचार सामग्री टोपी, टिसर्ट, झण्डालगायतले आर्टको दैनिक काममा व्यस्तता बढाए पनि विगतको चुनावको भन्दा यो पटक यस्ता सामग्रीको माग भने घटेका छन् । त्यसो हुनुमा निर्वाचन आचारसंहिता र अहिलेको आर्थिक परिस्थिति भएको व्यवसायी बताउँछन् । निर्वाचनमा भएको गठबन्धनले समेत प्रचार सामग्रीमा कमी आएको उनीहरुको भनाई छ ।
अघिल्लो चुनावको तुलनामा अहिले ५० प्रतिशत मात्र प्रचार सामग्री निर्माण भएको बागबजारका ओम साई आर्टका बिक्की खड्गी बताउँछन् । ‘अघिल्लो निर्वाचनमा मैले १०/१२ लाखको प्रचार सामग्रीको कारोबार गरेको थिएँ’ खड्गीले भने, ‘अहिले भइरहेको कारोबारको गति हेर्न हो भने यो पटक ४/५ लाख भन्दा बढी हुने देख्दिन ।’
कामना आर्टका नरेश चौधरीलाई पनि अघिल्लो चुनाव भन्दा ५० प्रतिशत मात्र प्रचार सामग्रीको काम आएको छ । ‘२०७४ सालको चुनाव २० वर्षपछि भएर हो कि के हो काम धेरै आएको थियो,’ चौधरीले भने, ‘विगतको तुलनामा ५० प्रतिशत मात्र काम आएको छ ।’
‘पहिले धेरैले ५/६ हजार पिस अर्डर गर्थे,’ चौधरीले थपे, ‘अहिले सुरुमै ५/६ हजारको मात्र कुरा गर्छन् । तर लाने ५/६ सय नै हो ।’ अघिल्लो चुनावमा एक करोड बढी कारोबार गरेका चौधरीले यो पटक करिब ४० लाख जतिको हुने अनुमान गरेका छन् । त्यसमा आफ्नो नाफा २५/३० प्रतिशत हुने उनको भनाई छ ।
काँग्रेसको झण्डा महँगो, धेरै बनाउने एमाले
अहिले निर्वाचन प्रचारका लागि पार्टीहरूले धेरै झण्डा बनाउने गरेका छन् । निर्वाचन आचारसंहिताले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, टोपी, टिसर्ट लगायत प्रयोग गर्न नपाउने भनेको छ, झण्डाको विषयमा भने केही भनेको छैन । त्यसैले सबै पार्टीहरूले झण्डा धेरै अर्डर गरेको व्यवसायी बताउँछन् ।
‘झण्डा प्रायः सबै पार्टीले बनाउने गरेका छन्,’ कामना आर्टका चौधरीले भने, ‘सबैभन्दा धेरै एमालेको अर्डर आउँछ ।’ एमालेको झण्डा धेरै बनेपनि काँग्रेसको झण्डा महँगो पर्ने गरेको छ । ‘काँग्रेसको चारतारे झण्डामा सिलाई धेरै र दुःख बढी छ । त्यसैले मूल्य बढी पर्छ ।’ उनी भन्छन् ।
काँग्रेसपछि महँगोमा राप्रपाको झण्डा रहेको स्क्रिन टच आर्टका रामशरण कार्की बताउँछन् । ‘काँग्रेस र राप्रपाको झण्डामा सिलाई बढी लाग्ने भएकोले महँगो भएको हो’ कार्कीले थपे, ‘अन्य पार्टीका झण्डाको सिलाई प्रायः उस्तै छन् ।’
आर्टले पार्टीका झण्डा सस्तोमा १०/१२ रुपैयादेखि ५ सय सम्मको बनाउने गरेका छन् । झण्डाको मूल्य त्यसको साइज र आकारले निर्धारण गर्ने कार्कीले सुनाए । उनका अनुसार सामन्यतया १८ देखि ६० रुपैयासम्मका झण्डा बढी विक्री हुन्छ । झण्डामा अधिकांश व्यवसायीले प्रयोग गर्ने कपडा भनेको टोप्याटो हो ।
स्टिकर, पोष्टर, पम्प्लेट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट ठ्याप्पै जस्तो भएपनि टोपी वा क्याप र टिसर्ट भने केही बनिरहेको ओम साई आर्टका बिक्की खड्गी बताउँछन् । ‘पहिले जस्तो सबैले अडर गर्दैनन् । केहीले टिसर्ट र टोपी पनि अडर गर्दछन्,’ खड्गीले थपे ।
कामना आर्टका नरेश चौधरीका अनुसार भने स्टिकर, क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क, लकेट ठ्याप्पै जस्तो भएको छ । ‘एक सयमा एक दुईले मात्र टिसर्ट र क्याप अडर गर्छन्, त्यो पनि थोरै,’ चौधरीले भने, ‘त्यसलाई के बनाउँछन् भन्नु ।’ जति अर्डर आएपनि आफूले बनाउने गरेको उनले सुनाए । ‘आचारसंहिता लगाउनेलाई होला, हामी त व्यवसायी हौं, अडर आएको बनाउँछौं ।’ टोपी, क्याप ६० देखि ३ सय रुपैयाँसम्म, टिसर्टको भने १५० देखि ५ सय रुपैयाँ सम्मको रहेको चौधरीले जनाए ।
नगदै कारोबार
निर्वाचनका समय बनाइने प्रचार सामग्रीले आर्ट व्यवसायीलाई राम्रो आम्दानी त दिन्छ तर कतिपयलाई डुबाउने समेत गरेको छ । प्रचार सामग्री अर्डर गरेर लिन नआउने र सामान उधारोमा लाने अनि पैसा नदिने खतरा पनि उत्तिकै छ । कैयौ व्यवसायीले अघिल्लो निर्वाचनमा बनाएको प्रचार सामग्रीको समेत अहिलेसम्म रकम पाएका छैनन् । तर यो पटक भने उधारो भन्दा पनि क्यासमा कारोबार बढी भएको आर्ट व्यवसायी बताउँछन् ।
‘यो वर्ष अर्डरमा कमी आएको छ । तर उधारो गएको छैन,’ नरेश चौधरीले भने, ‘पहिले धेरैले झुक्याएकाले नगद हात नपरी सामान दिँदैनौ ।’ आफूले पहिले नै केही एडभान्स लिने भएकाले पनि लगानी नडुबेको बताउँदै उनी भन्छन्, ‘काम थोरै छ, त्यो पनि डुब्यो भने के खानु ।
चौधरीको जस्तै धारणा स्क्रिन आर्टका रामशरण कार्की र ओम साई आर्टका बिक्की खड्गीको पनि छ । पहिले आफूहरूलाई धेरैले डुबाएकोले अहिले नगदमा कारोबार गर्ने गरेको उनीहरू बताउँछन् । खड्गीले भने, ‘पहिले नगद, त्यसपछि सामान ।’ कार्कीले पनि अर्डरको समय एडभान्स लिने र पैसा लिएर मात्र सामान दिने भएकोले डुब्ने चान्स यो पटक नभएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन